मध्यपहाडी लोकमार्ग ५०० किमिजति छोट्याउने निष्कर्ष
१९ दिन लामो मध्यपहाडी संकल्प यात्रा गरेको एमालेले जनस्तरबाट आएका सुझावलाई पार्टीको मार्गदर्शन मानेर अघि बढ्ने जनाएको छ । जनताका सुझावले लोकतन्त्रको प्रभावकारिता र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा प्रभावकारी बनाउन भूमिका खेल्ने निष्कर्षसहित ती सुझाव समेटेर मार्गदर्शन–पत्र नै तयार पार्ने योजना बनाएको हो ।
‘जनस्तरबाट आएका सबै मागलाई काठमाडौं पुगिसकेपछि लिपिबद्ध गर्छौँ र त्यसका आधारमा भविष्यको कार्ययोजनाका रूपमा पार्टीले अवलम्बन गर्ने नीति, योजनाका रूपमा सामेल गर्नका लागि छलफल गर्छौँ । वास्तवमा भोलिका दिनमा लोकतन्त्रलाई कसरी प्रभावकारी बनाउने, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई कसरी प्रभावकारी ढंगले पूरा गर्ने भन्ने सन्दर्भमा जनताका बीचबाट आएका सुझाव र मागपत्रले महत्वपूर्ण आधारका रूपमा काम गर्छन् र त्यसलाई हामीले मार्गदर्शनका रूपमा प्रयोग गर्ने सोच बनाएका छौँ,’ महासचिव शंकर पोखरेलले भने ।
समृद्धिका लागि भन्दै एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म गरेको मध्यपहाडी संकल्प यात्रा आइतबार सकिएको छ । चीन र भारतको सिमाना रहेको त्रिदेशीय विन्दु चिवाभञ्ज्याङमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डोत्तोलन गरेर १९ दिने यात्रा समापन गरेपछि उनीसहित यात्रामा सहभागी नेताहरू आइतबार बेलुकी तमोर करिडोर हुँदै धरान फर्किएका छन् । उनीहरू सोमबार विराटनगर हुँदै काठमाडौं फर्किँदै छन् । अभियानको उद्घाटन अध्यक्ष ओलीले १४ मंसिरमा झुलाघाटमा गरेका थिए ।
चिवाभञ्ज्याङमा यात्रा समापन गर्दै अध्यक्ष केपी ओलीले भने–देशको राजनीति अलपत्र भएर चल्न हुँदैन । सही बाटो र निकास लिनुपर्छ । राष्ट्र र देशको समय खेर फाल्न हुँदैन । आउँदा पिँढीकोे भविष्य अन्धकारमा धकेल्न हुँदैन भन्ने निष्कर्ष निस्किएको छ । देशलाई अन्धकारबाट जोगाउन यो यात्राले असाधारण भूमिका खेलेको छ ।
एमालेले ५ पुसमा काठमाडौंमा बृहत् छलफल कार्यक्रम तय गरेको छ । ‘५ पुसमा काठमाडौंमा विशेष कार्यक्रम गर्छौँ । त्यो एक प्रकारले छलफल कार्यक्रम हुनेछ, कुनै सभा–समारोहका रूपमा होइन । हामी यात्राका निष्कर्षहरूलाई आफ्नो तरिकाबाट प्रस्तुत गर्ने काम गर्नेछौँ,’ महासचिव पोखरेलले भने ।
चिवाभञ्ज्याङमा यात्रा समापनपछि अध्यक्ष ओलीले विविधतालाई एकतामा बदल्ने र समस्या समाधानमा पु¥याउने यात्रा औपचारिक रूपमा पूरा भए पनि त्यस्तो यात्रा जारी रहने सन्देश दिएका छन् । ‘महाकाली नदीकिनारको झुलाघाटमा झन्डा फहराएर सुरु भएको हाम्रो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा झन्डा फहराएर पूरा भएको छ । यो यात्रा देशको माया गर्नेहरूलाई जोड्ने यात्रा हो, हाम्रा विविधतालाई एकतामा बदल्ने र हाम्रा समस्यालाई समाधानमा पु¥याउने यात्रा हो । औपचारिक रूपमा पूरा भए पनि यो यात्रा जारी रहन्छ,’ सामाजिक सञ्जालमा ओलीले भनेका छन् ।
