सबैलाइ परिक्षामा सहभागि गराउन अदालतकाे अर्काे अादेश
काठमाडौँ,बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताए । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् ।
उच्च अदालत पाटनले ‘सिप बिल्डिङ’का सबैलाई इपिएसको परीक्षामा सहभागी गराउन विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको छ। तर्कबहादुर पलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमा न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले शुक्रबार यस्तो आदेश गरेको हो।
बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। गृहका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार डिआइजी लालमणि आचार्यको नेतृत्वमा गठित समितिमा काठमाडौंका सहायक प्रमुख जिल्ला अमरदिप सुनुवार, उपअनुसन्धान निर्देशन बासु सिग्देल सदस्य छन्।