spot_img

जातीय र धार्मिक सद्भाव बिथोल्न बाह्य तत्त सक्रियःसामाजिक सदभाव बिग्रँदा राष्ट्रिय सुरक्षामै चुनौती

spot_img

काठमाडाैँ,जातीय सद्भाव र धार्मिक सहिष्णुतामा उदाहरणीय रहँदै आएको नेपाली समाजमा पछिल्लो समय एक्कासि अतिवादी घटनाहरू बढ्न थालेका छन् । कतिपय घटना योजनाबद्ध र सुनियोजित भएकाले यो देशको राष्ट्रिय सुरक्षाका लागि दीर्घकालीन चुनौती हुने सुरक्षा निकायको विश्लेषण छ ।

कोशी प्रदेशको नामाकरणलाई लिएर सुरु भएको जात र धर्मको विषयमा भएका हिंसाका घटना पछिल्लो समय तराईंका जिल्लामा पनि बढ्न थालेका छन् । यस्ता घटनाको कारण पत्ता लगाएर तत्काल नियन्त्रण नगरे शान्ति सुरक्षामा दीर्घकालसम्म असर पर्न सक्ने सुरक्षाविद्हरू बताउँछन् । तराईका जिल्लाहरूमा पछिल्लो समय धार्मिक सद्भाव बिथोलिन थालेको छ । मंगलबार दुई समुदायबीच झडप हुने अवस्था आएपछि नेपालगन्जमा कर्फ्यु लगाइएको छ ।

सुरक्षा निकायको विश्लेषण प्रतिवेदनअनुसार सबैभन्दा संवेदनशील अवस्था कोशी प्रदेशमा छ, जहाँ प्रदेशको नामाकरणको विषयलाई लिएर हिंसा सुरु भएकोमा भदौ पहिलो साता धरानमा तनाव बढ्दा प्रशासनले निषोधाज्ञा नै लगाउनुपरेको थियो । कोशीमा आगामी दिनमा जातीय राजनीति अझै बढ्न सक्ने सुरक्षा निकायको विश्लेषण छ । केही समूहले ‘मुक्ति वा मृत्यु’ भनेर सशस्त्र दस्ता बनाएर तालिम दिन थालेका सुरक्षा निकायहरूको प्रतिवेदनमा उल्लेख छ । ‘यही अवस्था रहे आगामी चुनावले कोशी प्रदेशलाई हिंसातर्फ धकेल्न सक्छ,’ एक उच्च सैनिक अधिकारीले भने ।

मधेश र लुम्बिनी प्रदेशका जिल्लामा पनि सद्भाव बिग्रँदै गएको छ । मुस्लिम र हिन्दूबीच शृंखलाबद्ध रूपमा झडपका घटना हुन थालेका छन् । विगतमा पनि वेलावेला विवाद तथा झडपका घटना हुनेमा त्यस्ता घटना एक–दुई दिनसम्म मात्र कायम हुन्थ्यो । पछिल्लो घटना अलि फरक किसिमको र प्रायोजित देखिएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । सर्लाहीको घटना करिब एक सातासम्म चल्यो । जिल्ला प्रशासनले चार दिन मलगंवामा कर्फ्युलगाउनुपरेको थियो । मंगलबार नेपालगन्जमा पनि त्यस्तै अवस्था आएको छ । अन्य केही जिल्लामा पनि अतिवादीहरू सक्रिय भएका छन् ।

