काठमाडाैँ,लुम्बिनीबाट सुरु भएको प्रदेश अधिवेशन बागमती हुँदै कर्णाली, कोशी र गण्डकीसहित पाँचवटा प्रदेशमा सम्पन्न हुँदा अध्यक्ष ओलीको सहमतिको निर्देशन अस्वीकार्य देखिएको छ । ओलीको निर्देशनलाई चुनौती दिँदै प्यानल निर्माणमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीकै नेताहरू प्रत्यक्ष संलग्न भएका छन् । तर, ओलीले भनेजस्तै उनीहरू कारबाहीको दायरामा भने आएका छैनन् ।
एमालेभित्र नीति, कार्यदिशा र ओलीको नेतृत्वबारे विवाद नभए पनि आ–आफ्नो वर्चस्व स्थापित गर्न प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरू होडबाजीमा उत्रिएका छन् । आफ्नो प्यानल जिताउन खुलैरै लागेका छन् । प्रदेश अधिवेशनमा देखिएको समूहगत राजनीतिको असर एमालेको आन्तरिक जीवनमा र आसन्न महाधिवेशनमा देखिने पार्टी नेताहरूकै बुझाइ छ ।
केपी ओली, अध्यक्ष
प्रतिस्पर्धाभन्दा सहमति बढी महत्वपूर्ण हो । त्यसैले मैले नीति, विधि र कार्यदिशामा कुनै असहमति नभएकाले अझ उन्नतस्तरको लोकतान्त्रिक अभ्यासबाट अधिवेशन सम्पन्न गर्न जोड दिएको हुँ ।
प्रदेश अधिवेशनमा पराजित अध्यक्षसहित पदाधिकारीका उम्मेदवारले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङदेखि स्थायी समिति हुँदै केन्द्रीय तहसम्मका नेताहरूमाथि प्रदेशहरूमा तलैसम्म उपगुट बनाएर प्यानल बनाएको र आन्तरिक प्रतिस्पर्धालाई खुम्च्याउन खोजेको आरोप लगाएका छन् । ओलीको स्पष्ट निर्देशन हुँदाहुँदै उनकै नाममा नेताहरूले गुटबन्दी गरेको प्रतिस्पर्धीको आरोप छ ।
‘अधिवेशनमा तटस्थ रहनुपर्ने पदाधिकारी तहका नेताहरू अध्यक्षको नाम लिएर जसरी एकपक्षीय भूमिकामा देखिनुभयो, त्यसले आगामी दिनमा समस्या पैदा हुन्छ,’ बागमती प्रदेशको नवनिर्वाचित नेतृत्वको शपथ कार्यक्रममा अध्यक्ष ओलीको सामुन्ने प्रदेश अध्यक्षमा पराजित उम्मेदवार कृष्णप्रसाद दाहालले बिहीबार भने, ‘यसले आन्तरिक लोकन्त्रको अभ्यास र प्रणालीमाथिको विश्वास घटाउँछ, त्यसैले यस्ता कमजोरीहरू तत्काल सच्याइयोस् ।’
पार्टी महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल, बागमतीबाट प्रतिनिधित्व गर्ने कतिपय स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरू नै आफूलाई हराउन लागेको दाहालको आरोप छ । आफूलाई मत नहाल्न जिल्ला इन्चार्ज र अध्यक्षहरूलाई ती नेताले निर्देशन गरी हराइएको नेताहरूलाई भेटेरै उनले गुनासोसमेत गरेका छन् ।
दाहालले महासचिव पोखरेलसहितका पदाधिकारी तहका नेताहरूलाई भेटेर अध्यक्ष र महासचिवको नाम मुछेर प्यानल बनाइएको र स्वस्थ प्रतिस्पर्धा गर्न नदिइएकाले आगामी दिनमा सच्याउन ध्यानाकर्षण गराएका छन् । उनले आन्तरिक लोकतन्त्रले पार्टी कार्यकर्ता र जनतालाई मजबुद बनाउने भन्दै स्वस्थ र मर्यादित बनाउन नेतृत्वले उचित भूमिका खेल्नुपर्नेसमेत बताए ।
बागमतीमा कैलाश ढुंगेलले ६९६ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका थिए । पदाधिकारीमध्ये उपाध्यक्ष दावादोर्जे लामा र उपसचिव प्रेम महर्जन ढुंगेल प्यानलबाट तथा सचिव नवराज सिलवाल र उपसचिव भक्तकुमारी लामा दाहाल प्यानलबाट निर्वाचित भएका थिए ।
ओलीले भने आफूले चुनावी प्रतिस्पर्धाभन्दा आपसी सहमति र एकता उन्नतस्तरको लोकतान्त्रिक प्रक्रिया भएकाले त्यसमा जोड दिएको, तर प्रतिस्पर्धा भए पनि सबै कुरा बिर्सिएर पार्टीलाई मजबुद बनाउने दिशामा सबै लाग्नुपर्ने बताएका छन् । ‘प्रतिस्पर्धाभन्दा सहमति बढी महत्वपूर्ण हो । त्यसैले मैले नीति, विधि र कार्यदिशामा कुनै असहमति नभएकाले अझ उन्नतस्तरको लोकतान्त्रिक अभ्यासबाट अधिवेशन सम्पन्न गर्न जोड दिएको हुँ,’ बिहीबार ओलीले एक कार्यक्रममा भने ।
