काठमाडौँ,रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् ।
त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय ठहर गरिएको छ । घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् । यसअघि सर्वोच्च अदालतले ८ जनालाई थुनामुक्त गर्ने आदेश दिएको थियो ।
२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।
२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो ।