एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अभियान १३औँ दिन आइतबार ९२६ मंसिर० खोटाङ पुगेको छ । अभियानको नेतृत्व गरिरहेका ७२ वर्षीय पार्टी अध्यक्ष केपी ओलीको सक्रियता लोभलाग्दो छ । उनी दैनिक १३–१४ घन्टा खटिरहेका छन् ।
सामान्यतया नेताहरू राजनीतिक भेटघाट र कार्यक्रममा व्यस्त हुनु नौलो र अनौठो होइन । तर, दैनिक औसत सय किलोमिटर यात्रा गर्दै अध्यक्ष ओली बिहान सबेरैदेखि राति अबेरसम्म खटेका देखिन्छन् । उनीसँगै पार्टीका अन्य पदाधिकारी, स्थायी समिति सदस्यसहितका नेताहरू पनि पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘लङ मार्च’मा छन् । १३ दिनमा एक हजार तीन सय किलोमिटरभन्दा लामो यात्रा पार गरेको अभियानका क्रममा अध्यक्ष ओली दैनिक औसतमा पाँचसहित मंगलबारसम्म ६० वटाभन्दा बढी कार्यक्रममा प्रत्यक्ष सहभागी भएका छन् । यात्राका क्रममा उनले बाटोमा भेटिने स्थानीयसँग पनि साक्षात्कार गरेका छन् । पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्दा अब ओलीको बाँकी पाँच दिनको यात्रा करिब साढे पाँच सय किलोमिटरको हुनेछ ।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्व–पश्चिम यात्रामार्फत प्रमुख प्रतिपक्षीमा रहेको एमालेलाई पहिलो र बलियो शक्तिमा पुनस्र्थापित गर्न अहिले ओलीले आफ्ना सबै सामथ्र्य प्रयोग गर्न खोजेका छन् । ‘पार्टी प्रतिपक्षमा भएकाले केही न केही राष्ट्रियस्तरको सन्देशमूलक कार्यक्रम त गर्नैपर्ने हुन्थ्यो, त्यही क्रममा पार्टीलाई बलियो रूपमा पुनस्र्थापित गर्न ओलीले अहिले शारीरिक, बौद्धिक, वाचनकलालगायत सबै सामथ्र्य प्रयोग गर्न खोजेजस्तो देखिन्छ । राजावादीहरूले राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै माहोल सिर्जना खोजेका वेला त्यसलाई चिर्दै ओलीजीले स्पष्ट अडानसहित प्रस्ट अभिव्यक्ति दिएर गणतन्त्रको पक्षमा माहोल खडा गरेका छन्,’ उनले भने, ‘पछिल्ला सबै परिवर्तनको नेतृत्वका रूपमा स्वामित्व लिएर अहिले खडा गर्न खोजिएको चुनौती सामना गर्दै माहोल र भाष्य नै परिवर्तन गर्न सक्नु चानचुने कुरा होइन, यो सकारात्मक कुरा हो ।’
एमालेले अभियानको नारा ‘सम्बन्ध स्थानीय ः सन्देश राष्ट्रिय’ दिएको छ । त्यसलाई मेल खाने गरी नै ओलीको सक्रियता देखिएको पोखरेलको भनाइ छ । ‘अहिलेको सत्तागठबन्धन, नयाँ पार्टीहरूको गतिविधि हेर्दा देशको राजनीति कुनै पनि वेला कता मोडिन्छ टुंगो पनि छैन, ०८४ सम्म सहरमा कुरा मात्र गरेर बस्दा ओझेलमा पर्ने सम्भावना पनि हुन्छ, जनताले पनि परिस्थितिलाई नै हेर्ने हुन्,’ उनले भने, ‘त्यसैले केही गरेर वा बल गरेर अबको चुनावमा केही मिराकल गर्न सकिन्छ कि भन्ने लागेर पनि अभियान गरिएको हुन सक्छ । पहिले पनि एमालेले मधेस यात्रा रोज्यो, अहिले मध्यपहाडी ।’
