spot_img

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमाःप्रधानमन्त्री दाहाल भन्छन्,कूटनीतिक ठुलाे सफलता हो

spot_img

– नेपालको मुख्य एजेन्डा शान्ति प्रक्रिया
– गुटेरेसको प्राथमिकता जलवायु परिवर्तन
– प्रधानमन्त्री प्रचण्डसँग आज भेटवार्ता
– मंगलबार संसद्लाई सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणमा आइतबार राती नेपाल आएका छन् । करिब १५ वर्षपछि नेपालमा राष्ट्रसंघका महासचिवको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

महासचिव गुटेरेसलाई नेपालले विदेशी सरकार प्रमुखको कूटनीतिक हैसियत दिएको छ । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । महासचिव गुटेरेसले भ्रमणका क्रमममा जलवायु परिवर्तन र यसले नेपालजस्ता मुलुकलाई पारेको असरलाई प्राथमिकतामा राखेका छन् ।

महासचिव गुटेरेसले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची छ ।

महासचिव गुटेरेसको भ्रमणका क्रममा नेपालको पहिलो प्राथमिकतामा भने शान्ति प्रक्रिया सम्पन्न गर्न राष्ट्रसंघको सद्भावको एजेन्डा छ । महासचिवसँग जलवायु परिवर्तनको विषय अहिलेका लागि नेपालको दोस्रो प्राथमिकतामा छ । महासचिव गुटेरेसको भ्रमणका विषयमा राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा नेपालको शान्ति प्रक्रिया उल्लेख छैन, केवल जलवायु परिवर्तन उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले शान्ति प्रक्रिया टुंग्याउन नेपालले महासचिव गुटेरेससँग सहयोग र सहजीकरणको अपेक्षा राखेको बताए । ‘शान्ति प्रक्रियाको सुरुको चरण (सेना समायोजनलगायत)मा संयुक्त राष्ट्रसंघले अनमिनमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको हो । अब शान्ति प्रक्रिया टुंग्याउने हाम्रो प्रयासमा पनि साथ होस् र सहजीकरण होस् भन्ने हाम्रो अपेक्षा हो,’ गजुरेलले नयाँ पत्रिकासँग भने ।

नेपालले शान्ति स्थापक मिसनमा नेपाली सेनाको संख्या दोस्रो ठूलो रहेको र महिलाको संख्या पहिलो रहेकोतर्फ ध्यानाकर्षण गर्दै नेतृत्वदायी पदमा नेपालको अपेक्षा सुनाउने तयारी गरेको छ । हाल विश्वका १२ वटा शान्ति स्थापक मिसनमा नेपाली सेनासहित सुरक्षाकर्मीको संख्या ६ हजार ६२ छ । जसमध्ये महिला सुरक्षाकर्मीहरूको संख्या पाँच सय ८६ छ । महासचिव गुटेरेसको भ्रमणमा प्रधानसेनापति प्रभुराम शर्मा सहभागी हुनेछैनन् । उनी शुक्रबार चीनको औपचारिक भ्रमणमा गएका छन् ।

युएईको दुबईमा नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २८)को पूर्वतयारीको पहिलो भ्रमणका क्रममा महासचिव गुटेरेसको नेपाल भ्रमण भएको राष्ट्रसंघले जनाएको छ । ‘यो नेपाललाई ऐक्यबद्धता जनाउने भ्रमण हो, जो अहिले अति कम विकसित मुलुकहरूको ग्लोबल कोअर्डिनेसन ब्युरोको वर्तमान अध्यक्ष हो,’ महासचिवका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा छ, ‘यी देशहरूले जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूको असमान असर भोग्दै आएका छन् । यसबाट उनीहरूलाई अतिरिक्त आर्थिक र सामाजिक धक्का पु¥याएको छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण हिमालयमा परेको असरबारे सोलुखुम्बुमा स्थलगत जानकारी लिनेछन् । उनले प्रभावित समुदायसँग संक्षिप्त अन्तत्र्रिmया पनि गर्ने कार्यक्रम छ । उनी गौतम बुद्धको जन्मस्थान लुम्बिनी तथा पोखरा पनि जाने कार्यक्रम छ ।

महासचिव गुटेरेसको प्रतिनिधिमण्डलमा राष्ट्रसंघको शान्ति अप्रेसनसम्बन्धी उपमहासचिव जिन पिर्रे, नेपालका लागि राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डी तथा अन्य उच्च अधिकारी हुनेछन् । उनको सुरक्षाको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ । सन् २०१७ जनवरी १ मा महासचिव भएका गुटेरेसको महासचिवका रूपमा यो पहिलो नेपाल भ्रमण हो । यद्यपि, उनी यसअघि भिन्न हैसियतमा नेपाल आइसकेका छन् ।

महासचिवले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउदसँग आइतबार भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेसले मंगलबार (३१ अक्टोबर)मा प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । आजभन्दा १५ वर्षअघि संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनले पनि नेपालको संविधानसभालाई सम्बोधन गरेका थिए । उनले सन् २००८ अक्टोबर अन्तिममा नेपालको औपचारिक भ्रमण गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भएको दिनदेखि राजनीतिक सहमति बनाउने प्रयास गरिरहेको बताएका छन् । नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले दलहरुको बीचमा विस्तारै राजनीतिक सहमति बन्दै गइरहेको बताए ।

‘प्रमुख दलहरुको बीचमा सहमति बनाउने प्रयास भइरहेको छ, त्यसको नतिजा चाँडै बाहिर आउँछ’ उनले भने । शान्ति प्रकृया लगायतका विषयमा पनि दलहरुको बीचमा सहमति भइरहेको बताउँदै उनले सोही सहमतिको प्रयासस्वरुप संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण हुन लागेको बताए ।

उनले भने– ‘यो बीचमा मैले अन्तर्राष्ट्रिय भ्रमण पनि गरेको छु, भारत, चीन र अमेरिकाको भ्रमण गरेर मैले जुन कूटनीतिक पहल गरे त्यसैको परिणामस्वरुप महासचिव गुटरेस तीन दिने भ्रमणका लागि आउँदै हुनुहुन्छ, उहाँले जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्नुहुन्छ, शान्ति प्रकृया र नेपालको आर्थिक विकासको लक्ष्य बारेपनि सम्बोधन गर्नुहुन्छ ।’

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस फर्केपछि कतारका राजा पनि भ्रमणमा आउन लागेको प्रधानमन्त्री प्रचण्डले जानकारी गराए । यी सबै कुटनीतिक सफलताको परिणाम रहेको उनले बताए । यी भ्रमणहरुले नेपालको प्रतिष्ठा बढाउनेमा आफूले विश्वास लिएको पनि उनले बताए ।

यस्तो छ भ्रमण तालिका
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक वार्ता गर्नेछन् । आइतबार नै उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यसूची छ ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग संसद् भवन नयाँ बानेश्वरमा भेट गर्ने कार्यसूची छ । भेटवार्तापछि उनी पाटन दरबार क्षेत्रको अवलोकनमा जानेछन् ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज दिनेछन् । महासचिव सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् ।

मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार उनी नेपालबाट लन्डन जानेछन्, जहाँ उनले एआई सेफ्टी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img