काठमाडाैँ, डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डितको अवस्था अझै अज्ञात छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको १५ दिन पुग्दा पनि उनीबारे कुनै सूचना प्राप्त भएको छैन ।
सेनाका गुल्मपति पण्डित सम्पर्कविहीन
उनी यहीँ भदौ १० मा त्रिपुराकोटबाट सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएको १५ दिनसम्म पण्डितको अवस्था अज्ञात रहेपछि परिवारले खोजिका लागि बिलौना गरिरहेको छ । लामो समयसम्म दाजुको अवस्था पत्ता नलागेपछि विमलकी बहिनीले कसैले देखेमा सम्पर्क गरिदिनका लागि अनुरोध गरेकी छिन् ।
दाजु हराएलगत्तै त्रिपुरासुन्दरी मन्दिरको भिडियोसहित भगवानसँग पुकारा गरिरहेकी बहिनी निरु पण्डितले फोटोसहित कसैले देखेमा सम्पर्क गरिदिन सामाजिक सञ्जालमा बिलौना गरिरहेकी छन् ।
पण्डितकी बहिनीको सामाजिक सञ्जालमा बिलौना
उनले यसअघि शुक्रबार ‘धैर्य गर्नु मात्र विकल्प रह्यो’ लेख्दै परिवारले भोगिरहेको पीडालाई सामाजिक सञ्जाल फेसबुकमार्फत दाजुको लागि पुकारा गरेकी थिइन् । दिनरात छोराको खबरको प्रतीक्षा गर्दै घरमा वृद्ध बुवाआमाले दिन बिताइरहेका छन् भने बहिनीले सामाजिक सञ्जालमार्फत दाजुको सकुशलताका लागि कामना गरिरहेकी छिन् ।
भदौ १० गते इभिनिङ वाकमा गार्डसमेत नलिई निस्किएका मेजर पण्डित सोही दिनबाट सम्पर्कविहीन छन् । सम्पर्कविहीन भएको भोलिपल्टबाट खोजी थालेका सुरक्षा निकायले पण्डित हराउनुको कुनै सुराकसम्म फेला पार्न सकेका छैनन् । सेनानी पण्डित सम्पर्कविहीन भएको त्रिपुराकोट क्षेत्रका सबै ठाउँमा सुरक्षा निकायले सर्च अभियान चलाए पनि कुनै सुराक पत्ता लाग्न नसकेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेल बताउँछन् ।
प्रजिअ पोखरेलका अनुसार त्रिपुराकोटसहित डोल्पाको तल्लो क्षेत्र, जुम्ला, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोलीले सर्च अभियान चलाए पनि पण्डित सम्पर्कविहीन हुनुको कुनै सुराक भेटिएको छैन ।
‘उहाँलाई खोज्नुपर्ने सबै ठाउँमा खोजविन गरेर थप क्षेत्रमा खोज्न अहिले पनि सुरक्षाका चारवटै टोली परिचालित छ,’ प्रजिअ पोख्रेलले भने, ‘रातदिन नभनी डोल्पाका प्रत्येक घरघर, खोला–खाल्सा सबैमा सुरक्षाकर्मी पुगेका छन् । तैपनि पत्ता लाग्न सकेको छैन ।’
मेजर पण्डितलाई खोज्न नेपाली सेनाको जुम्लाबाट प्रमुख सेनानी सुमन श्रेष्ठसहितको टोली एक हप्तादेखि डोल्पामा छ । स्वभावले कमै बोल्ने बानी भएका मेजर पण्डित घरायसी विवादले मानसिक समस्या सिर्जना हुँदा कतै गएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।
