spot_img

शान्त,सहमति र एकताको सूत्रधार मध्यमार्गी नेताकाे अवसान

spot_img

काठमाडाैैँ, संविधानसभाबाट संविधान बनाउने मौका विरलै देशले पाउँछन् र त्यसमा पनि सभाको दुई–दुईपटक अध्यक्षता गर्ने जिम्मेवारी झनै दुर्लभ अवसर हो । सुवास नेम्वाङलाई त्यस्तो अभूतपूर्व अवसर मिल्यो, जसको नेतृत्वमा ३ असोज ०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भयो । उनै नेम्वाङको अकल्पनीय निधनले देशले एक मध्यमार्गी वरिष्ठ राजनीतिज्ञ गुमाएको छ, राजनीतिक र संवैधानिक वृत्त स्तब्ध बनेको छ ।

एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो । संविधानसभा अध्यक्ष हुँदादेखि नेम्वाङको नियमित स्वास्थ्य जाँच गर्दै आएका संसद् सचिवालयका प्यारोमेडिक्स (इमर्जेन्सी मेडिकल केयर पर्सन) प्रदीप घिमिरेका अनुसार उनी लामो समयदेखि सुगर, प्रेसरका बिरामी थिए । उनले डा. अरुण सायमी, यादव भट्ट र बुद्धि कार्कीको सिफारिसमा १०–१२ वर्षदेखि सुगर, प्रेसरको औषधि खाइरहेका थिए ।

मंगलबार बिहान नेम्वाङको स्वास्थ्यमा असहजता आएपछि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्रिवि शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले जारी गरेको विज्ञप्तिमा नेम्वाङलाई मंगलबार बिहान १ः५० बजे उपचारका लागि ल्याइएको, चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको, आँखाको नानी फुलिसकेको र स्थिर रहेको साथै बिपी र पल्प अनरेकर्डेबल भएकाले चिकित्सकद्वारा ३५ मिनेटसम्म सिपिआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेको उल्लेख छ ।

राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्राधार, संविधान निर्माणका अगुवा, संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङ मृदुभाषी, शालीन र समन्वयकारी वरिष्ठ राजनीतिज्ञ थिए । पाँच दशक राजनीतिमा सक्रिय नेम्वाङ खास गरेर संविधान निर्माणमा सहमति र एकताको सूत्राधारका रूपमा अनवरत क्रियाशील थिए, त्यसैले सम्बद्ध दल एमालेबाहेकका् दलमा पनि उनी स्वीकार्य पात्र थिए । उनी सुपरिचित, लोकप्रिय र अग्लो कदका व्यक्तित्व थिए । दल र नेताहरूबीचको जस्तोसुकै असहज सम्बन्ध हुँदा पनि उनी संवादको ढोका खोल्न आफैँ अघि सर्थे ।

राजनीतिक क्षेत्रका सफल र उदाहरणीय व्यक्तित्व उनी संविधान र कानुनका ज्ञाता, प्राध्यापन क्षेत्रका असल गुरु र एक फुटबल खेलाडीलगायत बहुआयमिक व्यक्तित्वका धनी थिए । २३ असोजमा धरानको एक कार्यक्रमलाई अन्तिम सम्बोधन गरेका थिए । अन्तिम सम्बोधनपछिका दुई दिन पनि नियमित जीवनचर्यामै रहेका नेम्वाङ मंगलबार राति अचानक हृदयाघातका कारण ढले र आफ्नो अलग्गै अमिट पदचाप छाडेर सधैँका लागि अस्ताए ।

राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झन्डा चन्द्र–सूर्यको महत्वदेखि हिमाल–पहाड–तराई सबैतिरका जनता एकतासहित अगाडि बढ्दा मात्र विविधतायुक्त राष्ट्रलाई बलियो बनाएर समृद्धिको लक्ष्य सम्भव भएको ओजपूर्ण अन्तिम सम्बोधनसहित सामाजिक सद्भाव भड्किएको धरानलाई नेम्वाङले महत्वपूर्ण सन्देश दिएका थिए । उनी जनजाति थिए, तर उग्र जातिवादको पक्षमा थिएनन् ।

‘हामीले आठ वर्षअगाडि संविधान बनायौँ । जनताले जनताका लागि । राष्ट्रिय झन्डा पास ग¥यौँ । कुनै वेलामा यसबारे छुट्टै छलफल गरौँला,’ नेम्वाङले पहिचानको मुद्दालाई पनि साझा मुद्दाका रूपमा बुझ्न अपिल गरेका थिए, ‘महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किराँतीको मात्र नभएर सिंगो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरु हुनुभयो । यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ ?’