मंगलबार सम्पन्न कोशी प्रदेशको अधिवेशनबाट पराजित अध्यक्षको उम्मेदवार विनोद ढकालले पनि अध्यक्ष ओलीको नाम दुरुपयोग गरेर स्थायी समिति र केन्द्रीय तहका नेताहरूले आफूलाई घेराबन्दी गरी हराएको आरोप लगाएका छन् । बुधबार शपथग्रहण कार्यक्रममा समेत बोल्न नदिइएको आरोप लगाएर बिहीबार विराटनगरमा अलग्गै पत्रकार सम्मेलन गरेका ढकालले सत्ताको दुरुपयोग गरेर अध्यक्षलाई बदनाम गर्ने गरी नेताहरूकै कारण निर्वाचनको निष्पक्षता माथिसमेत प्रश्न उठेको बताएका छन् ।
‘हालै सम्पन्न कोशी प्रदेशको प्रथम अधिवेशनमा पार्टीको मूल सिद्धान्त र पार्टी विधानको भावनाविपरीत केन्द्रीय नेताहरूले अमूक उम्मेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उम्मेदवारलाई तिरस्कार गरेको व्यवहार खुलमखुला देखियो,’ ढकालले विज्ञप्तिमा भनेका छन्, ‘पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यहरूले नै खुलेआम रूपमा अमूक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रूपमा लागेका मात्र होइन, आफूखुसी गरिरहेको त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारबाजी गर्नसमेत भ्याउनुभयो ।’
अध्यक्ष ओलीलाई नै विवादमा तानिएकोप्रति उनले असन्तुष्टिसमेत जनाएका छन् । ‘उहाँहरूको त्यस्तो व्यवहारबाट पार्टी अध्यक्षजस्तो संस्थालाई विवादमा पार्ने काम भएको छ भने पार्टीभित्रको प्रतिस्पर्धालाई अस्वस्थ र दबाबमूलक बनाएको छ । के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो ? के पार्टी अध्यक्षको नजरमा कोही कार्यकर्ता नजिक र कोही टाढाको हुन सक्छ ?’ उनको प्रश्न छ ।
निर्वाचनको वेला आफूलाई सहयोग गर्ने कार्यकर्तालाई विभेदमा पारिए चुप नलाग्ने चेतावनीसमेत उनले दिएका छन् । ‘आगामी दिनमा उहाँहरूप्रति कुनै भेदभाव वा आग्रह नराखी कामको जिम्मेवारी दिन र पार्टी काममा उहाँहरूको योगदानको सदुपयोग गर्न नेतृत्वसमक्ष आग्रह पनि गर्दछु,’ ढकालले भनेका छन्, ‘त्यस्तो व्यवहार भएमा विभेदमा परेका नेता–कार्यकर्ताको संरक्षणका लागि मैले नैतिक रूपमा आवाज उठाउनुपर्ने हुन्छ । जसले मलाई सहयोग ग¥यो, उसलाई मैले प्रतिरक्षा गर्नुपर्छ । चुनावमा कसले भोट दियो, दिएन भनेर कार्यकर्तालाई विभेदमा पार्न खोजिन्छ भने म चुप लागेर बस्दिनँ है भनेर भनेको छु ।’
बुधबार विराटनगरमा आयोजित शपथ कार्यक्रममा ओलीले कोशी प्रदेशको निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि नै प्रश्न उठाउँदै निर्वाचन आयोगले गरिमा राख्न नसकेकोमा असन्तुष्टि पोखेका थिए । ‘यस्तो पनि निर्वाचन समिति हुन्छ । अब आइन्दा यस्तो समिति नबनाउनुस् । निर्वाचन समिति न्यायाधीशजस्तो हुनुपर्छ । यता पनि नढल्किने उता पनि नढल्किने’ ओलीले भनेका थिए, ‘यहाँको निर्वाचन नजिकबाट हेरेको छु, सुनेको छु । मान्छेले केके बोले थाहा पाएको छु । यसरी निर्वाचन हुन्छ ? तथापि निर्वाचन सम्पन्न भयो । निर्वाचन समितिलाई धन्यवाद दिन्छु । अब आइन्दा निर्वाचन समितिले यस्तो काम नगरोस् र यस्तो समिति पनि नबनोस् ।’
कोशीमा घनश्याम खतिवडा ५१२ मत प्राप्त गरी विजयी भएका थिए भने ढकाल ४३० मत ल्याएर पराजित भएका थिए । दुई प्यानल प्रतिस्पर्धामा अन्य पदाधिकारी खतिवडा पक्षबाटै निर्वाचित भएका थिए । स्थायी समिति सदस्यहरू शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्कीलगायतले अध्यक्ष ओलीको नाम लिएर आधिकारिक प्यानललाई मत दिन निर्देशन दिएर आफूलाई स्वस्थ प्रतिस्पर्धा गर्न नदिएको ढकालको आरोप छ ।
