काठमाडाैँ,एमालेसँग कुरा नमिलेपछि गठबन्धनको बैठकले सीटको भागबन्डा गरिसकेका छन् । गठबन्धनका अनुसार कांग्रेसले १०,माओवादीले ६,नेकपा एसले २ र जसपाले १ सीट पाउने सहमति बनेको छ ।
राष्ट्रियसभाबाट एमालेबाट ९,कांग्रेसका ४,माओवादीका ३,एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसद बिदा हुँदैछन् । एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राईको कार्यकाल सकिँदैछ । यो निर्वाचनपछि राष्ट्रियसभाको दलीय हैसियत उलटफेर हुनेछ । प्रतिनिधिसभामा ३२ सीटमा खुम्चिएको माओवादी केन्द्र राष्ट्रियसभामा पहिलो दल बन्दैछ । अहिले माओवादीका १५ सांसद छन् । ३ जना बिदा हुँदा ६ थपेर माओवादीले १८ पु¥याउनेछ ।
अहिले १० सांसद रहेको कांग्रेस ४ जना बिदा हुँदा १० थपेर १६ पु¥याएर दोस्रो दल बन्दैछ । तेस्रो बन्न नेकपा एमाले र एमालेबाट विभाजित भएर बनेको नेकपा एसबीच प्रतिस्पर्धा हुनेछ । १७ सांसदमध्ये अध्यक्षसहित ९ जना बिदा हुँदा एमाले ८ सीटमा खुम्चिने अवस्था छ । सबै प्रदेशमा गठबन्धनको सुविधाजनक बहुमत रहेकाले एमालेले एक सीट पनि जित्ने सम्भावना छैन । नेकपा एसका अहिले ८ सांसद छन् । उनीहरुमध्ये दुई जना बिदा हुँदा दुई जना नै थपिन्छन् र ८ नै कायम हुन्छ । दुवै दललाई तेस्रो बन्न राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम निर्णायक बन्न सक्छन् ।
तत्कालीन नेकपा विभाजनपछि वामदेव गौतम कुनै पनि पार्टीमा लागेका छैनन् । अहिलेसम्म स्वतन्त्र हैसियमा रहेका उनले राष्ट्रियसभा चुनावपछि एमाले र एसमध्ये जुन पार्टी रोज्छन्, त्यही नै तेस्रो ठूलो दल हुनेछ । उनी स्वतन्त्र नै रहिरहे एमाले र नेकपा एस दुवै ८–८ सीटसहित समान हैसियतमा रहनेछन् ।