ओलीले सबैजसो कार्यक्रममार्फत पूर्वराजालाई लोकतन्त्रविरुद्ध नलाग्न चुनौतीसहित सचेत मात्र गराएका छैनन्, सरकारको असफलता, पार्टीले अब लिने नीति, राष्ट्रियता र समृद्धिका विषयमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । त्यस्तै, पहाडको समस्या र चुनौती पहिचान गर्ने प्रयास पनि गरेका छन् । एमालेले राष्ट्रिय एकता बलियो बनाउने, सामाजिक सद्भाव बलियो बनाउने, चुनावसम्म निरन्तर मिसन ८४ अभियान चलाएर पार्टीलाई सबै क्षेत्रको समर्थन रहेको बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने, विकास र समृद्धिका चुनौती पहिचान गरी नयाँ आशा जागृत गर्नेजस्ता उद्देश्य अभियानमार्फत राखेको छ ।
ओली नेतृत्वको यात्रा खोटाङ पुगेको छ । आइतबार काभ्रेको मन्डन–देउपुर र धुलिखेल, सोमबार बिहान दोलालघाट, सिन्धुपाल्चोकको खाडीचौर हुँदै ओली नेतृत्वको टोली दोलखाको मुडे–खरीढुंगा र चरीकोट पुगेको थियो । त्यस सिलसिलामा उनलाई सिन्धुपाल्चोकमा माओवादी पोलिटब्युरो सदस्य तथा सांसद सरल सहयात्रीसहितको टोलीले स्वागत गरेको थियो । खरीढुंगामा सम्भाव्य फिल्म सिटी निर्माण र खरीढुंगा सञ्चालनको मोडलबारे सरोकारवाला, स्थानीय र राजनीतिकर्मीसँग अन्तरक्रियापछि उनले चरीकोट पुगेर आमसभालाई सम्बोधन गरेका थिए । त्यहाँ उनलाई कांग्रेस, माओवादीलगायत नेताहरूले स्वागत गरेका थिए । रामेछापको मन्थलीपछि ओली नेतृत्वको टोली सिन्धुलीको खुर्कोट हुँदै चिवाभञ्ज्याङलाई लक्ष्य बनाएर कोशी प्रदेश प्रवेश गरेको छ । सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी, ओखलढुंगाको हर्कपुर र खोटाङको दिक्तेललगायत स्थानमा आयोजित छुट्टाछुट्टै पाँचभन्दा बढी कार्यक्रममा मंगलबार ओलीले सम्बोधन गरेका छन् ।
अरू पदाधिकारी बोल्दैनन्
एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियान अध्यक्ष ओलीकेन्द्रित छ । कार्यक्रममा ओलीपत्नी राधिका शाक्यसहित पदाधिकारी तहका नेताहरू सहभागी भए पनि समयको दबाब र कार्यक्रमलाई चुस्त बनाउन सबैतिर ओलीलाई नै प्रमुख वक्ता बनाइएको छ । स्थानीयस्तरमा हुने कार्यक्रममा सम्बन्धित प्रदेशको कुनै एक प्रमुख नेताले मात्रै बोल्ने गरेका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समय र अन्य कारणले अन्य नेताले बोल्न नपाएको भन्दा पनि उनीहरूले नै पार्टी निर्णय र परिस्थितिलाई ध्यान दिएर बोल्न नमानेको बताए । ‘अन्य नेताले बोल्न नपाएको होइन, उहाँहरू नै मान्नुहुन्न, समग्रमा अध्यक्ष कमरेडकै क्रेज छ, उहाँलाई भेट्न, सुन्न चाहनेको ठूलो पंक्ति यात्रामा भेटिएको छ,’ गौतमले भने । ओलीले बाटामा देखिएका दृश्य, अनुभूति र सम्बन्धित स्थलमा प्रस्थान गर्दै गरेको सन्देशलाई छिनछिनमा सामाजिक सञ्जालबाटै अडियोभिडियो, तस्बिर र अक्षरमार्फत सूचित गर्ने गरेका छन् । प्रचारको रणनीतिक काममा उपमहासचिव विष्णु रिमाल र प्रचार विभाग प्रमुख गौतमले भित्री र बाहिरी नेतृत्व सम्हालेका छन् । प्रचार टोलीमा ओलीको भित्री घेरामा सचिवालय सामेल एउटा टोली र बाहिरी घेरामा सम्बद्ध प्रचार जनसंगठन प्रेस चौतारी नेपाल खटिएको छ । सचिवालय टोलीले ओलीको सामाजिक सञ्जाल सम्हालेको छ ।