गृह मन्त्रालयलाई सुरक्षा निकायले बुझाएको प्रतिवेदनअनुसार तराईका जिल्लामा कतिपय नेता तथा प्रभावशाली व्यक्तिलाई नै धार्मिक हिंसा भड्काउन प्रयोग गर्ने प्रयास भइरहेको छ । जसले घटना सुनियोजित हुन सक्ने आकलन गरिएको छ । कतिपय जिल्लामा वडावडामा धार्मिक संगठनसमेत बन्न थालेका छन् । विभिन्न धर्मका नाममा विदेशबाट पैसा आइरहने र राज्यसंयन्त्र कमजोर हुँदा धर्म प्रचारका घटना पनि खुलेआम भइरहेका छन् । यस्तो अवस्थामा कतिपय धार्मिक अगुवाहरूसमेत उत्तेजक भाषण गरेर सद्भाव बिथोल्न सक्रिय भएका छन् । केही व्यक्ति योजनाबद्ध रूपमै यस्ता गतिविधिमा लागेपछि गृह मन्त्रालयले उनीहरूलाई कारबाहीको निर्देशन दिएको छ । सद्भाव बिथोल्न खोज्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले बताए । ‘पछिल्ला घटनाप्रति गृह मन्त्रालय संवेदनशील छ,’ उनले भने, ‘सामाजिक सद्भावका लागि सबैको सहयोग आवश्यक छ, सद्भाव बिग्रिँदा कसैलाई पनि फाइदा छैन ।’

सुरक्षा निकायका प्रमुखहरूले जातीय र धार्मिक सद्भाव गम्भीर अवस्थामा पुगेको उच्च तहमा ब्रिफिङ गर्दै आएका छन् । गत ४ असोजमा संसद्को राज्यव्यवस्था समितिमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले जातीय र धार्मिक अतिवादका घटना अहिले प्रमुख सुरक्षा चुनौती बनेको विश्लेषण सुनाएका थिए । सुरक्षा प्रमुखहरूले औँल्याएअनुसार नै एकपछि अर्काे जिल्लामा हिंसाका घटना हुन थालेका छन् । एउटा समूह अर्को समुदायका चाडपर्व बहिष्कार गर्ने अभियानमा संगठित रूपमा लागेका छन् ।

सुरक्षा निकायको ब्रिफिङपछि पछिल्लो समय धार्मिक सद्भावका लागि गृह मन्त्रालयले केही पहल थालेको छ । मन्त्रालयले धार्मिक अगुवाहरूलाई बोलाएर छलफल गर्नुका साथै प्रदेशहरूमा यससँग सम्बन्धित सुरक्षा गोष्ठी सुरु गरेको छ । गत साता कोशी प्रदेशमा गोष्ठी भएको थियो । बुधबार मधेश प्रदेशमा हुँदै छ । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख गणेश अधिकारी यस्ता घटनाको समाधान राजनीतिक रूपमै खोज्नुपर्ने बताउँछन् । ‘अहिले देखिएका केही घटनाक्रमलाई राजनीतिक तहबाटै सौहार्दतापूर्वक समाधान खोजिनुपर्छ,’ उनी भन्छन्, ‘यो विषय राष्ट्रिय सुरक्षासँग पनि प्रत्यक्ष जोडिएको हुन्छ । राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितसँगै सम्बन्धित विषयमा बाह्य पक्षको चासो र संलग्नता भयो भने त्यसको असर दीर्घकालसम्म रहन्छ र राष्ट्रिय सुरक्षा व्यवस्थापनमा चुनौती थपिन्छ ।’

नेपाल प्रहरीका पूर्वएआइजी बमबहादुर भण्डारी यस्ता घटनाको मूल कारण पत्ता लगाएर समाधान नखोजिए दीर्घकालसम्म असर पर्न सक्ने जोखिम देख्छन् । ‘सरकारले यस्ता घटना रोक्न रणनीति र योजना नै बनाएर अघि बढ्नुपर्छ । यस्ता घटनाका कारण के हो खोजेर दीर्घकालीन समाधान खोजिएन भने जोखिमपूर्ण हुन्छ,’ उनी भन्छन्, ‘यस्ता घटनामा देशभित्र, देशबाहिर तथा अन्तर्राष्ट्रिय अनेक कारण हुन सक्छन् । भविष्यमा यस्ता घटना रोक्न जरा पत्ता लगाएर नीतिगत रूपमै पहलकदमी लिनुपर्छ ।’ सरकारले गम्भीर भएर कदम नचाल्ने र प्रमुख दलहरू यस्ता विषयमा एक ठाउँमा नउभिएमा देशमा शान्ति सुरक्षा थप संवेदनशील बन्ने सुरक्षाविद्हरूको चिन्ता छ ।

