spot_img

भुकम्प पिडितकाे जनजिवन कष्टकर बन्दैःराहतकाे नाममा त्रिपाल र कम्मल मात्रै,चिसोले ५ काे मृत्यु,विरामीकाे चाप उच्च

spot_img

एक परिवारका लागि एउटा त्रिपाल र एउटा कम्बल मात्र दिइएको छ, त्यसले रातभरिको शीत र सिरेटो छल्न सक्दैन, सबैजसो बस्तीमा कम्तीमा १५–२० बिरामी छन्, स्थानीय अस्पतालमा बिरामीको चाप उच्च छ
मंसिर २, २०८०कृष्णप्रसाद गौतम, विप्लव महर्जन, महेश केसी

सुर्खेत, सल्यान, रुकुम पश्चिम — भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण मृत्यु भएको छ । शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा वृद्धवृद्धा छन् ।

चिसोले सातामै ५ भूकम्पपीडितको मृत्यु
भूकम्पले घर भत्किएपछि त्रिपाल टाँगेर बसेका सल्यानको दार्मा गाउँपालिका–२ लिरापाजाका टेकबहादुर केसीको परिवार । चिसोले केसीकी श्रीमतीलाई रुघाखोकी र तीन छोराछोरीमा निमोनियाको समस्या देखिएको छ । तस्बिर ः विप्लव महर्जन÷कान्तिपुर

जाजरकोटस्थित बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट–१ रामीडाँडाका ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको हो । भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको बुधबार मृत्यु भएको हो भने गत शुक्रबार नलगाड नगरपालिका–४ लहास्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

पछिल्लो समय ज्यान गुमाएका तीनै जना दमका बिरामी थिए । ‘एक त दमका बिरामी, त्यसमा एकसरो त्रिपालको बसाइले उनीहरूको स्वास्थ्य अवस्था बिग्रिएको रहेछ,’ बारेकोट गाउँपालिकास्थित आधारभूत अस्पताल लिम्साका डा. राहित मिश्रले भने, ‘अत्यधिक चिसो थेग्न नसक्दा उहाँहरूको ज्यान गयो ।’ उनका अनुसार भूकम्पपीडितहरू रुघाखोकी, ज्वरो, पखालालगायत स्वास्थ्य समस्याबाट पीडित भएका छन् । दैनिक करिब डेढ सय बिरामी अस्पतालमा आउने गरेको उनले जानकारी दिए ।

‘चिसोका कारण फोक्सो र मुटुका बिरामीलाई बढी समस्या देखिएको छ,’ उनले भने, ‘भूकम्पका कारण घरभित्रै औषधि पुरिएपछि कतिपय दीर्घरोगीले औषधिलाई निरन्तरता दिन सकेका छैनन्, जसले गर्दा उनीहरूलाई छिटो चिसोले असर ग¥यो ।’ चिसोका कारण गाउँगाउँमा भूकम्पपीडितहरू थलिन थालेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । उनका अनुसार एकसरो राहत तथा लुगाको भरमा रहेका भूकम्पपीडित चिसोका कारण बिरामी पर्न थालेका हुन् । पालिकामार्फत प्रतिपरिवार वितरण गरिएको एक÷एक थान त्रिपाल र कम्बलकै भरमा भएपछि अत्यधिक चिसो थेग्न नसक्दा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको उनले बताए । पालिकाभरि झन्डै ४ हजार ३ सय घर भत्किएकामा सबैजसो परिवारमा कुनै न कुनै स्वास्थ्य समस्या नभएका मानिस भेट्टाउनै मुस्किल भएको बताए । ‘त्रिपालैपिच्छे बिरामी छन्,’ उनले भने, ‘आइतबारदेखि उपचारका लागि प्रत्येक वडामा दुई जना स्वास्थ्यकर्मी खटाउने निर्णय गरेका छौं ।’

सबैभन्दा बढी क्षति पुगेको नलगाडमा चिसोले अधिकांश भूकम्पपीडितमा विभिन्न स्वास्थ्य समस्या देखिरहेको नगर प्रमुख डम्बरबहादुर रावतले बताए । ‘अहिलेसम्म एउटा परिवारका लागि एउटा त्रिपाल र एउटा कम्बल मात्र दिन सकेका छौं, त्यसले रातभरि चुहिने शीत र सिरेठो छल्न नसक्दा स्वास्थ्य समस्या बढिरहेको छ,’ उनले भने, ‘सबैजसो बस्तीमा कम्तीमा १५÷२० जना बिरामी छन्, नगर अस्पतालमा पनि बिरामीको चाप उच्च छ ।’ नलगाड नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण झाडापखाला, ज्वरो, रुघा बढी छ भने चिसोले मुटुरोगी, दमका बिरामी बढिरहेको बताए । उनका अनुसार अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेका छन् ।