राजनीतिक कार्यक्रमबाहेक, विकास निर्माणस्थलको अवलोकन, स्थानीय विकास, समस्या र चुनौतीबारे सर्वदलीय र सर्वपक्षीय अन्तक्र्रिया, भेटघाट, बहस तथा छलफलमा ओली सहभागी भइरहेका छन् । बेहुला–बेहुलीलाई शुभकामना, बालबालिकासँगको साक्षात्कार, मन्दिर, ऐतिहासिक पयर्टकीय स्थलनको भ्रमणलगायत पनि उनको प्राथमिकतामा परेको छ । पछिल्लो भूकम्पले क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा पुगेर उनले १९ दिन अस्थायी संरचना निर्माणमा खटिएका ११ सय स्वयंसेवकलाई धन्यवाद दिनुका साथै पीडितसँग अन्तक्र्रिया गरेका थिए । जहाँ ४० समूहमा बाँडिएका एमालेका स्वयंसेवकले १६ वटा विद्यालयको अस्थायी संरचना, आठ सयभन्दा बढी घरको अस्थायी संरचना निर्माण गरेको थियो ।
अभियानका क्रममा जिल्लाहरूमा कांग्रेस, माओवादीलगायत पार्टी, नागरिक समाज, विभिन्न पेसागत समूहले पनि ओलीलाई ज्ञापनपत्र बुझाउनेदेखि अन्तरक्रिया गर्नेसम्मको कार्यक्रम गरेका छन् । ‘जिल्ला–जिल्लामा सर्वपक्षीय र सर्वदलीय रूपमा जिल्लाको विकास निर्माणबारे ज्वलन्त छलफल र बहस भएका छन् । उद्योग वाणिज्य महासंघ, पत्रकार महासंघ, सहकारीदेखि वन, खानेपानी उपभोक्ता, आमा समूहलगायत धेरै समूह कार्यक्रममा सहभागी भएका छन्,’ गौतमले भने, ‘दुग्ध सहकारी, एक पालिका ः एक प्राविधिक शिक्षालय, करिडोर, रणनीतिक सडक, अस्पताल, जलविद्युत र सिँचाइ आयोजना, केरुङ रेल, लोकमार्गका सम्भाव्य दश ठूला सहर, सुरुङमार्ग, सामाजिक सुरक्षा कोषको परिचालन र मजदुरको हितसम्मका दर्जनौँ विषयमा छलफल र अन्तरक्रिया भएका छन्, अभियान सकिएपछि सबै विषय बाहिर ल्याउँछौँ ।’ उनले कम्तीमा एउटा जिल्लामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा र सञ्चारमाध्यम तथा सोसल मिडियामार्फत ५० हजार जनतासँग अध्यक्ष ओलीले सम्पर्क गरेको दाबी पनि गरे ।
ओलीसहित अभियान टोलीको नियमित स्वास्थ्य अनुगमन परीक्षणका लागि स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा चिकित्सकहरूको छुट्टै टोली पनि अभियानमा सामेल छ । ०७३ पनि संविधान जारी भएपछि २१ फागुनबाट एमालेले मेची–काली मधेस–तराई अभियान सञ्चालन गरेको थियो । त्यतिवेला संविधानको विशेषता बुझाएर पार्टीमाथि मधेसमा लागेको आरोप खण्डन गर्न एमालेले अभियान चलाएको थियो ।
ओलीले प्रधानमन्त्रीलाई दिए जन्मदिनको शुभकामना
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन् । संकल्प यात्राका क्रममा मंगलबार खोटाङको दिक्तेल पुगेका ओलीले साँझ प्रचण्डलाई फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन् । ‘आज रामेछाप, सिन्धुली, ओखलढुंगा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो । दिनभर व्यस्त थिएँ । साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्मदिनको शुभकामना १’ उनले फेसबुकमा लेखेका छन् । नयाँ पत्रिकामा खवर छ।