अभियानका क्रममा २२ ठूला जनसभा, विभिन्न जिल्लामा सर्वदलीय तथा सर्वपक्षीय दुई दर्जन छलफल र अन्तत्र्रिmया तथा सयौँ स्थानमा स–साना समूहमा जनतासँग प्रत्यक्ष भेटघाट भएको स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । यात्राका क्रममा कम्तीमा ५० लाखभन्दा बढी जनसमुदायमा सन्देश सम्प्रेषित भएको उनको दाबी छ ।
महासचिव पोखरेलले राजनीतिक परिवर्तनप्रति वितृष्णा र अस्थिरता पैदा गर्ने, समाजलाई द्वन्द्वमा लैजाने, राजनीतिक दल र नेतृत्वप्रति अनास्था र अविश्वास पैदा गर्न खोज्ने प्रवृत्ति अभियानबाट गलत साबित भएको बताए । कमी–कमजोरीका बाबजुद पनि राजनीतिक दलहरू नै राज्यसत्तामा रहेका कमजोरी सुधारेर देशको नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देश पनि अभियानले दिएको उनको भनाइ छ ।
‘खासगरी जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा, मूलधारको राजनीतिको पक्षमा छन् र राज्यसत्तामा कमजोरी रहँदारहँदै पनि राजनीतिक दलहरूले नै सुधार गर्न सक्छन् भन्ने सन्देशलाई सहज ढंगले आत्मसात् गर्दा रहेछन् भन्ने देखाएको छ,’ महासचिव पोखरेलले भने । विभिन्न जिल्लामा कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दल र सर्वपक्षीय सम्मिलित छलफल तथा अन्तर्क्रिरयाबाट आएका सुझाव र मागले यात्रा अभियानले राष्ट्रिय अभियानको आकार लिएकोसमेत एमालेको दाबी छ ।
‘एउटा महत्वपूर्ण पक्ष के रह्यो भने आयोजक नेकपा एमाले रहँदारहँदै पनि समग्रतामा राष्ट्रिय अभियान र यात्राका रूपमा यसलाई जनताले लिएको पाइयो । विभिन्न स्थानमा सर्वदलीय र सर्वपक्षीय बैठकहरू आयोजना हुने, उनीहरूले छलफल गरेर सामूहिक मागहरू पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्तुत गर्ने काम भएको छ । यस सिलसिलामा धेरै जिल्लाहरूमा सर्वदलीय, सर्वपक्षीय बैठकहरू आयोजना भएका छन्,’ महासचिव पोखरेलले भने, ‘अभियानका क्रममा हामीले राजनीतिक रूपले विकासका मुद्दाहरूमा सहकार्य गरेर साझा दृष्टिकोण तय गर्नुपर्छ भन्ने मान्यता स्थानीय तहदेखि नै उजागर भएको हामीले पायौँ ।’
मध्यपहाडी लोकमार्ग ५०० किमिजति छोट्याउने निष्कर्ष
एमालेले यात्रा अभियानका क्रममा मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा मुआब्जा र क्षतिपूर्तिका समस्या र झमेलाहरू पनि देखिएको भन्दै यसलाई कम्तीमा चार–पाँच सय किमि छोट्याएर पूर्व–पश्चिम जोड्ने द्रुतमार्गका रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ । ‘हामीले मध्यपहाडी लोकमार्गको अवस्थाका बारेमा प्रत्यक्ष रूपमा बुझ्ने, त्यहाँका जनताहरूको मूल्यांकन गर्ने प्रत्यक्ष अवसर प्राप्त ग¥यौँ र धेरै ठाउँमा लोकमार्ग निर्माणका क्रममा अवरोध सिर्जना भएको पनि हामीले महसुस ग¥यौँ ।
कतिपय ठाउँमा एक प्रकारले मुआब्जा र क्षतिपूर्तिका विषयहरूको विवादले गर्दा काम अगाडि बढ्न नसकेको पनि हामीले पायौँ,’ महासचिव पोखरेलले भने, ‘हाम्रो एउटा मुख्य उद्देश्य– मध्यपहाडी लोकमार्ग सडकको अडिट गर्ने कुरा पनि थियो । त्यसको सम्भावनाबारे पनि अध्ययन गरेका छौँ । त्यसलाई चार–पाँच सय किमि कम गरेर भविष्यमा द्रुतमार्गका रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने महत्वपूर्ण आधार यात्राले प्रदान गरेको छ ।’ मध्यपहाडी लोकमार्गको कुल लम्बाइ १८ सय ७९ किमि छ । नयाँ पत्रिकामा खवर छ।