काठमाडौँ — इजरायलमा रहेका नेपालीहरूले आफूहरू उद्धारको पर्खाइमा रहेको बताएका छन् । गैरआवासीय नेपाली संघका पदाधिकारीहरूले सम्पर्क गरेर उद्धारका पहल भइरहेकाले जानकारी दिएकाले आफूहरू प्रतीक्षामा रहेको विद्यार्थी नारायण भुसालले जानकारी दिए ।
उद्धारको पर्खाइमा इजरायलका नेपाली
‘हामी अब तेल अभिभ जाँदै छौं‚’ इजरायलबाट भर्खरै कान्तिपुरसँग कुरा गर्दै नेपाली विद्यार्थी भुसालले भने, ‘एनआरएनएका दाइहरूले तयारी अवस्थामा बस्नुस् भन्नुभएको छ, कतै सुरक्षित ठाउँमा लैजाने आशा छ ।’
कामका लागि नेपालबाट गएको ४९ जना युवाको समूहमध्येका एक भुसालका अनुसार अहिले उद्धारको पर्खाइमा उनीलगायत ११ नेपाली एक ठाँउमा जम्मा भएका छन् ।हमासको आक्रमण हुँदा आफूहरु रातभर बंकरमा बसेर ज्यान जोगाएको उनले बताए ।‘दुई दिनसम्म चाउचाउ र चिउरा खाएर बसियो, खानाचाहिँ अझै पाएको छैन,’ भुसालले भने, ‘हामी मसरुम फार्ममा काम गर्दै थिइन्, उता किबुज फार्ममा आक्रमण भयो ।’
इजरायलमा अहिले पनि हमासको आक्रमण जारी रहेको भुसालले बताए ।‘हामी एघार जनाचाहिँ अहिले खतरा मुक्त अवस्थामा छौं‚’ उनले भने, ‘अन्य क्षेत्रमा चाहिँ आक्रमण अहिले पनि भइरहेको छ ।’ आक्रमणमा मारिएका १० नेपालीहरू आफूसँगै आएका साथी भएको भुसालले बताए ।