काठमाडौँ, चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए । दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् । सो क्रममा दाहालले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए ।
उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण पूर्णरूपमा सफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलका सदस्य आचार्यले चीनको छन्दुमा शुक्रबार यो भ्रमणले दुई देशका बीचमा आपसी विश्वास र सद्भाव वृद्धि भएको बताए ।
यस भ्रमणका क्रममा जारी भएको संयुक्त प्रेस वक्तव्यका साथै त्यसको अघिल्लो दिन दुई देशबीच भएका विभिन्न १३ ओटा सम्झौता र समझदारी नेपालको विकासका लागि कोशेढुङ्गा सवित हुने उनको भनाइ थियो ।
उनले भने– “जुन विश्वास र आपसी समझदारीका साथ यो भ्रमण सम्पन्न भएको छ, यसले दुई देश बीचको सम्बन्धका नयाँ आयामहरू सिर्जना गरेको छ र यस भ्रमणका क्रममा भएका सहमति र समझदारीका विषयहरू नेपालको हित र विकासमा सहयोगसिद्ध हुने कुरा आगामी दिनले नै देखाउनेछ ।”
सल्लाहकार आचार्यले प्रधानमन्त्रीको भ्रमणलाई चीनका राष्ट्रपतिले महत्त्व दिएर प्राथमिकतामा राखेको आफूले पाएको बताए । प्रधानमन्त्री प्रचण्डसँग र नेपाली प्रतिनिधिमण्डलसँग राष्ट्रपति चिनफिङले गरेको कुराकानी र वार्ताका लागि दिएको समयले पनि यो कुरालाई पुष्टि गर्ने आचार्यको भनाइ थियो ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग पनि महत्त्वपूर्ण रूपमा द्विपक्षीय कुराकानी भएको बताउँदै आचार्यले सो द्विपक्षीय भेटवार्ता दुई देशको सम्बन्धमा थप विश्वास र समझदारीको विकास गर्न सहयोगी रहेको टिप्पणी गरे ।
यो भेटले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको आफूले महसुस गरेको पनि उनले जानकारी दिए । उनले भने, “यो भ्रमणबाट दुई देशबीचको सम्बन्ध र समझदारी नयाँ उचाइमा पुगेको छ, बुझाइमा एकरूपता कायम भएको छ र आगामी दिनमा यसको परिणाम मुलुकको हितमा रामै्रसँग देखिनेछ ।”
प्रधानमन्त्री दाहालसँगको द्विपक्षीय वार्तापछि भएका सम्झौताहरूका साथै भूकम्पपछि तथा कोभिडका समयमा बन्द भएका नाकाहरू खोल्ने सहमतिले दुई देशका सीमा क्षेत्रका नागरिकका मात्र नभएर देशकै व्यावसायिक रूपमा आयात निर्यातका समस्याहरू पनि समाधान भएर जाने उनको भनाइ छ ।
प्रधानमन्त्रीले तिब्बतको भ्रमण गर्नु र त्यहाँका नेताहरूसँग आपसी भेटघाट गर्नु भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो । नेपालसँगका प्रायः नाकाहरू तिब्बतसँग नै जोडिने र नेपाल तिब्बत व्यापार ऐतिहासिक रहेकाले प्रधानमन्त्री त्यहाँ पुग्नुभएको बताउँदै सल्लाहकार आचार्यले कैलाश मानसरोवर नै पुगेर त्यहाँ आउने हिन्दु तीर्थयात्री एवं अन्य पर्यटकको सम्भावनाका बारेमा पनि अध्ययन गरिएको बताए ।

