तर, पण्डितका परिवारले घरपरिवारसँग कुनै विवाद नभएकाले कि सास नभए लास भए पनि खोजी गरिदिन आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेल बताउँछन् । मेजर पण्डित त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोटसम्म पुगेको खुले पनि त्यहाँबाट कहाँ गए भन्ने कुनै पत्तो सुरक्षा निकायले लगाउन सकेको छैनन् ।
उनी त्रिपुराकोट पुगेपछि नगद २६ हजार सटही गरेर झोला खरिद गरेको, मोबाइल चार्ज गरेपश्चात स्थानीय एक होटेलमा कोठा भए नभएको बारे सोधेको अनुसन्धानबाट खुलेको प्रजिअ पोख्रेल बताउँछन् । त्यसपश्चात त्यहाँबाट निस्किएका पण्डित कहाँ गए भन्ने कुनै पत्ता लाग्न सकेको छैन ।
पण्डितलाई त्रिपुराकोटसम्म पु¥याउने जिप चालक नगेन्द्र बस्नेतको बयान
मसहित गाडीमा दुई तीन जना यात्रुहरु थियौं । अन्य यात्रुहरु टिकटक बनाइराख्नु भएको थियो । सोही समयमा उहाँ आउनुभयो । मलाई हतार छ, त्रिपुराकोट जानुछ, छिटो जाउँ भन्नुभयो ।
मैले गाडी स्टार्ट गरे । उहाँले त्यसबेला भन्नुभयो, ‘तिमिले गाडी कहीँ कतै रोक्नु परेन । मैले डीएसपी सापसँग कुरा गरेको छु । गाडी कहिँ कतै इन्ट्री गर्नुपर्दैन’ जाउँ भनेपछि अगाडि बढ्यौं ।
उहाँले म मजेर साप हो भन्नु भएको थियो, मैले तर यहीँको कोही लोकल हुनुहोला मेयर साप भन्ने बुझेँ । उहाँले बोलिरहँदा हतोत्साहित अवस्थामा हुनुहुन्थ्यो, बोली लड्बडिरहेको थियो । ब्यारेक नजिकै पुगेपछि उहाँले नै सेनालाई गेट खोल्न लगाउनुभयो । गेट खोलेपछि हामी त्रिपुराकोटतर्फ लाग्यौं । इमरजेन्सी लाइट बाल्न लगाउनुभयो ।
कालागौडादेखि माथि सोइलिङ गरेको ठाउँ पुगेपछि उहाँको मोबाइलमा फोन आयो । गाडीमा गीत बजाइरहेकाले भोलुम घटाउ भन्नुभयो र फोनमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘फोन रेकर्ड मेरो हैन, म्यासेज नि मेरो हैन ।’
उहाँले हतार गरेपछि गाडीको स्पिड बढाउन भन्नुभयो मैले गाडी अलि छिटो चलाउन थालेँ, पहिलोपटक फोन राखेको पाँच मिनेटपछि पुनः उहाँको मोबाइलमा फोन आयो, केही बेर कुरा गरेर राख्नुभयो ।
उहाँले नै भाडाको रकम खातामा पठाइदिन्छु, खाता नम्बर छ भनेर सोध्नुभयो । मैले छैन खाता भनेपछि रिभर साइटमा झरेर सोध्नुभयो, ‘पैसा ट्रान्सफर्मर गर्छु मलाई अलि बढी पैसा चाहिएको छ’ भन्दा त्यहाँ कसैले खातामा पैसा पठाउन नमिल्ने बतापछि पुनः गाडी चढ्नुभयो ।
हामी अगाडि बढौं, मैले भनेँ हाम्रो गाडी साहुसँगै कुरा गर्नुहोला जाउँ भनेपछि त्यहाँ छोडेर साउजीसँग कुरा गराएर म खाली गाडी लिएर फर्किएँ । फर्किदा बाटोमा त्रिपुराकोटतर्फ गइरहेको नेपाली सेनाको गाडीसँग भेट भयो ।
उहाँहरुले रोकेर भन्नुभयो, ‘मेजर साप लिएर गएको गाडी यहीँ हो ?’ मैले हो भने त्यसपछि मात्रै थाहा भयो की उहाँ त मेजर साप पो हुनुहुँदो रहेछ । त्यसपछि उहाँहरुले थप कुरा नगरेर उहाँहरु उता जानुभएको हो । उहाँले गाडी भाडा ६ हजार पाँच सय रूपैयाँ साहुजीलाई दिनु भएकाले त्यसपछि उहाँ कहाँ जानुभयो मलाई जानकारी छैन ।