भेरी नगरपालिका प्रमुख चन्द्रप्रसाद घर्तीले पनि गर्भवती, महिला, ज्येष्ठ नागरिक लगायतमा निमोनिया, ज्वरो, रुघाखोकीजस्ता स्वास्थ्य समस्या देखिरहेको बताए । थाहै नपाई वृद्धवृद्धा र बालबच्चामा अत्यधिक असर गरिरहेको छ । उनीहरूलाई जोगाउन आगो बालेर ताप्नेबाहेक अन्य विकल्प पीडितहरूसँग छैन । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी झलकी राणालाई हिजोआज नयाँ काम थपिएको छ, हरेक बिहान त्रिपाल छेउमा आगो बाल्ने र तीनमहिने छोरीलाई सेकेर चिसोबाट बचाउने ।

कात्तिक १७ को भूकम्पपछि घर भत्केर भेरी नदीछेउमा त्रिपालको अस्थायी आवासमा बस्न थालेकी झलकीलाई एउटै चिन्ता छ, बढ्दो चिसोले छोरी बिरामी पर्ली कि भन्ने । किनकि, उनले गाउँका कैयन् भूकम्पपीडितका स–साना केटाकेटीहरू बिरामी परेको देखिसकेकी छन् । ‘हाम्रो जीवनकालमा यति ठूलो दुःख कहिल्यै परेको थिएन,’ उनले भनिन्, ‘आफ्नो ज्यान त जोगाउला तर नाबालक छोरीको पनि सास राख्न गाह्रो भयो ।’ सल्यानको भूकम्प प्रभावित दार्मा गाउँपालिका–२ लिरापाजाका २३ वर्षीय टेकबहादुर केसीका पाँच जनाको परिवार भूकम्पमा घर भत्किएको दिनदेखि नै त्रिपाल टाँगेर बस्दै आएका छन् । चिसोले गर्दा उनका तीन बच्चामा निमोनियाको समस्या देखिएको छ । उनकी २२ वर्षीया श्रीमती सीता रुघाखोकी र ज्वरोले थलिएकी छन् ।

दार्मा गाउँपालिका–५ लिरेडाँडाकी १९ वर्षीया विन्दु खड्का सुत्केरी भएको १९ दिन भयो । शुक्रबारदेखि त्रिपालमुनिको बास हुँदा उनलाई पनि ज्वरो र रुघाखोकीको समस्या देखिएको छ । विन्दुकी सानी छोरीलाई समेत स्वाँस्वाँ बढेको छ । भूकम्पपीडित अधिकांशको परिवारका कोही न कोही सदस्य बिरामी छन् । बालबालिका, दीर्घरोगी र सुत्केरीमा स्वास्थ्य समस्या बढी देखिन्छ । भालुखोलाकी २३ वर्षीया तीनमहिने सुत्केरी पुष्पा केसी पनि ज्वरोले थलिएकी छन् भने उनको तीनमहिने बच्चालाई निमोनियाले सताएको छ ।

दार्मा गाउँपालिकामा मात्रै ४ सय सुत्केरी र ४ सय ३७ जना बालबालिका भूकम्पबाट प्रभावित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । ‘यीमध्ये अधिकांश सुत्केरीमा ज्वरोको समस्या र बालबालिकामा निमोनिया देखिएको छ,’ उनले भने, ‘तीन दिनमा स्वास्थ्य संस्थामा ७० भन्दा बढी बालबालिकालाई उपचारका लागि ल्याइएकामा अधिकांशमा निमोनिया देखियो ।’

बछेलाका ५० वर्षीय वीरबहादुर खड्काले एक सातायताको त्रिपालमुनिको बासका कारण परिवारका १२ मध्ये ४ छोराछोरी बिरामी परेको बताए । ‘दुईलाई ज्वरो र दुईलाई निमोनिया देखिएको छ,’ उनले भने । परिवारका अरू सदस्यमध्ये सबैजसोलाई रुघाखोकीले सताएको उनले बताए । ‘भूकम्पले घर भत्किँदा भएका लत्ताकपडा सबै घरमा पुरिएका छन्,’ उनले भने, ‘भित्र पसेर निकाल्न सक्ने अवस्था छैन । गतिलो ओढ्ने÷ओछ्याउने छैन । त्रिपाल टाँगे पनि राति परेको शीतले ओढेका कपडा सबै भिजेका हुन्छन् ।’ उनले न्याना कपडाको अभावमा बिहान उठ्दा हातखुट्टाका जोर्नी पूरै दुख्ने बताउँदै चिसोले नै सबैलाई बिरामी पारेको बताए ।

दार्मा गाउँपालिका–५ भालुखोलाकै ३ महिने सुत्केरी २३ वर्षीया पुष्पा केसीले त्रिपाल टाँगेर बस्नुपर्दा चिसोले तीन दिनदेखि लगातार टाउको दुख्ने मात्र नभई शरीर सुन्निन थालेको र बच्चालाई खोकीको समस्या देखिएको बताइन् । उनले शरीर सुन्निएकाले कामकाज गर्न गाह्रो हुने गरेको बताइन् । ‘त्रिपाल टाँगेर के गर्नु, हावा छिर्छ । चिसो त्यत्तिकै बढेको छ,’ उनले भनिन्, ‘२४ सै घण्टा आगो बाल्न सकिँदैन ।’

