काठमाडौं,अवैध रक्तचन्दन र पुरातात्विक महत्वको त्रिकोण मुद्रासहित ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
ललितपुर उपमहानगरपालिका १७ बाफल एरियाबाट रक्तचन्दन काठको टुक्रा(२ थान र पुरातात्विक महत्वको त्रिकोण आकारको मुद्रासहित पक्राउ गरिएको परिसरले जानकारी दिएको छ। उक्त मुद्रामा १३१८ मोरू १ लेखिएको देखिन्छ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगडी ८ ढाँडखोलाका २८ वर्षीय राज कुमार भन्ने हरी बहादुर मोक्तान, नुवाकोटको लिखु २ थाङचिङका ३१ वर्षीय प्रेम कुमार डंगोल छन्। यस्तै सिन्धुलीकै पिपलमाडे ३ खुर्सानीबारीका ५० वर्षीय टीकाराम तामाङ, झापा जिल्ला मेचीनगर ५ धुलाबारीका २४ वर्षीय सोबित आचार्य पनि पक्राउ परेका छन्। यसैगरी, धादिङको निलकण्ठ १०का २१ वर्षीय शंकर ढाउन्याँ र धादिङकै गजुरीका २७ वर्षीय सुमन बस्नेत छन्।
पक्राउ परेकामध्ये टिकाराम, प्रेमबहादुर, हरिबहादुर र सोवितलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको छ। शंकर र सुमन बस्नेतमाथि भने पुरातात्विक वस्तुको बेचबिखन तथा संग्रह गरेको देखोएकाले प्राचीन स्मारक ऐन बमोजिम कारबाहीका लागि प्रक्रिया अघि बढाइएको परिसरले जानकारी दिएको छ।