बुटवल — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अन्य दस पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने बताएका छन् । अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमालेमात्रै रहेको दाबी गरे ।‘उद्देश्य, नीति र गन्तव्य नभएकाले एमाले बाहेकले देश चलाउन सक्दैनन्,’ शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष ओलीले भने ।
एमाले बाटो बिराउने पार्टी नभई आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पार्टी भएको बताउँदै उनले भने, ‘अरुको १० वटा बुद्धि र एमालेको एउटा बुद्धि पुग्दो छ, एमालेले मात्रै देश चलाउँछ । पार्टी र देशलाई गन्तव्यमा पु¥याउने छ । ’
अध्यक्ष ओलीले मिसन–८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएको बताए । त्यसका लागि अरु सबै दल एकातिर तर एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटेको बताए । ‘टोल टोलमा कमिटी घरघरमा सदस्य बनाएर हिँडेका छौं । सबै दल एमालेतिर र एमाले एकातिर भए पनि हाम्रो जितलाई रोक्न सक्ने छैन ।’
अध्यक्ष ओलीले अहिले पनि नेकपा (एस) लगायतका दलबाट एमालेमा नेता कार्यकर्ताको लर्को लागेको बताए । ओलीले भने, ‘समुद्रबाट निस्केर कुनै माछापोखरीमा जान खोज्छ होला त्यस्तै कोही नेता, कार्यकर्ता अरु पार्टीमा जान्न । एमालेमा बिग्रेका केही फल दुई वर्षअघि खसे । तिनै खसेकाले अल्झाएका केही कार्यकर्ता छन् । अल्झेका कार्यकर्ता आउँदैछन् ।’
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गरेका छन् । शनिवार बुटवलमा सुरु भएको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने बताए ।‘एमालेभित्र नीति र विधिमा कुनै विवाद छैन । यही नीतिले देश विकास हुन्छ’, पौडेलले भने, ‘नेतृत्वको प्रश्नमा पनि विवाद छैन । विवाद होस् भनेर कोसिस भइरहेका छन् । तर ती पानीको फोका हुनेछन् ।’
उनले १० औँ महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताए । ‘एमालेको अधोगति चाहनेहरू षड्यन्त्र गरिरहेका छन् । पार्टीभित्र गुटको कुरा प्रचारमा ल्याइएको छ । पार्टी र गुट विपरीत विशेषता हुन् । गुट र पार्टी कहिल्यै पनि सँगै जान सक्दैन’, उनले भने, ‘पार्टी बनाउने हो भने गुट समाप्त हुन्छन् । गुटबन्दीको चर्चा गर्ने रङ्गिन समाचारबाट तरङ्गित नहुनुहोला ।’
पौडेलले एमालेमा ओलीको विकल्पमा चलेको चर्चा मिथ्या भएको दाबी समेत गरे । उनले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएकाले समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेता केपी ओली रहेको दाबी गरे ।
पौडेलले आफू र महासचिव बीच जोडेर गुटबन्दीको चर्चा चलेकोमा पनि आपत्ति जनाए । उनले आफू कुनै पनि गुटबन्दीमा नलाग्ने भन्दै गुटबन्दी मुर्दावाद र पार्टी एकता जिन्दाबाद भनेर अघि बढ्ने बताए ।