भालुखोलाकै वर्ष २० की दुईमहिने सुत्केरी नविना खड्काले आफ्नो बच्चामा पनि निमोनियाको समस्या देखिएको बताइन् । ‘बच्चा बिरामी परेपछि रातभरि रुन्छ, सुत्दैन, नसुत्दा आफूलाई पनि समस्या देखिएको छ,’ उनले भनिन् । गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले चिसोबाट जोगाउन विभिन्न निकायले उपलब्ध गराएको कम्मल, त्रिपाल उपलब्ध गराइरहेको र पछिल्लो समयमा चिसोबाट बचाउनका लागि अस्थायी टहरासमेत निर्माण गर्न थालिएको बताए । उनले कतिपय बिरामीको घरसम्मै स्वास्थ्यकर्मी खटाउन थालिएको बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार अहिलेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा २ सय पूर्णसहित १ हजार ९० घरमा क्षति भएको छ । दार्मा गाउँपालिकामा मात्र ९ सय बढीका घर बस्नै नमिल्ने गरी भत्किएका छन् । जसका कारण दार्मामा मात्र २ हजार ४ सय विस्थापित भएका छन् । विस्थापित भएका सबै त्रिपाल टाँगेर बस्न बाध्य छन् ।

भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबिसकोट नगरपालिका बिहीबार चेकजाँचका लागि आएका २२ जनामध्ये १० मा ज्वरो, ८ मा खोकी, २ मा ज्वरोसहित डाबर र २ मा ज्वरोसहितको खोकी देखियो । जसमध्ये ५ वर्षमुनिका मात्रै ७ जना छन् । घर भत्किएपछि खुला आकाशमुनि त्रिपाल टाँगेर बस्न बाध्य भएका भूकम्पपीडितहरूमा बढ्दो चिसोका कारण स्वास्थ्य समस्या देखिन लागेको आठबिसकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमप्रकाश रोकायले जानकारी दिए । चिसोका कारण रुघाखोकीको संक्रमण बढेको भन्दै उनले यसका साथै दीर्घरोगी र ज्येष्ठ नागरिकहरूमा श्वासप्रश्वासको समस्या पनि देखिन थालेको बताए । ‘प्रभावित क्षेत्रहरूबाट हामीले जनस्वास्थ्यको अवस्थाबारे दैनिक जानकारी लिइरहेका छौं,’ उनले भने ।

सानीभेरी–१ का आइते पुनले आफूलाई चिसोले धेरै सताएर ज्वरो आएकाले अस्पताल पुगेर उपचार गरिरहेको बताए । ‘खुला ठाउँमा खाना पकाउनुपर्छ । हावाहुरीले गर्दा खाना सफा नै छैन,’ उनले भने, ‘यसैले होला म बिरामी परेको । म मात्रै होइन, बच्चाबच्ची र महिलाहरूलाई बेसी समस्या भएको छ ।’

रुकुम पश्चिममा भूकम्पका कारण २५ हजार ८ सय ३६ घरधुरी प्रभावित भएका छन् भने ९ हजार ४ सय ६८ घरधुरी विस्थापित भएका छन् । भूकम्प गएको दुई साता बित्न लागिसक्दा पनि पीडितहरूले राहतका नाममा त्रिपाल, केही न्याना ओढ्ने÷ओछ्याउने र खाद्यान्न सामग्री मात्रै पाउन सकेको बताएका छन् । सरकारी राहत पुग्दो नभएकाले आफूहरू बिरामी पर्न थालेको भूकम्पपीडितहरूले गुनासो गरिरहेका छन् । ‘मुस्किलले एउटा त्रिपाल र केही थान कपडा अनि दालचामल पाएका छौं,’ आठबिसकोट–१० का चन्द्रबहादुर विकले भने, ‘यसैलाई तानतुन पारेर दिन काट्नुपरेको छ । बाँकी सबै भगवान् भरोसा ।’

अभावका बीचबाट दैनिकी गुजार्नुपरेका कारण सर्वसाधारणको स्वास्थ्य सुरक्षा पुग्दो नभएको आठबिसकोटमा स्वास्थ्य शाखा प्रमुख रोकायले बताए । भूकम्पपीडितहरूको स्वास्थ्य सुरक्षामा बेलैमा तदारुकता नदेखाउने हो भने समस्या बढ्ने उनले बताए । ‘खुला आकाशमुनि समय गुजारिरहेका पीडितहरूको स्वास्थ्य सुरक्षाको तयारी नै सुरु गर्नु जरुरी छ,’ उनले भने, ‘स्वास्थ्य सचेतनाका साथै आवश्यक प्राविधिक तयारीका लागि सरोकारवाला सबैले बेलैमा ध्यान दिन जरुरी छ ।’कान्तिपुरमा खवर छ।

spot_img
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img