भरतपुर, जलविरे झरना चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल्लो समय गाउँपालिकाको चिनारीसमेत बन्दै गइरहेको छ ।
झरना गाउँपालिकाका लागि आम्दानीको स्रोतसमेत बनेको छ । झरना देखाएर गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु २८ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । यहाँ प्रवेश गर्ने पर्यटकबाट रु ५० शुल्क लिने गरिएको छ । स्थानीय र विद्यार्थीलाई रु २० लिने गरेको गाउँपालिकाले जनाएको छ ।
यहाँ झरनासँगै अन्य पर्यटकीय गतिविधि पनि हुने गरेका छन् । क्यानोनिङ (छाँगावरोहण) र क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र बाहिरी देशका समेत पर्यटक यहाँ आउने गरेका छन् । विदेशीका लागि क्यानोनिङ प्रतिव्यक्ति रु पाँच सय, वनभोजको रु एक हजारदेखि तीन हजारसम्म र फिल्म सुटिङको रु तीन हजारदेखि पाँच हजारसम्म लिने गरिएको छ ।
जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले प्राकृतिक सुन्दरता र चिसो एवं शान्त वातावरणका कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताए । उनले दैनिक एक सयदेखि डेढ सयसम्म पर्यटक यहाँ घुम्न आउने गरेको जानकारी दिए । “नयाँ वर्षका दिन पन्ध्र सय जना आएको तथ्याङ्क छ”, उनले भने, “जाडोको समयमा पनि विभिन्न जिल्लाबाट भ्रमण टोली आउने गरेका छन् ।” उनले यस वर्ष झन् धेरै पर्यटक जलविरे झरनामा घुम्न आउने अनुमान गरिएको बताए । विकास समितिले झरना र यहाँ भइरहेका विकास निर्माणको रेखदेख, पर्यटकका समस्या समाधान र गुनासो सुन्ने काम गरिरहेको उनले बताए ।
पर्यटक यहाँ स्वतःस्फूर्तरूपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । जुनसुकै समयमा पुग्ने पर्यटक सो झरना हेरेपछि मन्त्रमुग्ध हुन्छन् । झरनामाथि रहेको गाउँ याकराङमा होमस्टे (घरबास)को समेत व्यवस्था रहेको समितिका अध्यक्ष गुरुङले बताए ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटर लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सालगायतका जिल्लाबाट पर्यटक आउँछन् ।

















