काठमाडौँ – नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिनेगरी यमलाल कँडेल पक्षधरले प्यानल उम्मेदवारी दिने तयारी गरेका छन् ।स्रोतका अनुसार, आइतबार साँझ कँडेलकै निवासमा भएको प्रतिनिधिहरुको भेलाले गुलाबजंग शाहलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ ।
प्रदेश अध्यक्षकै आकांक्षा राखिरहेका ध्रुब शाहीलाई सचिवको उम्मेदवारमा मनाएर शाहलाई अध्यक्षको उम्मेदवार बनाउने यो समूहले निर्णय गरेको छ ।उपाध्यक्षको उम्मेदवार टेकराज पछाई, दुई उपसचिवको उम्मेदवार रवीन्द्र शर्मा र कौशिला परियार वा बानसिं खत्री उम्मेदवार बन्नेछन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समय असन्तुष्ट बनेका कँडेलले अलग्गै प्यानल बनाएपछि अरु आकांक्षीहरुले पनि समूहको छलफल अगाडि बढाएको ती स्रोत बताउँछन् ।
कर्णालीको अध्यक्षमा प्रदेश उपाध्यक्ष लालबहादुर महतारा, योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाहीले पनि आकांक्षा राखेका छन् । यी मध्ये शाही उम्मेदवार बन्ने लगभग पक्का देखिएकाले कँडेल पक्षधरले अलग समूह तयार पारेको बताइएको छ । कँडेलइतर पक्षलाई भने अर्का नेता गोरखबहादुर बोगटीले साथ दिएका छन् ।