काठमाडौं,उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले बिहीबार अत्यावश्यक अवस्था मात्र सवारीसाधन लिएर निस्किन अनुरोध गरेका छन् ।नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले ७ मंसिर (बिहीबार) एउटै समयमा शक्ति प्रदर्शन गर्ने घोषणा गरेकाले उपत्यकाको सवारी आवागमनमा असहजता सिर्जना हुने भन्दै उनले अत्यावश्यक अवस्थामा मात्रै सवारीसाधन लिएर निस्किन भनेका छन् । ‘५ सय, हजार जना एकैपटक सडकमा निस्किँदा बाटो पूरै जाम हुन्छ, डाइभर्सन गर्नुपर्ने हुन्छ’, पोखरेलले अनलाइनखबरसँग भने, ‘दुई पक्षले ठाउँ ठाउँमा भेला, जम्मा भएर कार्यक्रम स्थलतर्फ जाने भनेको हुँदा नागरिकलाई सहज होस् भनेर अत्यावश्यक अवस्थामा मात्र निस्किन अनुरोध गरेका हौं ।’
सडकमा निस्किँदा समस्या नहोस् भनेर निकिस्नुपूर्व १०० वा १०३ मा फोन गरेर जानकारी लिन समेत सकिने उनले बताए ।‘ट्राफिक एफएम ९५.५ मा पनि भोलिलाई लक्षित गरेर १०, १० मिनेटमा अपडेट दिने गरी तयारी गरेका छौं’, उनले भने, ‘आवश्यकता अनुसार ट्राफिक प्रहरीले सवारीसाधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्नसक्ने भएकाले ट्राफिक प्रहरीलाई सहयोग गरिदिनु होला ।’
महेश बस्नेत र दुर्गा प्रसाईंको आन्दोलनले काठमाडौँका विद्यालय प्रभावित
ट्राफिक अवस्था हेरेर विद्यालय खोल्न प्याब्सनको आग्रह छ। एमाले नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको आन्दोलनले गर्दा भोलि (बिहीबार) काठमाडौँ उपत्यकाका विद्यालय प्रभावित हुने भएको छ।
दुबै समूहले एकैदिन काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेपछि ट्राफिक जामले गर्दा विद्यालय प्रभावित हुने भएको हो। ट्राफिक जामले गर्दा विद्यार्थी विद्यालय आउन नसक्ने भएपछि निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन)ले अवस्था हेरेर विद्यालय खोल्न आग्रह गरेको छ।
प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले ट्राफिक जामले प्रभावित हुने वा नहुने अवस्था हेरी विद्यालय खोल्न आग्रह गरेका छन्। ‘हामीले विद्यालय खोल्न वा बन्द गर्न भनेका छैनौँ,’ उनले भने, ‘गाडीमा आउने विद्यार्थीहरुलाई सहज भए विद्यालय खोल्न र सहज नभए विद्यालय बन्द गर्न भनेका छौँ।’
यसैगरी प्याब्सनले कुनै पनि पक्षको प्रदर्शनमा सहभागी नहुन विद्यार्थीलाई आग्रह गरेको छ। प्रदर्शनमा विषम परिस्थिति सिर्जना हुन सक्ने भन्दै विद्यार्थीहरुलाई प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको हो। एमालेले सरकारको कार्यशैलीविरुद्ध, भ्रष्टाचारविरुद्ध तीनकुने क्षेत्रमा प्रदर्शन गर्दैछ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजवादीहरुले बल्खुमा प्रदर्शन गर्दैछ।
दुई समूहको प्रदर्शनले काठमाडौँमा ट्राफिक जाम हुने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अतिआवश्यक परेमात्र घरबाहिर निस्कन आग्रह गरेको छ। ट्राफिक जाम भयो भने गाडीलाई जुनकुनै रुटबाट पनि पठाउने सकिने भन्दै ट्राफिक कार्यालयले घरबाट निस्कँदा अवस्था बुझेर वा १००, १०३ मा फोन गर्न पनि आग्रह गरेको छ।