spot_img

जोखिमकै बीच विद्यालय धमाधम खुल्दै

spot_img

काठमाडाैँ,कोरोना महामारीका कारण गत चैतदेखि बन्द सुदूरपश्चिमका विद्यालय धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो । विद्यालय सञ्चालन कार्यढाँचा बनाएर बिहान र दिउँसो गरी दुई सत्रमा कक्षा सञ्चालन भइरहेको छ ।

बालबालिकाहरू संवेदनशील उमेर समूहमै पर्ने भएकाले पनि संक्रमणको जोखिम भने कायमै छ । भौगोलिक विकटताका कारण स्वास्थ्य सामग्री उपलब्ध नहुनु, अशिक्षा तथा हेलचेक्रयाइँले पनि यहाँका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना चुनौतीपूर्ण देखिन्छ । प्रदेश स्वास्थ्य निर्देशनालयका एक अधिकारीले पनि यस्तो अवस्थामा विद्यालय सञ्चालन गरिनु चुनौतीपूर्ण हुने बताए । ‘विद्यालय भनेको भीडभाड हुने स्थान हो । त्यहाँ दुईरतीन सय विद्यार्थी पनि हुन्छन्,’ ती अधिकारीले भने, ‘ठूला कक्षाका विद्यार्थीले सावधानी अपनाए पनि साना नानीबाबु एकसाथ खेल्ने गर्छन् । यसले एक जनामा संक्रमण भए विद्यालयभरि र घरघर पुग्ने जोखिम पनि हुन्छ ।’ उनले विद्यालयमा कडा सावधानी अपनाउन सके मात्रै संक्रमणबाट जोगिन सघाउ पुग्ने बताए ।

बैतडीको दशरथचन्द नगरपालिकामा गत बिहीबार (मंसिर ११) देखि खोलिएका विद्यालय दुई दिनमै बन्द गरिए । नगर प्रमुखसहित १९ जनामा एकैदिन कोरोना पुष्टि भएपछि शुक्रबारदेखि विद्यालय बन्द गरिएका हुन् । शनिबारदेखि नगरपालिका क्षेत्रभर १० दिनसम्म लकडाउन आह्वान गरिएको छ । सिंगो प्रहरी चौकीसहित समुदायमै रहेका व्यक्तिमा कोरोना संक्रमण भएपछि डिलासैनी गाउँपालिकामा पनि लकडाउन गरिएको छ ।

कञ्चनपुरमा यसै साताबाट विद्यालयमा पठनपाठन सुरु गरिने भएको छ । स्थानीय तहहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पठनपाठन थाल्ने बताएका छन् । तर यसबारे आफूहरूसँग सल्लाह नै नगरिएको अभिभावकहरूको गुनासो छ । स्थानीय तहहरूले सामुदायिक विद्यालयका प्रधानाध्यापक र निजी विद्यालयका सञ्चालकहरूसँग छलफल गरे पनि अभिभावकलाई भने समेटेका छैनन् । ‘सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेका छौं,’ भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले भने, ‘त्यहीअनुसार विद्यालयहरूले तयारी सुरु गरेका छन् ।’ स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेको पाइएमा कारबाही गरिने उनले बताए ।

गत साता शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा ९ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखसहितको बैठकमा मंसिर १९ भित्रै सबै विद्यालय खोल्ने निर्णय भएको थियो । तर कार्यढाँचाअनुसार विद्यालयहरूले अभिभावकसँग भने छलफल गरेको पाइँदैन । अहिले पनि अभिभावकहरू विद्यालय सञ्चालन हुने–नहुनेमा अन्योलमा छन् । ‘हामीसँग कुनै सल्लाह गरिएको छैन, यो विषयमा कुनै जानकारी पनि छैन,’ अभिभावक संघ कञ्चनपुरका अध्यक्ष वीरबहादुर चन्दले भने, ‘अभिभावकहरूले आफ्ना बालबालिका विद्यालय नपठाए कसरी पठनपाठन हुन्छ ?’ विद्यालयले सुरुमा अभिभावकसँग छलफल गर्ने र त्यसपछि सम्बन्धित स्थानीय तहमा विद्यालय सञ्चालनको कार्यढाँचा पेस गरेपछि त्यसैअनुसार पठनपाठन थाल्ने निर्णय भएको थियो । निजी विद्यालयमा विद्यार्थी भर्ना तथा शुल्क लिनकै लागि मात्रै सञ्चालन गर्ने तयारी गरिएको हो कि भन्ने आशंका उब्जिएको भीमदत्तका एक अभिभावकले बताए ।

