spot_img

विप्लव समूहबाट मारिएका शिक्षकको अन्तिम बिदाइः पीडितले न्याए नपाए आन्दोलनको चेतावनी

spot_img

विराटनगर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नियन्त्रणमा लिएर विभत्स हत्या गरिएका मोरङको मिक्लाजुङका शिक्षक ५३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बिहीबार बिहान अन्तिम विदाई गरिएको छ ।

विप्लव समूहले बिहानै घरको काम गरिरहेका बेला घरबाटै अपहरण गरेर मिक्लाजुङ गाउँपालिका–१ स्थित बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको मंगलबार बिहान बर्बरतापूर्ण तरिकाले हत्या गरेको थियो । आफ्नै नियन्त्रणमा राखेर घाँटी रेटेर उक्त समूहले उनको निर्मम हत्या गरेको हो । घटनाको आधिकारिक रुपमा विप्लव समूहले जिम्मा लिइसकेको छ ।

श्रेष्ठको शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम भएपछि बुधबार परिवारका सदस्यले दाहसंस्कारका लागि बुझेर लगेका थिए । मिक्लाजुङ–२ स्थित मुल घरमा रातभर शव राखेर बिहीबार बिहान १० बजेतिर अन्त्येष्टि गरिएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । उक्त घरमा छोरा छत्रबहादुर परिवारसहित बस्थे । आचार्यका अनुसार मिक्लाजुङ–२ र ७ को संगमस्थल भएर बग्ने बक्राहा खोलाको घाटमा श्रेष्ठको हिन्दु संस्कारअनुसार अन्तिम विदाई गरिएको हो ।

श्रेष्ठको पार्थीव शरीरमा छोरा छत्रबहादुरले दागवत्ति दिए । उनको अन्त्येष्टिमा सयौं सर्वसाधारण, राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक अगुवा सहभागी बनेका थिए । ‘राजेन्द्र सरमाथि भएको यस्तो अमानवीय घटना गराउनेलाई राज्यले छुट दिन हुँदैन,’ श्रेष्ठको अन्तिम संस्कारमा सहभागी बनेका गाउँपालिका प्रमुख आचार्यले भने, ‘घटना हेर्दा राज्य निरिह र विप्लव समूह शक्तिसाली बनेकोजस्तो देखियो ।’

निर्मम ढंगले हत्या गरिएका शिक्षक श्रेष्ठलाई छोराले दागवत्ति दिइरहँदा मलामीका लागि भेला भएका सयौं सर्वसाधारणका आँखा रसाएका थिए । सबै भावविह्वल बनेका थिए । निक्कै बेरसम्म सन्नाटा छाएको दाहसंस्कार स्थलमा श्रेष्ठको शवलाई एकैछिनमा आगोले खाइदियो ।

अन्त्येष्टिका क्रममा श्रीमती ५३ वर्षीया धनकुमारी श्रेष्ठ र छोरा पटकपटक भक्कानिए । उनीहरु सम्हालिन सकिरहेका थिइनन् । सम्हालिन नसकेकी धनकुमारीले चितामाथि चढाएपछि पोते चुँडाएर श्रीमानको छात्तीमा राखिदिँदा माहोल निक्कै भावुक बन्यो । पोते चुँडाएर श्रीमानको मृत शरीरलाई जिम्मा दिएकी उनले सिँदुरसमेत पानीले पखालेको दृश्य निक्कै हृदयविदारक थियो ।

यो माहोलले सबैलाई स्तब्ध बनाएको गाउँपालिका अध्यक्ष आचार्यले बताए । ‘मलामी गएकाहरु सबैका आँखाबाट आँसु बगे,’ उनले भने, ‘घटना सम्झिँदा आङ् सिरिङ्ग हुन्छ ।’ सबै नेपाली जनतालाई भावविह्वल बनाउने गरी विप्लव समूहले अपराधिक योजनाका कारण शिक्षकको निर्मम ढंगले हत्या गरेको उनको भनाइ छ ।

गाउँको विकास, समाज सेवा र शिक्षा क्षेत्रको उन्नयनमा सक्रिय रहेर अहोरात्र खट्ने शिक्षकलाई विप्लव समूहले सुकारीको आरोप लगाएर हत्या गरेको स्थानीयको भनाइ छ । विप्लव समूहले घटनाको जिम्मा लिएर सार्वजनिक गरेको विज्ञप्तिमा आफ्नाविरुद्ध सुराकी गरेको र सच्चिन पटकपटक आग्रह गर्दा पनि नसच्चिएको उल्लेख छ । उसले हतियारले आक्रमण गर्न थालेपछि प्रतिकारमा शिक्षक श्रेष्ठको मृत्यु भएको दाबी गरे पनि घटनाको वास्तविकता त्यस्तो नरहेको प्रहरीले जनाएको छ ।