त्यसो त, कर्णालीमा पनि नेताहरूको नाममा अलगअलग प्यानल बनेको थियो । स्थायी समिति सदस्य यामलाल कँडेल पक्षका गुलाबजंग शाह ३ सय ६९ मत मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी मीनबहादुर शाहीले २ सय ७ मत ल्याएका थिए । उनी गोरखबहादुर बोगटी पक्षका उम्मेदवार थिए । भदौ तेस्रो साता लुम्बिनीमा
सम्पन्न अधिवेशनमा भने महासचिव पोखरेलनिकट हरि रिजाललाई २ मतले हराउँदै उपाध्यक्ष विष्णु पौडेलनिकट राधाकृष्ण कँडेल अध्यक्षमा विजयी भएका थिए । गण्डकी अधिवेशनमा उपमहासचिव पृथ्बीसुब्बा गुरुङनिकट नवराज शर्मासहितको प्यानल विजयी भएको छ । निर्वाचनमा स्थायी समिति सदस्य खगराज अधिकारीनिकट मायानाथ अधिकारीको प्यानल प्रतिस्पर्धामा थियो ।
अध्यक्ष ओलीले अधिवेशनमा सर्वसम्मति हुन नसके प्यानल प्रतिस्पर्धा नगर्न कडाइका साथ निर्देशन दिए पनि अध्यक्षका उम्मेदवारहरूले प्रतिनिधिहरूको बढी मत तानेर जित सुनिश्चित गर्न ‘प्यानल प्रतिस्पर्धा’कै अभ्यास गरेपछि नेतृत्वको निर्देशन उल्लंघन भएको हो ।
स्थायी समिति सदस्य तथा प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले पार्टीभित्र नीति, सिद्धान्त, कार्यदिशा र नेतृत्वका सन्दर्भमा अलग विचार समूह नभएकाले नेतृत्वका आकांक्षीहरू सँगै बसेर अधिकतम सहमतिको वातावरण बनाएर उच्चतम लोकतान्त्रिक विधिको अभ्यास गर्न आग्रह गरेको बताए । उनले आन्तरिक कुरालाई अहिले अनावश्यक रूपमा अध्यक्ष ओलीविरूद्ध ‘न्यारिटिभ’ बनाउने प्रयास भएको बताए ।
‘सहमति नभएपछि निर्वाचनबाटै नेतृत्वको टुंगो लगाउनुपर्ने हुन्छ । त्यस्तो वेला जसलाई साथ लिँदा जित्न सहज हुन्छ, प्रतिस्पर्धीले उसकै साथ लिएर जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेपछि प्रतिस्पर्धीले परिणाम त मान्नैपर्छ । त्यसैले अध्यक्षलाई अनावश्यक रूपमा जोडेर कसैले पनि अनावश्यक प्रचार गर्नुको तुक छैन,’ गौतमले भने, ‘सर्वसम्मत हुँदा नेतृत्वले हस्तक्षेप गरेको हुने, स्वस्थ प्रतिस्पर्धा गर्दा गर्न दिइएन भनेर दोष दिने प्रवृत्ति बेठीक छ ।’ उनले चुनाव भएका स्थानमा कोही नेताले अनावश्यक रूपमा हस्तक्षेप नगरेको दाबी पनि गरे ।
‘मिल्दा लोकतन्त्रको अभ्यास नभएको भन्ने हुँदैन । मिल्नु सबैभन्दा ठूलो लोकतन्त्रको अभ्यास हो,’ ८ असोजमा बागमतीको अधिवेशन उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ, लड्नुुस्, लड्न दिनुस् । तर, प्यानल बनाइएको थाहा भयो भने प्यानलको सिंगै उम्मेदवारी पनि खारेज हुन सक्छ ।’
उनले पार्टीलाई तलसम्म दुई भागमा विभाजन नगर्नसमेत कडाइका साथ निर्देशन दिएका थिए । ‘प्यानलमा होइन, व्यक्ति लड्छ । प्यानलाइज गर्ने र दुई भागमा विभाजन गर्ने खालका काम कसैले पनि नगरौँ, बन्द गर्नुस्,’ ओलीको भनाइ थियो । अध्यक्ष ओलीले प्यानल बनाए कारबाही गर्ने चेतावनी दिए पनि एमाले अधिवेशनमा सबैतिर उल्लंघन भएको छ । बागमती प्रदेश अधिवेशनमा पार्टी नेताहरू नै कार्यालयमा बसेर सूची बनाउन व्यस्त रहेको भिडियो नै बाहिरिएको थियो । त्यति हुँदाहुँदै पनि एमालेले प्यानल प्रतिस्पर्धाबारे छानबिन गरेको छैन ।
प्रदेश अधिवेशनहरूमा अध्यक्षका उम्मेदवारले प्यानलै बनाएर प्रतिस्पर्धा गरे पनि एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशब बडालले भने २÷४ जनाले फाट्टफुट्ट आफू जित्ने रणनीतिका अध्यक्षलाई जोडेर प्रचार गरेको बताए । प्यानलै अभ्यास भने नभएको उनको भनाइ छ । नयाँ पत्रिकामा खवर छ।