काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् । नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् । त्यो खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए ।नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । भोलि (बुधबार) सम्म श्रद्धाञ्जलिका लागि शव पार्टी कार्यालयमा राखिने इलामका सांसद् महेश बस्नेतले बताए ।
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’ हृदयाघात भएर नेम्वाङको गएराति निधन भएको छ । नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।