काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले जिल्ला अदालत काठमाडौँले आफूविरूद्ध जारी गरेको पक्राउ पुर्जीलाई गम्भीर रुपमा लिएको बताएका छन् । सोमबार अदालतले विप्लवसहित शीर्ष नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जीबारे विप्लवले यसअघि भएका सहमति पालना गर्न राज्यका सबै निकायले गम्भीर ढंगले बोध गर्नुपर्ने बताए ।यद्यपि यसविषयमा वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएको उनले प्रतिक्रिया दिएका छन् । सहमतिलाई टुंग्याउन नदिन जुन खालको षड्यन्त्र भइरहेको छ, त्यसमा राज्यका निकायहरू नपर्न उनले आग्रह गरेका छन् ।
‘सहमतिलाई टुंग्याउन नदिने जुन खालको तत्वहरूको षड्यन्त्र भइरहेको छ, त्यसमा राज्यका कुनै पनि निकाय नपरून् भन्ने हाम्रो आग्रह छ । जहाँसम्म अदालतको कुरा छ, राज्यले कानुन बनाएर निष्कर्ष नदिएसम्म अदालतले आफ्नो प्रक्रिया अगाडि बढाउँछ । त्यसलाई अन्यथा लिने कुरा आउँदैन’, अदालतले जारी गरेको पक्राउ पुर्जीबारे उनले प्रतिक्रिया दिए ।
गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्कीलगायत शीर्ष नेतालाई ३५ दिन भित्र सबुद प्रमाणसहित अदालतमा हाजिर हुन भनिएको छ ।