काठमाडौँ — नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीमा नेताहरुबीच पार्टी कब्जाको होड मात्रै चलिरहेको बताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले नेता पार्टी कब्जाको होडमा ब्यस्त हुँदा जनताहरु भने निराशाले व्याकुल भएर कांग्रेसको विकल्प खोज्न उद्धत रहेका बताए ।
’हामी पार्टी कब्जाको होडमा छौँ, तर जनता पार्टीबाट टाढाटाढा हुँदैछन् । जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरुपको व्यवहार नभएको अवस्थाले ल्याएको फरकको खाली ठाउँमा आमअसन्तुष्टि र निरासा मात्र होइन, जनआक्रोशले विकल्पको बाटो खोज्दैछ,’ केसीले अघि भने, ’विश्वविद्यालयको संख्या बढ्दैछ । तर विद्यार्थीहरू विदेशिने संख्या उकालो लाग्दैछ ।
उनले शैक्षिक क्षेत्रमा गुणस्तरको विकास र तिब्र राजनीतीकरणलाई नियन्त्रण गर्दै शिक्षकहरूको पेशागत सम्मान र सुरक्षाको सुनिश्चितता दिनु आवश्यक रहेको बताए ।नेता केसीले मुलुकको आर्थिक स्थिति कमजोर हुँदा देशमा बाबुआमाको शवले सन्तान कुर्नुपर्ने बाध्यतालाई प्रश्रय दिइरहेको बताए ।
’आर्थिक मन्दीले साना व्यापारी–व्यावसायीहरू शटर बन्द गर्न बाध्य भएका छन् भने ठूला व्यापारीहरू निरास छन् । छोराछोरी विदेशिएको कारणले गाउँ यति सुनसान भईसक्यो कि गाउँको उत्पादनशीलताको कुरै छोडौं, बाबुआमाको शवले सन्तानलाई कुर्नुपर्ने भईसक्यो,’ उनले भने, ’लगानी–उत्पादन–निर्यात–रोजगारी आर्थिक विकासका यी चार आधारभूत पक्षमा मुलुक एकदमै कमजोर अवस्थामा भएको परिसूचक र तथ्याङ्कमा छर्लङ्ग छ । यस्तो बेला सरकारले काम देखाउन सकेको छैन ।’
उनले महाभ्रष्टाचारका मुद्दाहरूमा सिथिलता आउन थालेको बताए ।
’मुद्दा कमजोर बनाएर अदालत पु¥याएको, अपराधीहरूलाई माफी दिने लर्को चलेको, भ्रष्टाचारका मूख्य दोषीलाई उन्मुक्तिको मार्ग प्रशस्त गर्ने गतिविधिले राज्यमा दण्डहिनतालाई बढावा दिएको र जनतामा आक्रोश बढाएको अवस्था छ, ’ उनले भने, ’भ्रष्टाचार छानविनमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा र अदालतका एकजना न्याायाधीशलाई भ्रष्टाचारको मुद्दामा थुनाको आदेश दिएकै कारणले अन्यत्रै सरुवा गरिएको जस्ता कामले सरकारप्रति जनस्तरमा आक्रोश छ ।’