काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीले गठबन्धनको सरकार जोगाउनुमात्रै ठूलो कुरा नभएको बताएका छन् । उनले सरकारमा बसेर जनतामा आशा जगाउने गरी डेलिभेरी पनि दिनसक्नुपर्ने बताए । आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पौडेलले कांग्रेसकै मन्त्रीहरूले पनि जनतामा आशा जगाउने गरी काम गर्न नसकेको बताए ।‘सरकारमा हुनु, गठबन्धन बचाउनुमात्रै ठूलो कुरा होइन । सरकारमा बसेर जनतामा आशा पनि जगाउन सक्नुपर्छ,’ पौडेलले अघि भने, ‘आज हाम्रै पार्टीको साथी सरकारमा मन्त्री हुनुहुन्छ, तर कसैले एउटा पनि उदाहरणीय काम गर्न सकेको अवस्था छैन, जसको हामी कार्यकर्ताले खुलेर प्रशंसा गर्न सकौँ ।’
उनले पार्टीकै मन्त्रीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहेको भएपनि मुलुकको अर्थतन्त्र डामाडोल हुँदा केही गर्न नसकेको भन्दै आलोचना गरे । ‘अर्थ मन्त्रालय हाम्रै नेतृत्वमा छ, तर अर्थतन्त्रमा सुधार आइरहेको छैन । यस्तो बेला हामीले कसलाई प्रश्न गर्ने हो ? कि जवाफ दिनुपर्ने हो ? अर्थतन्त्र डामाडोल भएको छ, सुधारको पहल गर्न सकेको देखिएन,’ उनले भने, ‘साना व्यवसायीहरू सटर बन्द गरेर हिड्न बाध्य छन् । सभापतिज्यू, बैंकमा पैसा नभएर लगानी गर्न नपाउनुभन्दा बैंकमा पैसा थन्किएर लगानी गर्न नसक्नु ठूलो समस्या हो ।’
नेता पौडेलले पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशनको सुनिश्चितता गर्न समेत माग गरे । ‘सभापतिज्यूलाई मेरो प्रश्न छ, पार्टीका भ्रातृ संस्थाहरूको अधिवेशन हुन्छ कि हुँदैन ? एक हजार जनाको कमिटी बनाएर कसरी अधिवेशन हुन्छ ? उनीहरू अधिवेशनका प्रतिनिधि हुन्छन् कि छेऊ कुनामा बसेर टुलुटुलु अधिवेशन हेर्ने गरी सहभागी हुन्छन् ? यस्तो अवस्थामा कसरी अधिवेशन हुन्छ ?,’ पौडेलले प्रश्न गर्दै अघि भने, ‘यो बैठकमा भ्रातृ संस्थाहरूको अधिवेशन हुने वातावरणको सुनिश्चित गर्नकालागि म आग्रह गर्न चाहान्छु ।’
उनले पार्टीको अघिल्लो बैठकका निर्णयहरू कार्यान्वयन हुन नसकेका विषयमा समेत प्रश्न उठाए । ‘पार्टीले निर्णय गर्दै जाने, कार्यान्वयन गर्नुनपर्ने हो भने त्यसको के अर्थ ? त्यसैले अब गरिएका निर्णयहरू कार्यान्वयन नहुने अवस्था हुनुहुँदैन,’ उनले भने, ‘अघिल्लो बैठकका निर्णयहरू सबै कार्यान्वयन भए कि भएनन् ? त्यसको समीक्षा हुनुपर्छ ।’
उनले पार्टीको महासमिति बैठकमा सांगठनिक र आर्थिक दस्तावेजहरू मात्रै प्रस्तुत गरेर पर्याप्त नहुने बताए । ‘महासमिति बैठकमा पार्टीको सांगठनिक र आर्थिक दस्तावेजहरूमात्रै प्रस्तुत गरेर हुँदैन । मुलुकको अर्थतन्त्रलाई अघि बढाउन पाटीको अबको नीति के हो ? जलवायु परिवर्तन अहिले ग्लोबल एजेण्डा बनेको छ, यसमा पार्टीको धारणा के हो ? परराष्ट्र मामिलाका सम्बन्धमा पार्टीको नयाँ अवधारणा के हुने हो ? यी सबै विषय महासमिति बैठकबाट प्रष्ट भएर जानुपर्छ,’ उनले भने ।