काठमाडौं,नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघ १४ देखि १८ गतेसम्म गर्ने भएको छ । हाल काठमाडौंमा सञ्चालन भइरहेको पार्टीको छैटौं पूर्ण बैठकबाट एकीकृत समाजवादीले महाधिवेशनको मिति तोके पनि स्थान भने सचिवालय बैठकले तय गर्ने भएको छ ।
गठन भएको दुई वर्षपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । २००७ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीको वर्तमान रूप भएको जनाएको एकीकृत समाजवादीले एमालेसँग नवौँ महाविधेशनपछि २०७८ सालमा अलग भएको थियो । आगामी महाविधेशनलाई १० औं महाविधेशनका रूपमा अघि बढाउने निर्णय भएको एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरले बताए ।
केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी अध्यक्ष माधवकुमार नेपालको कार्यशैली र कार्यक्षमतामाथिको पनि प्रश्न उठाएका छन् । पार्टी गठनको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा आशाभन्दा निराशाले बढी स्थान पायो ।
मंगलबार बैठकको सुरुवातमै पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले राखेका धारणाले सिंगो बैठकलाई तीन दिनसम्म डो¥यायो । अब यो क्रम कम्तीमा केन्द्रीय कमिटी बैठकले तय गरेको आगामी १४ माघमा सुरु हुने पार्टीको महाधिवेशनसम्म पुग्ने निश्चित छ । किनभने, अधिकांश केन्द्रीय सदस्य मात्रै होइन, पार्टीका पदाधिकारीदेखि सम्मानित नेता खनालसम्म बैठकको निष्कर्षसँग सन्तुष्ट छैनन् ।
‘बैठक बस्यो, छलफल भयो । तर नयाँ केही पनि भएन, पहिलेजस्तै घिसिपिटी भएर सकियो’, नेता खनालको प्रतिक्रिया छ । खनाल यसले दिने परिणाम पनि भिन्न हुन्छ भन्नेमा आशावादी छैनन् । सुरुदेखि नै अध्यक्ष नेपाल र नेता खनालबीच पार्टी सञ्चालन र अन्य राजनीतिक दलसँग गठबन्धन निर्माणका विषयमा निरन्तर मतभिन्नता रहँदै आएको छ । यसको प्रभाव पार्टीका आन्तरिक जिम्मेवारीमा पनि देखिइरहेको छ ।
तर लामो समयदेखि देखिएको पार्टीभित्रका निराशालाई यो बैठकले पूर्ण रूपमा चिर्न नसके पनि महाधिवेशनसम्मका लागि अल्मल्याउने प्रयत्न भने अवश्य गरेको छ । बैठकमा नेतृत्वप्रति केही प्रश्न उठे पनि पार्टी निर्माणको लक्ष्यमा भने सबैको एकमत देखिएको र त्यो उत्साहलाई सम्बोधन गर्न सकिने पार्टी महासचिव घनश्याम भूसालले बताए ।
एको पार्टीले अहिलेसम्म पनि भर्न नसकेको उर्जा भूसाल एक्लैले भर्न सक्छन् वा पुरानै लयमा हिँड्छन् हेर्न बाँकी नै छ । केन्द्रीय कमिटी बैठकले माघमा तय भएको महाधिवेशनसम्मका लागि मेची महाकाली अभियानदेखि संगठन विस्तार गर्नेसम्मका निर्णय गरेको छ । यसले धेरै केन्द्रीय सदस्यलाई पार्टीभित्र बहसको वातावरण बनेको र सुस्ताएको बेला केही सक्रिय बनाउने प्रयत्न गरेको भन्ने महसुस पक्कै भएको छ । तर, आगामी दिनमा यो साच्चिकै अगाडि बढ्छ वा फेरि सुत्छ भन्न सकिन्न ।
प्रश्नको घेरामा अध्यक्ष नेपाल
बैठकमा केन्द्रीय सदस्य बाहेक पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीलाई बोल्ने समय छुट्याइएको थिएन । तर आफूमाथि केही प्रश्न उठेपछि पार्टी सचिव रामकुमारी झाँक्रीले समय मागेरै स्पष्टिकरण दिइन्, अध्यक्ष नेपालमाथि तमाम प्रश्न तेर्स्याइन् ।
‘कार्यकर्ताहरू गतिशील छन् र अझै तेज गतिमा हिँड्न चाहन्छन् । तर संस्थाका रूपमा पार्टीले त्यसलाई पकड्न सकेको छैन । सैद्धान्तिक, वैचारिक पाटोमा स्पष्ट नभएकै कारण यो संकट देखिएको छ’, उनले भनिन्, ‘राजनीतिक हिसाबले कहाँ उभिने भन्ने स्पष्ट छैन । नेता र कार्यकर्तालाई जिम्मेवारी दिइँदैन । नेतृत्वको दृष्टिकोण स्पष्ट छैन । यस्तै हो भने कमरेडहरू पार्टीको अस्तित्व रक्षामै चुनौती हुनसक्छ ।’ झाँक्रीले बैठकमा आफूले काम गर्न चाहेको, तर जिम्मेवारी नै नपाएको कुरा स्पष्टै राखिन् । ‘अहिले आएर यो वातावरण बनेको छ । अब जिम्मेवारी पाउने हो भने काम गर्न सकिन्छ’, उनले भनिन्, ‘मैले यो पार्टीमा काम नै गर्न पाइन । तिमीले किन काम गरिनौं भनेर पनि कसैले सोधेन । मैले जसरी सोच्छु त्यसरी पार्टी हिँड्दै हिँडेन ।’