जातीय पहिचानका नाममा हिंसा मच्चाएर बिथोल्ने काम गलत भएको मान्यता दृढतासाथ राख्दै उनले पहिचानको मुद्दा उठाउनेलाई गम्भीर बन्न सचेत गराएका थिए । ‘पहिचानका लागि हानिएको ढुंगा ताप्लेजुङको लिम्बू डिएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने, कस्तो खालको ढुंगा हो ?’ नेम्वाङको अन्तिम सम्बोधन थियो ।

उनै नेम्वाङ, जसले पहिचानका नाममा जातीय राज्य बनाउने कोसिस हुँदा ०७० दोस्रो संविधानसभाबाट संसद्का सबै दललाई एउटै साझा निष्कर्षमा पु¥याएर ३ असोज ०७२ मा गणतन्त्र संस्थागत गर्ने संविधान जारी गर्ने कामको अगुवाइ गरेका थिए । आठ वर्ष संविधानसभा अध्यक्ष रहेका नेम्वाङले संविधान जारी नभएसम्म दलहरूलाई आ–आफ्ना अडान छाडेर सहमतिमा पुग्न जतिवेला पनि राष्ट्रिय सहमतिको रट लगाइरहे । त्यसक्रममा उनले शीर्ष नेतृत्वलाई प्रेरित मात्र गरेरनन्, आवश्यकताअनुसार सहमतिका आधार र सूत्रहरू पनि प्रस्तुत गरिरहे ।

सहमतिका लागि प्रेरित गर्ने उनको चरित्रलाई पूर्वराष्ट्रपति तथा उनका पार्टीका समेत सहयोद्धा विद्या भण्डारीले समन्वयकारी गुणका रूपमा स्मरण गरेकी छिन् । ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका एमाले उपाध्यक्ष नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु,’ नेम्वाङको समन्वयकारी गुणलाई उनले विज्ञप्तिमै खुलाएकी छिन् ।

कांग्रेस महामन्त्री गगन थापाले भने एक कदम अगाडि बढेर नेम्वाङ सहमति जुटाउने समन्वयकारी पात्रका रूपमा मात्र नभएर जनआन्दोलनको मर्म बुझ्ने र निर्णायक वेला जस्तोसुकै दबाब थेग्न तथा चिर्न सक्ने दृढ नेताका रूपमा समेत स्मरण गर्दा मात्र उनको भूमिकामाथि न्याय हुने स्मरण गरे । ‘०६२÷६३ को जनआन्दोलनपछि मुलुकमा सबैलाई आफ्नो जस्तो लाग्ने साझा, जनआन्दोलनको मर्म बुझ्ने, संवाद र समन्वय गर्ने कुशल पात्र आवश्यक थियो, त्यतिवेला सुवास नेम्वाङ सबैका लागि निर्विरोध पात्रका रूपमा चार–चारपटक पुनस्र्थापित संसद्, संविधानसभा र संसद् दुवैमा निर्विरोध निर्वाचित हुनुभयो,’ थापाले नेम्वाङको अतुलनीय भूमिकाको स्मरण गरे, ‘उहाँ लचक त हुनुहुन्थ्यो । तर, संविधान निर्माणको अन्तिम क्षणमा संविधान निर्माण गरिछाड्ने दृढ संकल्प भएको पात्र पनि चाहिएको थियो, त्यसवेलाको बाहिरी दबाब थेग्ने र चिर्ने पात्र पनि उहाँ हुनुहुँदो रहेछ, यदि उहाँमा अन्तिम क्षणमा दृढ इच्छाशक्ति थिएन भने समन्वयकारी व्यक्तित्वले मात्र सायद संविधान बन्दैनथ्यो । त्यसैले उहाँले संविधान निर्माणमा सर्वोच्च भूमिका निर्वाह गर्नुभएको छ ।’

थापाले पछिल्लो १५ वर्ष मुलुकमा अत्यावश्यक रहेको सहमति जुटाउने पात्रका रूपमा मात्र नभएर संसद्मा असल शिक्षा र संस्कार सिकाउने एक पिताका रूपमा समेत नेम्वाङलाई स्मरण गर्न सकिने बताए ।

०४८ पछि राष्ट्रिय सभा हुँदै संसद् प्रवेश गरेका नेम्वाङ ०५६, ०६४, ०७०, ०७४ र ०७४ मा इलाम २ बाट प्रतिनिधिसभा सांसद निर्वाचित भएका थिए । ०५१ को नौमहिने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले नेतृत्व गरेको एमाले नेतृत्वको अल्पमत सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

