पोखरा — ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको छ । इलम, उद्यम र परिवारको भविष्यका लागि सहकारीमा रकम जम्मा गर्ने करिब १९ हजार सर्वसाधारणको बिचल्ली बनाउने जीबी राईको कदममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणका तर्फबाट संघर्ष समिति गठन गरी प्रशासन, पोखरा महानगरपालिका र स्वयं लामिछानेलाई पनि ज्ञापनपत्र दिइएको छ । यो विषयमा जीबी र रविको नाम उल्लेख भएका दस्ताबेजहरू सार्वजनिक भएपछि तिनको आधिकारिकता पुष्टि गर्न कान्तिपुरले सूचनाको हक प्रयोग गरी आइतबार पोखरा महानगरपालिकाबाट छानबिन प्रतिवेदन प्राप्त गरेको छ । जसमा सर्वसाधारणबाट संकलित रकम जीबीले आफू र सञ्चालकहरूका नाममा पेस्कीका रुपमा निकाली हिनामिना गरेको र नक्कली कारोबारबाट फर्छ्योट गरेको देखिन्छ । यही क्रममा सूर्यदर्शन सहकारीसँग कुनै साइनो नभएको दाबी गर्ने लामिछानेले पनि पेस्कीका नाममा एक करोड लिएको र राईकै शैलीमा अर्को खाता खडा गरी फर्छ्योट गरेको प्रतिवेदनमा उल्लेख छ ।
२०६७÷६८ सालमा दर्ता भई पोखराको सभागृह चोकमा कार्यालय राखी सञ्चालन हुँदै आएको सूर्यदर्शन सहकारीको कार्यालय पछिल्लो समय नालाको मुखमा थियो । यस संस्थामा ठूलो संख्यामा बचतकर्ताले ठूलो मात्रामा रकम जम्मा गर्न थालेका थिए तर गत वर्ष (२०७९) को साउनदेखि चेक साटिन छाडेका थिए । लगत्तै कारोबार नै ठप्प हुन थालेपछि अत्तालिएका बचतकर्ताहरूको दबाबमा कात्तिक २० मा पोखरामा उपस्थित भएका संस्थाका पूर्वअध्यक्ष तथा सञ्चालक जीबी राई, अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारीले मंसिरमा साधारणसभा गर्ने र सम्पूर्ण हिसाब बुझाउने प्रतिबद्धता जनाएका थिए ।
तर, मंसिर २० मा पोखराको सीटी स्क्वायर पुगेका जीबी र थानबहादुरले संस्थाका नाममा १ अर्ब ५५ करोड रुपैयाँ रहेको हिसाब सार्वजनिक गरेका थिए । त्यसपछि संस्था सुसञ्चालन हुने भनेर बिदा भएका उनीहरू सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले प्रशासन र महानगर गुहारेका हुन् ।
सर्वसाधारणका तर्फबाट हरेक दिन उजुरी आउन थालेपछि पोखरा महानगरपालिकाले चार्टर्ड एकाउन्टेन्ट (सीए) अनिल लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । ‘सुरुमा चेक साटिएन भनेर गुनासो आएको थियो । गुनासो लिएर आउने सर्वसाधारणको संख्या बढ्दै गयो,’ महानगरपालिका प्रमुख धनराज आचार्यले कान्तिपुरसँग भने, ‘सहकारीका सञ्चालक र कर्मचारीले केही समयसम्म हामी हेर्दै छौं पनि भने तर पार लागेन । त्यसैले छानबिन समिति बनाएर प्रतिवेदनसहित कारबाहीका लागि प्रहरीलाई पठायौं ।’
महानगरद्वारा गठित छानबिन समितिको नेतृत्व गरेका सीए लामिछानेका अनुसार सूर्यदर्शन सहकारीमा जम्मा भएको सर्वसाधारणको बचत गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन), जीबी राई नेतृत्वका अन्य सहकारी, उनका व्यक्तिगत खाता, टेलिभिजनका अन्य सहकर्मी र आफन्तका नाममा सारिएको छ । ‘गोर्खा मिडिया नेटवर्कमा मात्रै २, ३ वटा खाताबाट ऋण लगेका रहेछन् । धेरै फेक लोन जारी भएको छ,’ उनले भने, ‘सुरुमा एक करोड रुपैयाँ बराबरको ऋण गोर्खा मिडिया नेटवर्कका नाममा लगेको देखिन्छ । त्यसपछि रवि लामिछानेका नाममा पनि पेस्की गएको भेटियो । त्यसलाई पनि सेटल गर्न सहकारीका तत्कालीन सञ्चालक जीबी राईकैमा सारेको देखियो । यसका लागि उनीहरूले ब्रिज ग्याप लोन (पुलेसो कर्जा) बनाएका रहेछन् ।’
सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम अध्यक्ष तथा सञ्चालकहरूले पेस्कीका रूपमा लिने र कृत्रिम खाता खडा गरी रकम जम्मा गरेको देखाएर फर्छ्योट गर्ने गरेको छानबिनबाट देखिएको छ । जीबी राईले मात्र १४ पटक निकालेको पैसा यस्तै खाता खडा गरी फर्छ्योट गराएका छन् । जबकि यस्तो रकम सहकारीको खातामा जम्मा भएकै थिएन । त्यस्तै ग्यालेक्सी टेलिभिजनका जीबीका व्यापारिक साझेदार रहेका रवि लामिछानेका नाममा पनि एक करोड रुपैयाँ पेस्की निकालिएको थियो । सहकारीबाट कर्जा पाउने अधिकार बचतकर्ता सदस्यहरूलाई मात्र हुन्छ । लामिछाने स्वयंले यो सहकारीसँग आफ्नो कुनै साइनो नभएको दाबी गर्दै आएका छन् । तर उनले ‘इन्टरनल लोन’ (आन्तरिक कर्जा) शीर्षकमा १ करोड ऋण लिएको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेले लिएको ऋण पनि जीबी राईकै शैलीमा पुलेसो कृत्रिम खाता खडा गरी फर्छ्योट गरेको भेटिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘कर्जा नं. ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेस्की फर्छ्योट गरिएको छ ।’
यसरी सहकारीसँग सम्बन्ध नभएको व्यक्तिले आन्तरिक ऋणबापत एक करोड लिने र कृत्रिम खाता गरी फर्छ्योट गरेको भनिए पनि उक्त रकम सहकारीका नाममा आएको नदेखिएको छानबिन टोलीका अधिकारीहरूले बताएका छन् । अध्ययनको नेतृत्व गरेका सीए लामिछानेका अनुसार जीबी राई र रवि लामिछानेले सहकारीमा गरेको क्रियाकलाप गैरकानुनी हो । ‘सहकारीले कुनै पनि नाफामूलक संस्थालाई ऋण दिन मिल्दैन । त्यस्ता संस्थालाई सदस्य बनाउनै मिल्दैन । सदस्य नै बनाउन नमिल्ने संस्थासँग कारोबार गर्न मिल्ने कुरै भएन,’ उनले भने, ‘अर्कोतर्फ रवि लामिछाने सहकारीका बचतकर्ता र सदस्य होइनन् । बचतकर्ता र सदस्यसमेत नभएको व्यक्तिलाई सहकारीले ऋण दिन मिल्दैन । जुन काम जीबी राई र रवि लामिछानेले गरे ।’ सीए लामिछानेले भनेजस्तै सहकारी ऐन २०७४ को दफा ५० मा भनिएको छ, ‘सहकारी संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गर्न, सोको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्नेछ ।’ कान्तिपुरमा खवर छ।