सामाजिक सञ्जालमा हिंसा भड्काउने गतिविधि
सामाजिक सद्भाव बिग्रँदै जाँदा सामाजिक सञ्जालमा फैलने गलत सूचनाले झनै जोखिम बढाएको छ । मंगलबार नेपालगन्जमा भएको झडपको घटनाको विषयमा सामाजिक सञ्जालमा भ्रमपूर्ण र अर्काे समुदायलाई आक्रोसित बनाउने सामग्रीहरू सम्प्रेषण भएका छन् । तर, नेपालमा सामाजिक सञ्जाललाई नियम गर्ने संयन्त्र र बलियो कानुन अझै बन्न सकेको छैन । नेपालगन्जको घटना केही जनप्रतिनिधिको सामाजिक सञ्जालमा आक्षेपपूर्ण अभिव्यक्तिबाट सुरु भएको प्रहरी अधिकारीहरू बताउँछन् । केही महिनायता जातीय हिंसामा रहेको छिमेकी देश भारतको मणिपुरमा भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा फैलिँदा हिंसा झनै बढेको थियो । जसकारण त्यहाँ सरकारले इन्टरनेट सेवा नै बन्द गर्दै आएको छ ।

नेपालमा पनि कतिपयले नियोजित रूपमा सामाजिक सञ्जालमार्फत अर्काे समुदायमाथि आरोप लगाउने र भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्दा पनि कारबाही हुन सकेको छैन । यस्तो अवस्थामा सामाजिक सञ्जालमा गलत सूचना छिटो फैलने र त्यसले शान्तिसुरक्षामा झन् चुनौती थप्न सक्ने भएकाले नियमन आवश्यक भएको नेपाल प्रहरीका पूर्वडिआइजी राजीव सुब्बा बताउँछन् । ‘विभिन्न देशले गलत सूचना नियन्त्रण गर्ने संयन्त्र बनाइसकेका छन्,’ उनी भन्छन्, ‘अभिव्यक्तिको स्वतन्त्रतामा हनन नहुने गरी हाम्रोमा पनि सामाजिक सञ्जालमाथि नियमन गर्न ढिलाइ गर्नुहुन्न ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमनसम्बन्धी कार्यविधि बनाए पनि त्यसलाई कार्यान्वयनमा लैजान सकेको छैन । सूचना प्रविधिसम्बन्धी ऐन विवादका कारण अल्झँदै आएको छ ।

नेपालगन्जमा कर्फ्यु
बाँके–नेपालगन्जमा अनिश्चितकालका लागि कर्फ्युजारी गरिएको छ । हिन्दू र मुस्लिमबीच झडप भई अप्रिय घटना हुने सम्भावना बढेपछि बाँके प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्युआदेश जारी गरेको हो । हिन्दू र मुस्लिमबीच झडप भई अप्रिय घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गरी बाँके प्रशासनले अनिश्चितकालका लागि कर्फ्युजारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार पूर्वमा राप्ती नदी पुल, दक्षिणमा जमुनाहा नाका, उत्तरमा राँझा चोक र पश्चिममा इन्द्रगाउँ जाने बाटोसम्म कुनै भेला, सभा, सम्मेलन र प्रदर्शन गर्न निषेध गरिएको छ । स्थितिलाई नियन्त्रण गर्न कठिनाइ भएपछि प्रशासनले नेपाली सेनासमेत परिचालन गरेको छ ।

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ
धरान–हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट आचार्य श्रीनिवास भनेर चिनिने दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीमाथि अनुसन्धान भइरहेको भन्दै थप विषय खुलाउन भने चाहेन । आचार्यले केही दिनअघि धनुषाको एउटा कार्यक्रममा धार्मिक तथा सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको र उनीविरुद्ध उजुरी परेकाले पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img