पूर्व–पश्चिम संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ। भोजपुरबाट धनकुटा जाने क्रममा उनीमाथि हातपात भएको हो।
धनकुटाको महालक्ष्मी नगरपालिका– ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले मुक्का प्रहार गरेको बताइएको छ। ओलीको स्वागतमा लाइनमा बसेकाहरूको बीचबाट आएका राईले ओलीनजिकै पुगेर मुक्का प्रहारको प्रयास गरेको सामाजिक सञ्जालमा आएको भिडियोमा देख्न सकिन्छ। एक मुक्का प्रहारको प्रयासलगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाले नियन्त्रणमा लिएका छन्।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । तर, एमाले कार्यकर्ताकै सहयोग लिएर स्वागत गर्ने लाइनमा पुगेका उनले अध्यक्ष ओलीको टाउकोमा मुड्की हान्ने प्रयास गरेका हुन् ।
‘हाम्रा साथीहरुले रोक्न खोजेका रहेछन् । तर, एमालेकै कार्यकर्ताहरुको सहयोग लिएर लाइनमा छिरेको थाहा भएको छ,’ डीआईजी बाँस्तोलाले भने । उनले आक्रमणकारी राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको जानकारी दिए ।
संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि बिहीबार आक्रमण भएको हो । मध्यपहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका महेशले ओलीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमण लगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । महालक्ष्मी–५ धनकुटाका महेश राई पहिचानवादी संघ संगठनको कुनै जिम्मेवारीमा भने नरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

