कैलालीको धनगढी उपमहानगरमा गत आइतबारदेखि नै विद्यालयमा पढाइ भइरहेको छ । जसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको उपमहानगरको दाबी छ । ‘विद्यालय सञ्चालन भएर कतिपयले प्रतिवेदनसमेत दिएका छन्,’ उपमहानगरका शिक्षा शाखा प्रमुख महादेव जोशीले भने, ‘स्वास्थ्य सतर्कतालाई उच्च ढंगले ख्याल गर्न भनेका छौं ।’ गोदावरी नगरपालिकामा पनि विद्यालय खुलेका छन् । ‘सर्वपक्षीय बैठक तथा समझदारी गराएर विद्यालय सञ्चालन गराएका हौं,’ उपप्रमुख रत्ना कठायतले भनिन्, ‘लामो समयपछि विद्यालय खुलेकाले विद्यार्थीहरूमा उत्साह देखिएको छ ।’

जिल्लाका अन्य स्थानीय तहमा पनि कतै पूर्ण र कतै आंशिक रूपमा भए पनि कक्षाकोठामै पढाउन थालिएको छ । ‘पहिलाजस्तै पूरै समय सञ्चालन नभए पनि कक्षा सुरु भएका छन्,’ घोडाघोडी नगरपालिकाको शिक्षा शाखा प्रमुख उमेश रेग्मीले भने, ‘कार्यढाँचाले तोकेबमोजिम विद्यालयलाई सर्कुलर गरेका छौं ।’ पिरियडको समय छोट्याउने, दुई सत्रमा चलाउने, कम विद्यार्थी भए नियमित गर्ने, आलोपालो कक्षा सञ्चालन, एउटै कक्षामा धेरै विद्यार्थी भए सेक्सन छुट्याएर पढाउनेलगायत विकल्प शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ मा उल्लेख छ ।

छैन भौतिक दूरी पालना

अछामका निजी तथा सामुदायिक विद्यालयहरू पनि गत सातादेखि खुल्न थालेका छन् । करिब १३ सय विद्यार्थी रहेको शोडषा माविमा दुई सत्रमा कक्षा सञ्चालन गरिएको छ । विद्यार्थी संख्या धेरै भएकाले एकैसाथ पढाउन नसकिएको प्रधानाध्यापक देवेन्द्र दुब्बेले बताए ।

‘स्कुलमा आउँदा सबै विद्यार्थीलाई अनिवार्य मास्क लगाएर आउन भनेका छौं,’ उनले भने, ‘९ कक्षादेखि १२ कक्षासम्म बिहान पढाउँछौं । १ कक्षादेखि ८ कक्षासम्म दिउँसो पढाउँछौं । तर विद्यार्थी धेरै भएकाले भौतिक दूरी कायम गर्न भने सकेका छैनौं ।’ स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गर्दा एउटा कक्षाको पढ्ने पालो सातामा एक दिन मात्र आउने उनले बताए । जिल्लामा कोरोना संक्रमणको जोखिम अझै रहेकाले विद्यार्थी र शिक्षक दुवैमा संक्रमण हुने खतरा रहेकामा उनले चिन्ता जनाए । मनकामना मावि घोडासैनीका शिक्षक नैनसिंह साउद लकडाउनका बेला धेरै बालबालिकाले पढाएको कुरासमेत बिर्सिएको बताउँछन् । ‘रेडियोको पहुँच नै नभएको गाउँमा अनलाइन कक्षा र टेलिभिजन कक्षा त सपना जस्तै हुन् । अहिले सकेसम्म स्वास्थ्य मापदण्ड अपनाएर पढाउन सुरु गरिएको छ । तर यसले धेरै जोखिम निम्त्याउने देखिन्छ,’ उनले भने ।

दार्चुलाका ९ वटै स्थानीय तहमा विद्यालय खुलेका छन् । सरकारले कोभिड–१९ को प्रभाव नभएको ठाउँमा विद्यालय खोल्न सम्बन्धित स्थानीय तहलाई जिम्मा दिएपछि जिल्लाभरिका सबै विद्यालयमा पठनपाठन सुरु भएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले बताए । जिल्लाका ३३७ सामुदायिक र १९ वटा संस्थागत विद्यालयमा पढाउन थालिएको हो । दुर्गम क्षेत्रका अधिकांश विद्यार्थीहरू वैकल्पिक शिक्षाको पहुँच बाहिर रहेकाले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको दुहु गाउँपालिकाका शिक्षा शाखा प्रमुख हेमराज जोशीले बताए । सुदूरपश्चिमका अन्य जिल्लामा पनि विद्यालय खुलिसकेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img