विराटनगर, लाखौं रुपैयाँ लिएर निःसन्तान दम्पतीलाई नवजात शिशु बेच्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्वमेसु डा. तपेश्वरलाल कर्णविरुद्ध प्रहरीले संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । उनको अकुत सम्पत्तिको छानबिन गर्न पनि सम्बन्धित निकायलाई प्रहरीले पत्राचार गरेको छ ।
डा. कर्ण नेतृत्वको शिशु बेचबिखन गिरोहको वारिपारि (नेपाल–भारत) का केन्द्रीयस्तरको राजनीतिक हस्तीसम्म पहुँच भएको खुलेको प्रहरीले भनेको छ । उनीसहितका नेपाली चिकित्सकहरूले भारतका विभिन्न राज्यका नागरिकलाई समेत शिशु बेचेको जानकारी आएकाले अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत मद्दत लिने प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार डा. कर्णविरुद्ध तीन वटै शीर्षकमा मुद्दा चलाउने तयारी गरेको बताए । ‘डा. कर्ण अस्पताल भर्ना भएका कारण बयान पूरा हुन नपाएर थप अदालती प्रक्रिया रोकिएको छ,’ उनले भने, ‘पक्राउ परेका अन्य र साक्षीहरूको बयान लिइसकिएको छ ।’ उच्च रक्तचाप एवं मधुमेहका रोगी डा. कर्ण शनिबार पुनः कोशी अस्पताल भर्ना भएका छन् । उनलाई साँझबिहान इन्सुलिन सुई लगाउनुपर्ने भएपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
डा. कर्णले पछिल्लो पटक भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले ती शिशुको व्यवस्थापनका लागि अविवाहित बुबासँग पनि ३५ हजार रुपैयाँ लिएको खुलेको छ ।
डा. कर्णको अकुत सम्पत्ति छानबिनका लागि सम्बन्धित निकाय र बैंक स्टेटमेन्टका लागि राष्ट्र बैंकलाई प्रहरीले पत्रचार गरेको छ । चिकित्सक पेसामा संलग्न हुनुअघि सामान्य आर्थिक अवस्थाका डा. कर्णले अवैध गर्भपतन गराउने तथा शिशु बेचबिखनबाट अर्बौंको सम्पत्ति जोडेको सूचना पाएपछि उनको सम्पत्ति छानबिन प्रक्रिया थालिएको डीएसपी दाहालले बताए । झन्डै तीन दशकअघि विराटनगर आउँदा सामान्य अवस्थाका डा. कर्णको आर्थिक हैसियत अस्वाभाविक ढंगले बढेको देखिन्छ ।
सुरुमा हालको दिपेश मेडिकल क्लिनिक खरिद गरेको केही समयमै कर्णले विराटनगरका विभिन्न स्थानमा जमिन किन्ने र घर बनाउने अभियान थाले । उनले विराटनगर–७ कोशी अस्पताल अगाडि चारतले भवन बनाए । त्यही कोइराला निवासनजिकै अढाई कट्ठा जमिन किने । वीरेन्द्र सभागृह अगाडि घडेरी किनेर घर बनाए । विराटनगर–२ तीनपैनी चोकको सोमबारे हाटमा आफू बस्ने तीनतले आलीसान भवन बनाए ।
उनीनिकटका अनुसार विराटनगर बसपार्क छेउमा पनि डा. कर्णले १५ धुर घडेरी किने । त्यति मात्र होइन, मोरङ बुढीगंगा गाउँपालिकाको हात्तीमुढामा अढाई बिघा खेती किने । काठमाडौंको बूढानीलकण्ठमा आठ आनामा भव्य घर बनाए । भारत दिल्लीको गुडगाउँमा समेत घर खरिद गरेको पाइएपछि प्रहरीले सम्पत्ति छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ ।
२०५२ मा कोशी अस्पताल आएपछि झन्डै अढाई दशक स्त्री एवं प्रसूति रोग विभागमा काम गरेर सेवा निवृत्त भएका उनी २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म उक्त अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट थिए । डा. कर्ण पक्राउ गरेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विशेषज्ञ पनि संलग्न भएको प्रहरीले आशंका गरेको छ । एमबीबीएस एमडीजीपी गरेका डा. कर्णको निजी दिपेश मेडिकल क्लिनिकसहित उनले प्रसूति गराएका विराटनगरका आधा दर्जन निजी अस्पतालमा प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीका अनुसार डा. कर्ण संलग्न गिरोहले छिमेकी भारतका प्रभावशाली नेताहरूसम्म पहुँच बनाई विभिन्न राज्यमा समेत शिशु बेचबिखन गरेको जानकारी आएको छ । यो निकै गम्भीर प्रकृतिको अपराध भएको भन्दै प्रहरीले पक्राउ र शंकास्पदको वारिपारिकै केन्द्रीयस्तरका राजनीतिक हस्तीसम्म पुग्न सीआईबीले समेत सघाउने जनाएको छ ।अाजकाे कान्तिपुर दैनिकमा खवर छ ।