मकवानपुर ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा निर्माण भएको मानव सेवा आश्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताउनुभएको हो ।
अब मन्दिरमा भन्दा पनि मानव सेवा आश्रमको मन्दिरमा भेटी चढाउनका लागि पनि उहाँले आग्रह गर्नुभयो । मानवता सम्वन्धी सन्देश रामजी अधिकारीबाट शुरु भएको उहाँले बताउनुभयो । मानव सेवा आश्रमका लागि पालिका, प्रदेश सरकारलाई पनि सहयोग गर्न लगाउने र सङ्घीय सरकारले पनि निरन्तर रुपमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
संविधानमै मानवताको कुरा लेखिएकोले यसको कार्यान्वयन गर्नका लागि सरकार लागिपरेको उहाँले बताउनुभयो । सरकारले गर्नुपर्ने काम मानव सेवा आश्रमले गरेकोमा आश्रम परिवार प्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । अब यो देशमा उपचार नपाएर मर्नुपर्ने अवस्था नआउने पनि उहाँले बताउनुभयो ।
सङ्घीय सरकारले सात प्रदेशका मानव सेवा आश्रमका लागि सात वटा गाडी उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाउनुभयो । संविधान सभा पछि जनता नै सार्वभौम भएकाले मानवताको क्षेत्रमा काम गरिनुपर्ने उहाँले बताउनुभयो ।
कुल १४ करोड रुपैयाँको लागतमा निर्माण भएको मानव सेवा आश्रमको केन्द्रीय भवनको आज उद्घाटन् गरिएको हो । १४ करोड रुपैयाँको लागतमा बनेको भवनमा व्यक्तिगततर्फ नौ करोड तथा संस्थागतरुपमा पाँच करोड रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मानव सेवा आश्रमका लागि थप सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो । प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गरिने उहाँले बताउनुभयो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।