०६२÷६३ को पुनस्र्थापित संसद्मा पहिलोपटक सभामुख निर्वाचित नेम्वाङले राजासँग शपथ अस्वीकार गर्दै संसद्सामु शपथ लिएर राजाका अधिकार कटौती गर्नेदेखि गणतन्त्र घोषणा गर्ने कामसम्मको नेतृत्व गरेका थिए । राजालाई अघोषित रूपमा निलम्बन गरी गणतन्त्रको आधार तयार गर्ने त्यस घोषणालाई राजनीतिक वृत्तमा ‘नेपालको म्याग्नाकार्टा’का रूपमा चित्रित गरिन्छ ।

०६४ को निर्वाचनपछि संविधानसभा अध्यक्षमा निर्वाचित नेम्वाङले त्यही ‘नेपाली म्याग्नाकार्टा’मार्फत राजाका अधिकार कटौती गर्दै श्री ५ को सरकारको सट्टा नेपाल सरकार बनाउने, राजदण्ड हटाउनेलगायत प्रस्ताव संसद्बाट पारित गराएका थिए । त्यति मात्र होइन, ११ जेठ ०६५ मा आन्तरिक र बाह्य दबाब, चुनौतीलाई बेवास्ता गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गराउने प्रस्ताव पारित गराएका थिए ।

०६९ मा पहिलो संविधानसभा असफल भएपछि पनि दोस्रोपटक संविधानसभा अध्यक्ष भएका नेम्वाङले जातीय पहिचानको राज्य बन्ने गरी राज्य पुनर्संरचना गर्दै प्रदेश बनाउने प्रस्तावको विकल्पमा साझा पहिचानसहितको प्रदेश बनाएर संविधान निर्माण गर्ने काममा सहमति जुटाउन अग्रणी भूमिका खेलेका थिए । संविधानको मस्यौदा गर्ने संवैधानिक मस्यौदा समितिमा हुने विमति कम गर्न नेम्वाङकै अगुवाइमा पटक–पटक बैठकहरू बस्ने गर्थ्यो ।

‘पहिलो संविधानसभा विफल भइसकेको पृष्ठभूमिमा दोस्रो संविधानसभाको चुनाव गरेर फेरि त्यसको पनि नेतृत्व गरेर धेरै कठिन समयमा संविधानसभाका सदस्य र पार्टीसँग संयोजन गरेर कमरेड सुवास नेम्वाङले जसरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिन सफल हुनुभयो, त्यसले उहाँलाई नेपालले सधै सम्झनेछ,’ माओवादी महासचिव देव गुरुङले नेम्वाङको भूमिकामाथि टिप्पणी गर्दै भने, ‘पछिल्लो समयमा नेकपा एमालेको उपाध्यक्ष र संसदीय दलको उपनेता रहनुभएका सुवास नेम्वाङको निधनले वर्तमान वाम–लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ ।’

संसदीय इतिहासमा सबैभन्दा लामो समय संसद्लाई नेतृत्व गरेका नेम्वाङ मृत्युपर्यन्त संविधानसभा अध्यक्ष सम्बोधित थिए । नेपालमा जातीय क्षेत्रीय दल र मोर्चासमेत सक्रिय रहेको तथा विद्रोही तत्कालीन माओवादीसमेत सरकार सञ्चालनको मोर्चा र सडकमा समेत आन्दोलनकै भूमिका रहेका वेला उनले संसदीय मोर्चामा निरन्तर सबै दलसँगको समदूरीमै रहेर समन्वयकारी भूमिका निभाए ।

नेम्वाङसँग सन्निकट रहेर काम गरेकी तत्कालीन उपसभामुख तथा पूर्वसभामुख ओनसरी घर्ती संविधान लेखनमा उनले खेलेको भूमिका नै सदैव स्मरणीय रहेको बताउँछिन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलन र संविधान लेखनमा उहाँले खेल्नुभएको महत्वपूर्ण भूमिका नेपाली जनताबीच सधैँ स्मरणीय रहनेछ,’ उनले भनेकी छिन् ।

संविधान जारी भएपछि संस्थागत गर्ने चुनौती रहेको भन्दै उनले निरन्तर एकता र सहमतिमा मात्र जोड दिएनन्, दलहरूको बेमेलप्रति खबरदारी गरिरहे । संविधानसभाकोे ऐतिहासिक अन्तिम बैठकमा राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानको औपचारिक घोषणा गरेपछि सम्बोधन गर्दै नेम्वाङले सभा अन्त्य गर्दै दलहरू इमानदार हुनुपर्ने बताएका थिए । ‘संविधान राम्रो भएर मात्र हुँदैन । संविधान आफैँले बुद्धिविवेक बाँड्ने होइन । राजनीतिक दलहरूले संविधान कार्यान्वयनका लागि आवश्यक विवेक र क्षमता प्रदर्शन गर्नुपर्छ,’ उनले भनेका थिए ।

