काठमाडौं, काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ ।कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ ।
कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार तयार भइसकेको छ ।कामपा वडानम्बर १ को सत्यसाई केन्द्र नक्साल, ७ को मैजुवहाल, ८ को जयवागेश्वरी, ९ को गौशाला, १४ को गणेश मन्दिरसँगै कुलेश्वर, १९ को कंकेश्वरी, २६ को लैनचौरस्थित वडा कार्यालय र ३० को ज्ञानेश्वरबाट सेवा दिएको छ ।
ती केन्द्रको सेवा थप गरी सर्वसाधारणलाई समेत उपचार सेवा दिने भएको छ । ती केन्द्रलाई केही दिनपछि उद्घाटन गर्ने कार्यक्रम रहेको सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।कामपा जनस्वास्थ्य विभागका निर्देशक रामप्रसाद पौडेलले महानगरवासीलाई निःशुल्क सेवा दिन स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिए ।
केन्द्रहरू सञ्चालन भएपछि निजी अस्पतालमा बिरामीको चाप घट्ने अपेक्षा कामपाको छ । विभागीय निर्देशक पौडेलले कार्यालय आधुनिक स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्न लागिएको बताए ।अाजकाे नेपाल समाचारपत्र दैनिकमा खवर छ ।