कुनै हतियार साथमा नभएको अवस्थामा घरबाटै निसशस्त्र रुपमा अपहरण गरेर लगेपछि आफ्नै नियन्त्रणमा राखेर उक्त समूहले उनको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । श्रेष्ठको अन्तिम विदाई तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघका केन्द्री उपमहासचिव दिनानाथ तिम्सिनाले बालबालीकालाई कखरा सिकाउने र समाजमा सधै शिक्षाको ज्योति छर्ने शिक्षकको हत्या गरेर विप्लव समूहले आफ्नो अमानवीय व्यवहार छर्लङ्ग पारेको बताए । हत्याको घटनाले नेपालका चार लाख बढी शिक्षक स्तब्ध भएको बताउँदै उनले पीडित परिवारलाई तत्काल न्याय दिन सके मात्रै राजेन्द्रकुमार श्रेष्ठप्रति सम्मान हुने उल्लेख गरे ।

श्रेष्ठ परिवारले न्याय नपाएर सबै शिक्षक मिलेर आन्दोलन गर्नुको विकल्प नरहने तिम्सिनाको भनाइ छ । ‘निर्मम तरिकाले अपराधिक समूहबाट एउटा शिक्षकको हत्या भएको छ,’ उनले भने, ‘तत्काल पीडित परिवारले न्यायको अनुभूति गर्न नपाए सबै शिक्षक एकतावद्ध भएर आन्दोलनमा जान्छौं ।’ उनले यस घटनालाई सामान्य ठानिएमा भोलिका दिनमा अन्य शिक्षक पनि विप्लव समूहको क्रुर र अपराधिक व्यवहारको सिकार बन्नुपर्ने अवस्था आउने बताए ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य गुरु बरालले कुनै पनि राजनैतिक एजेन्डाबिना आन्दोलनको नाम दिएर व्यक्ति हत्या गर्ने छुट कसैलाई नभएको बताए । हत्या जस्तो जघन्य अपराधमा संलग्न भएर विप्लव समूहले आफ्नो हिंश्रक रुप देखाएको उनको भनाइ छ । ‘लोकतान्त्रिक मुलुकमा जनतालाई कुनै पनि कुराको विरोध गर्ने अधिकार छ,’ बरालले भने, ‘तर आफ्नो काम गरेर बाहिरी कुरामा वास्तै नगर्ने शिक्षकको हत्या हुनु गम्भीर घटना हो ।’

विप्लव समूहले हिंसाको बाटोबाट तानासाही प्रवृत्ति देखाउन खोजेकोले यो सफल नहुनेभन्दै उनले उसका गलत र अपराधिक गतिविधी निस्तेज गर्न सरकार लाग्नुपर्छ । सरकारको विप्लवविरुद्धको अभियानमा साथ दिन पनि बरालले आम नागरिकलाई अपिल गरेका छन् । ‘कुनै पनि अपराधमा संलग्नलाई कारबाही गर्ने कानुन मुलुकमा छ,’ उनले भने, ‘तर एक जना निरिह र निहत्था शिक्षकले अकालमै ज्यान गुमाउनु दर्दनाक घटना हो ।’

बरालले आन्दोलनका नाममा विभिन्न षडयन्त्र गरेर जनताको हत्या गर्ने समूहलाई सबैले प्रतिकार गरेर असफल बनाउनुपर्नेमा जोड दिए । ‘यस्तो गैर राजनैतिक समूहलाई निस्तेज पार्न राज्य लागेकै छ,’ उनले भने, ‘यसमा जनताको साथ भयो भने राज्यको अभियानमा चाँडै सफलता मिल्छ र सबैले ढुक्कको सास फेर्न पाइन्छ ।’ नभए विप्लव समूह जस्तो अपराधिक गिरोहका नाममा सधैं जनता आतंकित र त्रसित भएर तथा डराएर बस्नुपर्ने अवस्था आउने नेता बरालको भनाइ छ ।

श्रद्धाञ्जली सभामा मिक्लाजुङ गाउँपालिका अध्यक्ष आचार्य, उपाध्यक्ष सरला राई, नेकपा मिक्लाजुङ अध्यक्ष नरेन्द्रप्रसाद ढुंगेल, सचिव दिनेश पौडेल, प्रदेशसभा सदस्यहरु उपेन्द्र घिमिरे, कुलप्रसाद साम्बा, प्रतिनिधिसभाका सांसस घनश्याम खतिवडा लगायत सयौंको उपस्थिति थियो । अन्नपूर्ण पाेष्टमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img