संविधान जारी भएपछि पार्टी राजनीतिमा फर्किएका नेम्वाङ स्थायी समिति सदस्यमा मनोनीत भएर संसद्मा अध्यक्ष केपी ओलीपछिको भूमिकामा रहने गरी संसदीय दलको उपनेता बने । तत्कालीन एमाले–माओवादी एकतामा पनि भूमिका खेलेका उनी नेकपाको सचिवालय सदस्य बने र दशौँ महाधिवेशनबाट उपाध्यक्षमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए ।

पार्टीमा ओलीपछिको तेस्रो वरीयतामा रहेका नेम्वाङमा संसद्मा दोस्रो वरीयताको भूमिकामा क्रियाशील रहे । संसदीय राजनीतिमा लामो समय शक्तिकेन्द्रमा रहेका नेम्वाङले पार्टीमा भने कहिल्यै फरक गुट निर्माण गरेर शक्ति अभ्यास गरेनन् । यद्यपि, उनले चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा ओलीपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष बन्ने कोसिस गरेका थिए ।

महाधिवेशनमा प्रतिनिधिमाझ सहानुभूतिको राम्रो माहोल हुँदाहुँदै सर्वसम्मत नेतृत्व छान्ने ओलीको अभियानमा साथ दिएर नेम्वाङले उपाध्यक्षमै चित्त बुझाए । पार्टीभित्र गुट निर्माण नगरे पनि कतिपय सवालमा नेम्वाङ ओलीको निर्णय र पार्टी सञ्चालनको कार्यशैलीलाई कूटनीतिक रूपमा असहमति जनाउँथे । निकटस्थहरूसँग संसद् विघटन गर्ने कदम बेठीक र असंवैधानिक भन्नुका साथै सार्वजनिक कार्यक्रममा कुटनीतिक रूपमा असहमति राखेकै कारण नेम्वाङसँग ओली भित्री रूपमा असन्तुष्ट थिए ।

अघिल्लो महिना नेम्वाङले धुलिखेलमा आयोजित एक कार्यक्रममा लामो समय संसद् अवरुद्ध गर्ने पार्टी निर्णय संसदीय अभ्यासका हिसाबले बेठीक र राजनीतिक रूपले मात्रै ठीक रहेको धारणा सार्वजनिक गरेका थिए । नेतृत्वको निर्णय बेठीक भएकाले सहमति खोज्नुपर्ने नेम्वाङको धारणाले दबाब सिर्जना गरेका कारण सत्तापक्ष–प्रमुख प्रतिपक्ष सहमतिको बिन्दु पहिल्याउन बाध्य भएको राजनीतिक टिप्पणी गर्ने गरिन्छ ।

पार्टीभित्र अलग्गै समूह निर्माण नगरे पनि नेम्वाङको पछिल्लो भूमिकाले सामूहिक रूपमा पार्टी सञ्चालन र पार्टी एकताका लागि अप्रत्यक्ष दबाब सिर्जनाको आभास भएको कतिपय पदाधिकारी अनौपचारिक रूपमा टिप्पणी गर्छन् । आफ्ना असहमति ‘बोल्ड’ रूपमा भन्दा पनि मृदुभाषी र कूटनीतिक शैलीमा अभिव्यक्त गर्ने स्वभावका कारण नेम्वाङले नेतृत्वलाई सीधा टक्कर भने कहिल्यै दिएनन् ।

नेम्वाङको निधनको खबर पाएपछि राति नै एमाले अध्यक्ष केपी ओलीसहित नेता टिचिङ अस्पताल पुगेका थिए । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल पुगेर जानकारी लिएका थिए । उज्यालो हुँदै जाँदा नेम्वाङलाई श्रद्धाञ्जली दिन थुप्रै नेता–कार्यकर्ता टिचिङ पुगेका थिए । नेम्वाङको पार्थिव शरीरलाई ९ बजे श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासलको तुल्सीलाल स्मृति हलमा लगिएको थियो ।

च्यासल पुगेर प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, राप्रपा वरिष्ठ नेता पशुपतिशमशेर जबरा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, डा. बाबुराम भट्टराई, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेताहरू, अधिवक्तालगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए । नेम्वाङको पार्थिव शरीरमा पार्टी अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको झन्डा ओढाएका थिए ।

नेम्वाङको पार्थिव शरीरलाई बुधबार १ बजेसम्म पार्टी कार्यालयमा राखिनेछ भने त्यसपछि बालुवाटारस्थित उनको निवास लगिनेछ । पारिवारिक तथा धार्मिक संस्कारका लागि पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार विभागले जनाएको छ । त्यहाँ नेम्वाङप्रति आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । नेम्वाङको पार्थिव शरीरलाई बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शोकमा बिहीबार सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

नेम्वाङको निधनको शोकमा बुधबार तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न बिहीबार ३ बजेलाई अर्काे बैठक तोकिएको छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img