काठमाडाैँ,स्वास्थ्य मन्त्रालयले खोस्यो वीरका बिरामीले १३३ वर्षदेखि पाइरहेको खाना–खाजा मन्त्रालयले बजेट कटौती गरेपछि गत साउनदेखि अस्पतालले उधारोमा खाजा–खाना ल्याएर दैनिक पाँच सय बिरामीलाई खुवाउँदै आएको छ । तर, लामो समयसम्म आन्तरिक स्रोतबाट बिरामीलाई यो सुविधा दिन नसकिने अस्पतालको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले वीर अस्पतालका बिरामीलाई खाजा र खानाका लागि दिइने बजेट कटौती गरेको छ । स्थापनाकाल अर्थात् १३३ वर्षदेखि वीरले बिरामीलाई दिनको चारपटक खाना र खाजा उपलब्ध गराउँदै आएको छ । तर, चालू आर्थिक वर्षदेखि बजेट कटौती भएपछि यो सुविधालाई निरन्तरता दिन गाह्रो भएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार गत आर्थिक वर्षसम्म मन्त्रालयले बिरामीको खाजा–खानाका लागि वार्षिक एक करोड ६८ लाख बजेट दिँदै आएको थियो । तर, चालू आर्थिक वर्षदेखि बजेटको अभाव देखाउँदै यो शीर्षक कटौती गरेको छ । गत साउनदेखि अस्पतालले बिरामीलाई उधारोमा खाजा–खाना ल्याएर खुवाउँदै आएको छ । तर, अब आन्तरिक स्रोतबाट पनि धान्न गाह्रो भएको अस्पताल प्रशासनको भनाइ छ । स्थापनाकाल अर्थात् विक्रम संवत् १९४७ देखि नै वीरले बिरामीलाई यस्तो सुविधा दिँदै आएको छ ।
वीरमा औसत दैनिक पाँच सय बिरामीलाई खाजा–खाना खुवाइन्छ । बिहान ब्रेकफास्टमा बिस्कुट र दूध, बिहानको खानामा दाल, भात, तरकारी र कुखुराको मासु, दिउँसोको खाजामा चना, अन्डा र दूध तथा बेलुकीको खानामा दाल, भात, तरकारी र रोटी खुवाइन्छ । यसबाहेक सुगरका बिरामीलाई रोटी, आइसियूमा रहेका र अन्य रोगका बिरामीलाई डाक्टरको सल्लाहअनुसार खानेकुरा दिइन्छ ।
‘यसपटक मन्त्रालयले बिरामीको खानाको बजेटसमेत कटौती ग¥यो, अस्पताल स्थापनाकालदेखि अहिलेसम्म यस्तो कहिल्यै भएको थिएन,’ वीरको आर्थिक महाशाखाका एक कर्मचारीले भने, ‘केन्द्र सरकारले नै बजेट कटौती गरेपछि हामीले यसलाई निरन्तरता दिनुपर्छ भन्ने पनि छैन । आन्तरिक खर्चले धान्न गाह्रो पनि छ ।’ खर्च अभावका कारण बिरामीलाई दिइँदै आएको खाजा–खानाको सुविधा कटौती गर्ने तयारी भइरहेको उनले बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले वीरको बेड संख्या थपिए पनि सरकारले बजेट झन् घटाएकाले समस्या भएको बताए ।
‘वीरमा बेड संख्या थपियो तर, बजेट घटाइयो । यसपटक बिरामीलाई खुवाउने खाना–खाजा र अक्सिजनको बजेटसमेत कटौती गरेको छ, मन्त्रालयले बजेट कटौती गरेपछि साउनयता खाना–खाजा र अक्सिजन उधारोमा प्रयोग गरेका छौँ,’ उनले भने, ‘सप्लाई गर्नेले निहुँ खोजेर खाना र अक्सिजन बन्द गरिदियो भने समस्या हुन्छ । आन्तरिक स्रोतबाट लामो समयसम्म जोहो गर्न पनि गाह्रो अवस्था छ ।’ उनका अनुसार वीरमा हाल दैनिक १६ सयदेखि दुई हजारसम्म बिरामी आउने गर्छन् ।
अस्पताल प्रशासनका अनुसार दैनिक औसत पाँच सय बिरामीलाई खाजा–खाना खुवाउँदा मासिक १४ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । वार्षिक करिब एक करोड ६८ लाख त्यसमा खर्च हुन्छ । हाल अस्पतालको मासिक आम्दानी र खर्च बराबरी छ । मासिक तीन करोड आम्दानी हुन्छ भने खर्च पनि सोहीबराबर रहेको अस्पतालले जनाएको छ । अझ केन्द्रले दरबन्दी मिलान नगरेपछि आन्तरिक आम्दानीबाट तलब खुवाउने गरी स्वास्थ्यकर्मी तथा कर्मचारी थपिँदै आएका छन् ।
केन्द्र सरकारले भर्ना गर्नुपर्ने पाँच सय चिकित्सक तथा कर्मचारीको दरबन्दी खाली छ । यस्तो अवस्थामा आन्तरिक आम्दानीबाट तलबभत्ता खुवाउने गरी थप ५० जना स्वास्थ्यकर्मी भर्ना गर्ने प्रक्रिया अघि बढाइएको छ । कर्मचारी थप गरेपछि बजेट अभाव हुने भएकोले अस्पताल प्रशासनले बिरामीलाई खाना–खाजाको सुविधा बन्द गर्ने तथा बिरामी जाँच र ल्याबशुल्क बढाउने तयारी गरिरहेको छ । हाल वीरमा स्वास्थ्यकर्मी, प्रशासन, सफाइकर्मी, सेक्युरिटीलगायत गरी दुई हजार हाराहारी कर्मचारी छन् ।
गत वर्ष स्वास्थ्य मन्त्रालयले वीर अस्पताललाई बिरामीलाई दिइने खाना–खाजासहितको रकम गरि एक अर्ब ४३ करोड बजेट छुट्याएको थियो । तर, चालू आवमा ७३ करोड मात्रै बजेट छुट्याएको छ । यो बजेटले केन्द्र सरकारबाट नियुक्ति पाएका स्वास्थ्यकर्मीलाई तलब दिन मात्रै पुग्ने अस्पताल प्रशासनको भनाइ छ । अस्पतालका उपकरण मर्मत सम्भार, नयाँ उपकरण खरिद, स्वास्थ्यकर्मीलाई ओभरटाइट सुविधा, विपन्न तथा बेवारिसे बिरामीको उपचार खर्च, बिरामीलाई खाना–खाजा, अक्सिजन खरिदलगायतका लागि खर्चले नधान्ने अस्पतालको गुनासो छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भने खानाको बजेट कटौतीको दोष अर्थ मन्त्रालयलाई लगाए । अर्थले स्वास्थ्य क्षेत्रलाई बजेट नै कम दिएकाले वीर अस्पताललाई खाना–खाजालगायतका ५÷६ वटा शीर्षकमा दिइने बजेट कटौती गरिएको उनको भनाइ छ । ‘अर्थबाट बजेट नआएपछि हामीले कटौती गरेका हौँ,’ मन्त्री बस्नेतले भने, ‘यसबारे अर्थ मन्त्रालयसँग कुराकानी भइसकेको छ, खाना–खाजालगायत ५÷६ वटा शीर्षकमा बजेट कटौती नगर्न अर्थसँग मैले माग गरेको छु ।’ चालू आव ०८०÷८१ का लागि स्वास्थ्य क्षेत्रमा कुल ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरिएको छ ।नयाँ पत्रिकामा खवर छ।