काठमाडौँ, एरोन फिन्च र स्टिभ स्मिथको शतकसँगै अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतमाथि ६६ रनको पराकिलो जित हात पारेको छ । अष्ट्रेलियाले दिएको ३७५ रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो ।
मयांक अग्रवाल र शिखर धवनले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । तर अग्रगाल व्यक्तिगत २२ रनमा आउट भएपछि भारतले लगातार विकेट गुमायो । १०१ रन बनाउँदा भारतको महत्वपूर्ण चार विकेट गइसकेको थियो ।
क्रिजमा टिकिरहेका धवनले पाँचौं विकेटका लागि हार्दिक पाण्डेयसँग १२८ रनको साझेदारी गरे । पाँचौँ विकेटका रुपमा धवन व्यक्तिगत ७४ रनमा आउट भए ।पाण्डेयले ९० रन बनाए ।
भारतलाई सस्तैमा समेट्ने क्रममा एडम जाम्पाले ४ तथा जोस हृयाजलउडले ३ विकेट लिए । यसअघि सिड्नीमा टस जितेर व्याटिङ थालेको अष्ट्रेलियाको सुरुवात राम्रो रहृयो । फिन्चले डेभिड वार्नरसँग मिलेर पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरे ।
वार्नर व्यक्तिगत ६९ रनमा आउट भए । त्यसपछि आएका स्मिथले फिन्चसँत महत्वपूर्ण साझेदारी गरे । दुवैले शतक पूरा गरे । फिन्च ११४ रनमा आउट भए भने स्मिथले १०५ रन बनाए । म्याक्स वेलले ४५ रन जोडे । भारतमा मोहम्मद शामीले ३ विकेट लिए ।