– एक आफन्त गुमाएको परिवारलाई दुई लाख र एकभन्दा बढी सदस्य गुमाएको परिवारलाई थप प्रतिमृतक एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गर्दै संघीय सरकारले जाजरकोट र रुकुम पश्चिममा पठाएको थियो १० करोड
– रुकुम पश्चिममा भने ४१ मृतकका २६ परिवारलाई ६७ लाख वितरण
– १७ कात्तिकको भूकम्पमा जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो
संघीय सरकारले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिमृतक दुई लाखका दरले राहत दिन जाजरकोट र रुकुम पश्चिममा १० करोड पठाएको छ । तर, जाजरकोटका पीडित परिवारलाई अझै राहत बाँडिएको छैन । १७ कात्तिकको भूकम्पमा परी जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो ।
१९ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले परिवारमा एकजना मात्र मृतक रहेकालाई प्रतिमृतक दुई लाख र एकै परिवारका एकजनाभन्दा बढी मृतक रहेकाको हकमा एकजनाको दुई लाख तथा अन्यको एक–एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै जिल्ला विपत् व्यवस्थापन समितिको खातामा रकम निकासा गरिएको थियो । तर, दुई साता हुन लाग्दा पनि जाजरकोटमा राहत रकम वितरण थालिएको छैन । रुकुम पश्चिममा भने ६७ लाख वितरण गरिएको छ ।
ल्यापटपमा समस्या आउँदा ढिलाइ भएको हो, चाँडै वितरण गर्छौँ ः हरिश्चन्द्र शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, जाजरकोट
तिहारअघि नै वितरण गर्ने तयारी गरेका थियौँ, तर हाम्रो कार्यालयका ल्यापटपमा भूकम्पले क्षति पुग्दा बैंकिङ सिस्टमको पासवर्डमा समस्या आयो, त्यसैले राहत वितरणमा ढिलाइ भएको हो । पासवर्ड रिकभर हुने चरणमा छ, अब चाँडै वितरण सुरु गर्छौँ ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले आवश्यक कागजात मिलाउन तथा बैंक खातामा प्राविधिक रूपमा समस्या आउँदा राहत वितरणमा ढिलाइ भएको बताए । ‘तिहारअघि नै वितरण गर्ने तयारी गरेका थियौँ, तर हाम्रो कार्यालयका ल्यापटपमा भूकम्पले क्षति पुग्दा बैंकिङ सिस्टमको पासवर्डमा समस्या आयो, त्यसैले राहत वितरणमा ढिलाइ भएको हो,’ उनले भने, ‘पासवर्ड रिकभर हुने चरणमा छ, अब चाँडै वितरण सुरु गर्छौँ ।’
स्थानीय तहबाट मृत्यु दर्ता, प्रहरी मुचुल्का, कानुनी हकवाला व्यक्तिलगायतका कागजात आउनसमेत समय लागेको सहायक सिडिओ शर्माको भनाइ छ ।
स्थानीय सरकारले भने मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराएका छन् । नलगाड नगरपालिकाले ५५ जना मृतकका परिवारलाई प्रतिमृतक १० हजारसहित खाद्यान्न सामग्री उपलब्ध गराएको मेयर डम्बरबहादुर रावतले बताए । कुशे गाउँपालिकाले पनि गाउँपालिकामा भूकम्पका कारण ज्यान गुमाएका सातजनाका परिवारलाई १० हजार रुपैयाँ किरिया खर्च र खाद्य तथा गैरखाद्य सामग्रीहरू पनि राहतस्वरूप प्रदान गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
रुकुम पश्चिममा भने ४१ जना मृतकका परिवारलाई नगद राहत वितरण गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहेका सिडिओ हरिप्रसाद पन्तका अनुसार सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबिसकोट नगरपालिकाका ३१ मृतकका २० घरपरिवारलाई ५१ लाख गरेर जम्मा ६७ लाख नगद राहत रकम वितरण गरिएको छ ।
सिडिओ पन्तका अनुसार जिल्लामा कागजात मिलाउन बाँकी १२ मृतकका नौ घरपरिवारलाई नगद रकम वितरण गर्न बाँकी छ । यसमा पाँचजना जिल्लाबाहिरका छन् । जिल्लाबाहिरकाको हकमा कागजात पुगेपछि सम्बन्धित जिल्लामै राहत पठाइने उनले बताए ।