काठमाडौँ — पटक–पटक अवसर पाएका र चुनाव हारेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन कांग्रेसका केन्द्रीय सदस्यहरुले नेतृत्वलाई दबाब दिएका छन् ।आगामी माघ ११ गते हुने निर्वाचनका लागि २०४८ सालदेखि पटक–पटक अवसर पाएकाहरुसमेत उम्मेदवार बन्न आकांक्षी देखिएपछि कांग्रेसको बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा अवसर नपाएका अनुभवी र विज्ञलाई उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरुले पार्टी सभापतिलाई दबाब दिएका हुन् ।
कांग्रेसले पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बैठक बोलाएको थियो । केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार मन्त्रिपरिषद्को बैठकका कारण पहिलो दिनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाहेक मन्त्रीहरुले आफ्नो कार्यसम्पादनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्न नपाएको बताए ।
बैठकको पहिलो दिनमा करिब दुई दर्जन केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । उनीहरुले राष्ट्रियसभा सदस्य निर्वाचनमा पटक–पटक पराजितलाई उम्मेदवार बनाउन नहुनेमा जोड दिए ।भ्रष्टाचारका हरेक कान्डमा कांग्रेस संरक्षक भएको जस्तो सन्देश जान थालेको भन्दै त्यसको प्रतिवाद नेतृत्वबाटै हुनुपर्नेमा जोड दिएका थिए । पार्टी सरकारमा भएको अनुभूति समेत गर्न नपाएको अधिकांश सदस्यको गुनासो थियो ।
बैठकले आगामी पुस १६ गते मेलमिलाप दिवसका सन्दर्भ पारेर एक महिनाको वडास्तरमा पार्टीको अभियान चलाउने निर्णय लिएको छ । पुस १६ देखि माघ १२ गतेसम्म चल्ने अभियानमा पार्टीका केन्द्रीय सदस्यहरु आफू जन्मेको वडामा पुगेरै अभियानमा संलग्न हुने निर्णय गरिएको छ ।