काठमाडौं,बितेको १० वर्षमा यसरी विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकको संख्या डरलाग्दो देखिन्छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक भन्छ– २०७० को दशकमा मात्र १० हजार नेपाली श्रमिकको परदेशमा ज्यान गयो । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार २०७० देखि २०८० सम्म ९ हजार ६५२ जना श्रमिकको मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डका निर्देशक तथा प्रवक्ता टीकाराम ढकाल भन्छन्, ‘यो हामीकहाँ आइपुगेको संख्या मात्र हो । अवैध रूपमा विदेशिएर मृत्यु वा बेपत्ता हुनेको संख्या झन् कति होला ?’ यसरी रोजगारीका क्रममा परदेशमा ज्यान गुमाउने श्रमिकको संख्या घट्ने कुनै संकेत देखिंदैन । बरु यो संख्या हरेक वर्ष बढ्दै गएको बोर्डकै तथ्यांकले बताउँछ ।
यस अनुसार आर्थिक वर्ष २०७०÷७१ मा ७७७, २०७१÷७२ मा १००६, २०७२÷७३ मा ८२३, २०७३÷७४ मा ७५८, २०७४÷७५ मा ८२३ जनाको मृत्यु भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ७६३, २०७६÷७७ मा ६७२, २०७७÷७८ मा १२४३, २०७८÷७९ मा १४७९, २०७९÷८० मा १,२०८ जनाको मृत्यु भएको छ । यो तथ्यांकले दैनिक ४ जना र वार्षिक एक हजार श्रमिकले परदेशमा ज्यान गुमाइरहेको देखाउँछ ।
यसरी हरेक वर्ष मृत्युवरण गर्नेमा बढीजसो खाडी मुलुकतर्फ दुबई, साउदी अरेबिया, कतार, जोर्डन, बहराइन र ओमान छन् । त्यस्तै मलेशियामा पनि ज्यान गुमाउनेको संख्या उत्तिकै छ ।
वैदेशिक रोजगारीमा गएर श्रमिकहरूले मृत्युवरण गर्नुमा कारण एउटा मात्रै छैन । गत वर्षकै तथ्यांक हेर्ने हो भने पनि परदेशमा विभिन्न कारण नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ ।
२०६५ देखि २०७९ सम्मको तथ्यांक हेर्दा विदेशमा नेपाली श्रमिकहरूले विभिन्न कारण ज्यान गुमाएको देखिन्छ । हृदयघातबाट २ हजार २५८, प्राकृतिक मृत्युबाट २ हजार २३२, विभिन्न रोगहरूबाट १ हजार ४९५, सडक दुर्घटनाबाट १ हजार ४४०, आत्महत्याबाट १ हजार २८३, कार्यस्थल दुर्घटनाबाट ७७८ जना श्रमिकको मृत्यु भएको छ । त्यस बाहेक हत्या र अन्य विभिन्न कारणले मृत्यु हुने गरेको देखिन्छ ।
यसरी परदेशमा मृत्युवरण गरेका श्रमिकको परिवारलाई बोर्डले ७ लाख क्षतिपूर्ति दिंदै आएको छ । ‘श्रम स्वीकृति अवधिभित्र मृत्यु भएमा ७ लाख दिंदै आएका छौं’ बोर्ड निर्देशक ढकालले भने, ‘श्रम स्वीकृतिको अवधि सकिएको हकमा २५ हजार क्षतिपूर्ति दिंदै आएका छौं ।’ अनलाइन खवरबाट