काठमाडौँ,माओवादी केन्द्रले कोप सम्मेलनअघि बाबुराम नेतृत्वको नेसपासँग पार्टी एकता अगाडि नबढ्ने भएको छ । मङ्सिर ६ गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी धारसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो ।
बैठकले पार्टी एकताका लागि अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको छ । तर माओवादीले नेसपाको निर्णयलाई स्वागत गर्दै छिट्टै पार्टीको बैठक बसेर निर्णय लिने बताएको थियो । प्रधानमन्त्री प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारीमा छन् । उनी कोप सम्मेलनबाट फर्किएपछि एकता प्रक्रिया अगाडि बढ्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
‘कोप सम्मेलनअघि एकता प्रक्रिया अगाडि बढाउने सम्भावना छैन । प्रधानमन्त्रीज्यू फर्किएर आउनुभएपछि बैठक बस्ला’, उनले भने । यस्तै उपमहासचिव एवं वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले नेसपाको निर्णय पार्टी एकताका लागि सकारात्मक भएको भन्दै छिट्टै बैठक बसेर प्रक्रिया अगाडि बढाउने बताए । एकता समायोजन समिति बनाउने विषयमा बैठकले निर्णय गर्ने उनले जानकारी दिए ।
‘नेसपाको निर्णय पार्टी एकताका लागि सकारात्मक छ । समायोजन समिति बनाउने विषयमा अहिले कुनै छलफल भएको छैन । छिट्टै बैठक बसेर निर्णय गर्छ’, पोखरेलले भने ।एकतासम्बन्धी धेरै काम गर्न बाँकी रहेकाले तत्काल एकताको सम्भावना नभएको उनले बताए ।‘माओवादीको चार महिने अभियान नसकिएसम्म एकता प्रक्रियाले ठोस रूप लिने अवस्था छैन । त्यसपछि विधान सम्मेलन र विशेष महाधिवेशनले एकतासम्बन्धी विषय टुङ्ग्याउँछ’, उनले भने, ‘यद्यपि पार्टीको बैठक बसेर छिट्टै एकता समायोजन समिति बनाउनेबारे निर्णय गर्नेछ । तर तत्काल बैठक बस्ने अवस्था छैन । प्रधानमन्त्रीको कोप सम्मेलनपछि बैठक बस्छ होला ।’
मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र बाबुरामबिच भएको भेटवार्तामा दुवै पार्टीको शीर्ष नेतृत्वमा एकता समायोजन समिति बनाउने सहमति भएको थियो । मङ्सिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएससीसीसी) पक्ष राष्ट्रहरूको २८ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड जाँदैछन् ।