spot_img

चीनले भन्याे नेपाल उच्च प्राथमिकतामा

spot_img

काठमाडाैँ,चीनले नेपाललाई छिमेक सम्बन्धको उच्च प्राथमिकतामा राखेको बताउँदै राजनीतिक र सैन्य तहमा विगतमा भएका समझदारी कार्यान्वयन गर्ने वचनबद्धता जनाएको छ । आइतबार आएर फर्केका चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँगको शिष्टाचार वार्तामा आफ्ना राष्ट्रपति सी जिनपिङले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

रक्षामन्त्री वेईले दुई देशबीचको उच्च राजनीतिक तहमा विगतमा भएका सहमति कार्यान्वयन गर्दै सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा पनि जोड दिए । कोभिड– १९ को नियन्त्रणका लागि नेपाली सेनामार्फत सहयोग घोषणा गर्ने आश्वासन पनि उनले दिएका छन् ।

‘विगतमा राष्ट्रपतिहरूबीच कनेक्टिभिटीदेखि पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सहमति भएका छन् । ती सहमतिहरू कार्यान्वयन गर्न चीन प्रतिबद्ध छ,’ प्रधानमन्त्री ओलीसँगको वार्तामा चिनियाँ मन्त्री वेईले भनेको उद्धृत गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने, ‘चीनको उच्च नेतृत्वले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको छ । समस्यारहित सम्बन्ध अझै सुदृढ गर्ने, विभिन्न क्षेत्रमा उच्चस्तरीय भ्रमण आदान–प्रदान गर्न चीन प्रतिबद्ध छ ।’

मन्त्री वेईले गत वर्ष राष्ट्रपति भण्डारीको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तथा प्रधानमन्त्री ओलीको चीन भ्रमणका वेला भएका सहमति कार्यान्वयनमा चीन प्रतिबद्ध रहेको पनि बताएका छन् । एक चीन नीतिको सधैँ दृढतापूर्वक समर्थन गरेको भन्दै उनले प्रधानमन्त्री ओलीको प्रशंसा पनि गरेको भट्टराईले बताए । ‘नेपालमा तपाईंको नेतृत्वमा विकास, समृद्धि र स्थायित्वका लागि थुप्रै कदम चालिएको छ, ती कामको चीन समर्थन गर्दछ,’ मन्त्री वेईको भनाइ थियो ।

चिनियाँ मन्त्री वेईले नेपाल र चीनबीच सधैँ समस्यारहित सम्बन्ध रहेको पनि उल्लेख गरे । ‘यो सम्बन्ध थप उचाइमा पु¥याउन चीन आफ्नोतर्फबाट योगदान गर्न सधैँ तयार छ,’ वेईको भनाइ थियो, ‘नेपाल छिमेकी मुलुकका रूपमा चीनको उच्च प्राथमिकतामा छ । हामीबीच सहकार्यका लागि हिमालय अवरोध छैन । चीन आफ्नो सामथ्र्यअनुसार नेपाललाई सधैँ सहयोग गर्छ ।’

शिष्टाचार वार्ताको सुरुमा प्रधानमन्त्री ओलीले रक्षामन्त्री वेईलाई स्वागत गर्दै नेपाल र चीनबीच पाँच वर्षयता ऐतिहासिक महत्वका सहमति भएको भन्दै कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको बताएका थिए । ‘चिनियाँ राष्ट्रपति सीको गत वर्ष नेपाल भ्रमणमा भएको सहमति कार्यान्वयनमा नेपाल प्रतिबद्ध छ । नेपाल र चीनबीच कनेक्टिभिटी, पूर्वाधार र साझेदारी थप बढाउन हामी प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतामा हामी स्पष्ट छौँ ।’

प्रधानमन्त्री ओलीले कोभिड– १९ विरुद्ध चीनले हासिल गरेको सफलताबाट नेपाल प्रभावित भएको तथा नेपालको प्रयासमा चिनियाँ सहयोग रहेको पनि उल्लेख गरे । उनले कोभिड– १९ को नियन्त्रणका लागि चीनले तयार गरिरहेको खोप नेपालका लागि पनि सहज र सुलभ हुने अपेक्षा व्यक्त गरेका छन् । ‘चीनले कोभिड– १९ विरुद्ध खोप निर्माण गरिरहेको छ । सहज रूपमा नेपालले पनि त्यो प्राप्त गर्ने वातावरण बन्नेछ भन्ने हाम्रो अपेक्षा छ,’ प्रधानमन्त्री ओलीले भने ।

जंगी अड्डामा दुई घन्टा
चिनियाँ रक्षामन्त्री वेईले दुई घन्टाभन्दा बढी समय जंगी अड्डामा बिताएका थिए । नेपाली सेनाको सम्मान गारतदेखि प्रधानसेनापतिसँग शिष्टाचार वार्ता र प्रतिनिधिमण्डलस्तरीय वार्ता जंगी अड्डामा भएको थियो । वार्तामा चिनियाँ मन्त्रीले कोभिड– १९ नियन्त्रणका लागि नेपाली सेनालाई सहयोग प्याकेजको चाँडै घोषणा गर्ने आश्वासन दिएका छन् । नेपाली सेनाले इतिहास समेटिएको लघु वृत्तचित्र चिनियाँ प्रतिनिधिमण्डललाई देखाएको थियो ।

‘रक्षामन्त्री जनरल वेईले नेपाली सेनाको कोभिड– १९ महामारीविरुद्ध प्रतिकार्यको सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ, तर यसबारे विस्तृतमा उहाँले भन्नुभएको छैन,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भने ।

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ का कारण रोकिएका संयुक्त अभ्यास तथा शिक्षार्थी आदान–प्रदान र तालिम सुरु गर्नुपर्ने बताएका थिए । मन्त्री वेईले त्यसमा प्रतिबद्धता जनाएका थिए । थापाले चीनबाट घोषणा भएअनुसार करिब दुई अर्ब ४० करोड रुपैयाँ (१५ करोड चिनियाँ युयान)बराबरका सहयोग प्राप्तिका लागि नेपाल प्रतीक्षारत रहेको पनि उल्ल्ेख गरेका थिए ।

‘चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाका बीचमा संयुक्त सैन्य अभ्यास (सगरमाथा मैत्री अभ्यास) चाँडै सुचारु गर्न हामी प्रतिबद्ध छौँ,’ चिनियाँ रक्षामन्त्रीलाई उद्धृत गर्दै सैनिक प्रवक्ता पौडेलले भने । द्विपक्षीय रक्षा सहायता (बाइल्याटरल डिफेन्स असिस्टेन्स)अन्तर्गत वचन दिएका सहयोग उपलब्ध गराउन चीन तयार रहेको चिनियाँ रक्षामन्त्रीको भनाइ थियो ।

उनले कोभिड– १९ विरुद्ध नेपाली सेनासँग सहकार्य गर्न चिनियाँ जनमुक्ति सेना तयार रहेको पनि बताएका थिए । ‘हामी छिट्टै नै यसका लागि एउटा सहयोग प्याकेज घोषणा गर्नेछौँ र तपाईंहरूलाई जानकारी दिनेछौँ,’ उनको भनाइ थियो ।

परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरूसमेत सहभागी औपचारिक वार्तामा चिनियाँ रक्षामन्त्रीले यसका लागि उपयुक्त मोडालिटी बनाइनेसमेत आश्वासन दिएका छन् । रक्षामन्त्री वेईलाई गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र बिदाइ गरेका थिए । नयाँ पत्रिकामा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img