काठमाडाैँ,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डोल्पाका नेताहरूले ३ महिने पार्टी अभियानका क्रममा जनताले गरेका गुनासा र समस्या लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। पार्टीकाे विशेष रूपान्तरण अन्तर्गत तीन महिने अभियानका डोल्पा जिल्ला इन्चार्ज नरबहादुर बिष्टको नेतृत्वमा गएका जिल्लाका नेताहरू सहभागि थिए।
लिखित माग पत्र सहित ध्यानाकर्षण गराउन बालुवाटार पुगेका माओवादीका डोल्पाली नेताहरुले भेरी करिडोर अन्तर्गत दुनै–ल्यासीक्याप हुँदै धोसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन, मुगु–डोल्पा हुँदै मुस्ताङ जोड्ने हिमाली लोकमार्गको काम अघि बडाउन, उपल्लो डोल्पाका तीनवटा स्थानीय तहलाई मध्यनजर गर्दै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेका हुन् ।
त्यसैगरि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउन, डोल्पोबुद्व गाउँपालिकाको धोलाई हिमाली सहर निर्माण गर्न, मोरिम्ला र क्याटो नाकामा भन्सार कार्यालय सञ्चालन गर्न लगायतका १० बुँदे माग राखिएको छ।
१, संघिय गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा सम्माननीय प्रधानमन्त्री ज्यूको डोल्पा भ्रमण हुँदा डोल्पालाई काठमाडौंसम्म जोड्ने अर्थात् राजधानीसँग निकट बनाउने सपना देखाउनुभएको कुरा स्मरण गराउन चाहन्छौं । सो सपना साकार बनाउन उतिनै बेला भेरी करिडोरको अवधारणा अगाडी सार्नुभएकोमा डोल्पाबासीको तर्फबाट धन्यवाद दिन चाहन्छौं । डोल्पामा सडक पुग्ने सपनाको नजिक पुगेकोमा डोल्पाबासी खुसी हुँदाहुँदैपनि सडक माथिल्लो डोल्पा नपुग्नु र सदरमुकाम दुनैसम्मको सडकमा ट्रयाक खुलेपनि बेलिब्रिज समयमै नबन्दा सास्ती बेहोर्नुपरेको छ । यसलाईपनि यहाँकै प्रधानमन्त्रीत्व कालमा नै काठमाडौंबाट सरर एउटै गाडीमा डोल्पा पुग्ने व्यवस्था मिलाउनका लागि यथासक्य छिटो बेलिब्रिजको काम अगाडी बढाउन र भेरी करिडोर अन्तर्गतको दुनै ल्हासिक्याप हुँदै धोसम्मको मोटरबाटोको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिन अनुरोध छ ।
२, हिमाली जिल्लाहरु जोड्ने हिमाली लोकमार्ग रारा–मुस्ताङ्ग सडकको मौरे, काकोट र छार्का हुँदै मुस्ताङ्ग सडक खण्डको काम अगाडी बढाउन समेत अनुरोध छ ।
३, जटिल र फैलिएको भुगोलमा सुरक्षा चुनौती छ । बोर्डर क्षेत्रमा डोल्पाबुद्ध वडा नं ३ र शे फोक्सुण्डो वडा नं १ निजालमा विओपी स्थापना गर्न र माथिल्लो डोल्पाका तीन पालिका (शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्कातानसोङ)लाई मध्यनजर गरी एउटा इलाका प्रशासन स्थापना तथा संचालनका यथासक्य व्यवस्था मिलाईदिन पनि अनुरोध गर्दछौं ।
४, माथिल्लो डोल्पाको डोल्पाबुद्ध गाउँपालिकाको वडा नं १ र ३ मा हिमाली शहरको रुपमा बस्ती विकास गर्न अनुरोध छ ।
५, डोल्पाको क्याटो र मोरिम नाकामा भन्सार सेवा लागु गर्नपनि अनुरोध छ ।
६, जीर्ण हुँदै गएका डोल्पाका पुरातात्विक गुम्बा तथा मठमन्दिरहरुको पुन–निर्माण तथा डोल्पाका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न अनुरोध गर्दछौं ।
७, डोल्पाको मसिना चौर पहाडाको एयरपोर्ट संचालनमा ल्याउन अनुरोध छ ।
८, डोल्पाका अधिकांस बस्तीहरु अझैपनि दुरसंचारबाट टाढा रहेको व्यहोरा जानकारी गराउँदै गुणस्तरीय टेलिफोन सेवा र राष्ट्रिय प्रशारण लाइनको बिद्युत परिक्षण भएपनि पुर्णरुपमा बिद्युत सेवा नपुगेकाले सोको ध्यानाकर्षणपनि गराउन चाहन्छौं ।
९, डोल्पाका दुई पालिकाहरुलाई नगरपालिका बनाइएतापनि ती पालिकाहरु नगरपालिकाको लागि नेपाल सरकारले तोकेका मापदण्ड पुरा हुन अझै बाँकी भएकाले नगरपालिकाको मापदण्ड पुग्ने गरी भौतिक पुर्वाधारको विकासका लागि पनि अनुरोध गर्दछौं । यसको प्रथम प्रयासको रुपमा ठूलीभेरी न.पा र त्रिपुरासुन्दरी न.पाका ३० भन्दा बढी बस्तीहरुलाई जोड्नेगरी ठूलीभेरी त्रिपुरा रिङ्गरोडको अवधारणालाई अगाडी बढाउन अनुरोध गर्दछौं ।
१०, राज्यतहमा डोल्पाको आवाज सम्बोधन नहुनुमा डोल्पाको आवाज प्रभावकारी रुपमा नपुग्नुपनि हो । यसको अभाव पुर्ती गर्न आगामी राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा डोल्पाको प्रतिनिधित्व सुनिश्चित गरिदिनपनि अनुरोध गर्दछौं ।
डोल्पाले भौतिक पुर्वाधार निर्माणको पहिलो तह सडक यातायातको सुविधा पुर्णरुपमा महसुस हुनेगरी उपभोग गर्न नपाएको हुनाले यसपटक हामीले डोल्पालाई जोड्ने र डोल्पाभित्रपनि जोडिने गरी सडक परियोजनालाई उच्च प्राथमिकताका साथ सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष माग तथा ध्यानाकर्षण पत्र पेश गरेका छौं । यी डोल्पालाई निकट ल्याउने कामहरु अगाडी बढाई राज्यतहमा डोल्पाको पहुँच सुनिश्चित भएको महसुस हुनेगरी विश्वास दिलाई दिन हुन अनुरोध गर्दछौं ।