सुर्खेत,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार नागरिकको वास्तविक सेवक भएर लाग्नुपर्ने बताएका छन् । तीन तहका सरकारहरु एकअर्काका प्रतिस्पर्धी नभएर सिंगो राष्ट्र निर्माणका सहयात्रीहरू भएको जिकिर गरेका हुन् । सोमबार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले भने, ‘प्रदेश सरकारको समृद्धि अभियानमा केन्द्र सरकारले साथ र सहयोग गर्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । जनताको परिवर्तनका लागि सरकार गम्भीर रुपमा लाग्ने छ ।’
संघीय शासन प्रणालीको मूल मर्म नै लोकतान्त्रिक लाभको समानुपातिक, समावेशी र न्यायोचित वितरणलाई आम जनतासम्म बिस्तार गर्नु भएको प्रधानमन्त्री दाहालको भनाई थियो । ‘यसका लागि पनि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको सम्वन्ध आवश्यक रहन्छ। तीन तहका सरकारहरु एकअर्काका प्रतिस्पर्धी नभएर सिंगो राष्ट्र निर्माणका सहयात्रीहरू हुन्, जसले नागरिकको बृहत्तर हितका लागि एकआपसमा बाँधिएर परिपूरकको भूमिका पूरा गर्दछ, हाम्रो संविधानको मूलमर्म एवं व्यवस्था पनि यही नै हो,’ उनले भने
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘कर्णालीको गरिबी र भूगोलका बारेमा म जानकार छु । कर्णालीमा बसेर जनयुद्धको नेतृत्व गरेको याद ताजै छ। कर्णाली एउटा सभ्यता हो ।’
बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने उनले बताए । उनले कर्णाली करिडोर, कर्णाली राजमार्ग लगायतका ठुला सडक केन्द्र सरकार प्राथमिकतामा परेको समेत बताए । उनले भने, कर्णाली करिडोर, कर्णाली राजमार्ग लगायतका ठुला सडक केन्द्र सरकार प्राथमिकतामा परेका छन, चीन सरकारको भ्रमणका क्रममा थप प्राथमिक पाउने गरी म लाग्ने छु । मेरो प्राथमिकतामा कर्णाली र सुदुरपश्चिम प्रदेश छन्।’