spot_img

मिटरब्याजपीडितले ३ लाख ऋण लिँदा १ बिघा दुई कट्ठा ६ धुर जग्गा र घर हडपेःमाग्दा खुकुरीले छप्काउन खाेजीयाे

spot_img

सञ्जयकुमार कामतीले भने, ‘जिल्ला प्रशासनमा दिएको मिटरब्याजसम्बन्धी उजुरीको फैसला नहुञ्जेल बस्न दिनुस् भन्दै गएको थिएँ, ज्यान नै लिन खोजियो ।’ साहुकारले षड्यन्त्रपूर्वक हडपेर बेचेको घरजग्गा फिर्ता माग्दा सिराहाको कल्याणपुर नगरपालिका– ८ अरङका मिटरब्याजपीडित सञ्जयकुमार कामतीमाथि कुटपिट गरिनुका साथै ज्यान मार्ने धम्की दिँदै खुकुरी तेर्स्याइएको छ । स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भतिज पर्ने नितेशले सोमबार दिउँसो ‘यहीँ ढालिदिन्छु’ भन्दै खुकुरी उज्याएका हुन् ।

खुुकुरी छेक्ने क्रममा टाउकोमा सामान्य चोट लाग्नुका साथै कुटपिटले शरीर थिलथिलो भएका कामती मंगलबार सिराहास्थित प्रादेशिक अस्पतालमा उपचार गराई गाउँ फर्किएका छन् । चिकित्सकले केही दिन औषधि सेवन गर्नुका साथै आराम गर्न भनेको उनले बताए ।

कामतीले ०७२ माघमा घर–व्यवहारका लागि कल्याणपुर– ८ मझाउका लेखापढी व्यवसायी सुरेश पञ्जियारसँग तीन लाख ऋण लिएका थिए । पञ्जियारले कामतीको एक बिघा एक कट्ठा खेत, एक कट्ठा ६ धुर घडेरी र टिनको छाना भएको ११ कोठाको एकतले घरसहितको जग्गा दृष्टिबन्धक राखेका थिए । सँगै, चार लाख ८० हजार र सात लाख ५० हजार गरी १२ लाख ३० हजारका दुईवटा कपाली तमसुक बनाएका थिए ।

समयमा ऋण तिर्न नसकेपछि कामतीले ‘घर–व्यवहारको काम सल्टाएपछि ब्याजसहित तिर्छु’ भन्दै पञ्जियारलाई गुहारिरहेका थिए । तर, साहुकार पञ्जियारले षड्यन्त्रपूर्वक लेनदेन मुद्दामा सिराहा जिल्ला अदालतबाट ०७८ माघमा डाक लिलाममार्फत घरसहित करिब डेढ करोडबराबरको जायजेथा आफ्नो नाममा ल्याए ।

सरकारले मिटरब्याजपीडितहरूको समस्या समाधानको पहल गरेपछि कामतीले पञ्जियारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन (मिरटब्याज)सम्बन्धी उजुरी दिएका थिए । त्यसमा एक–दुईपटक छलफल पनि भएको थियो । तर, त्यहीबीचमा आफूबाट हत्याएकोमध्ये १० कट्ठा खेत र घरसहितको १६ धुर घडेरी पञ्जियारले स्थानीय रामनारायण सिंहलाई सस्तोमा बेचेको कामतीले बताए ।

पञ्जियारले घरजग्गा हत्याएपछि कामती भने धनुषाको जनकपुरमा डेरामा बस्न थालेका थिए । उनका बाबु उत्तिम कामती र आमा पवित्रीदेवी भने गाउँकै घरमा थिए । तर, सिंहले जग्गा किनेपछि उनीहरूलाई पनि सामानसमेत निकाल्न नदिई केही महिनाअघि हतियार देखाएर घरबाट निकाले । त्यसपछि आमाबुबालाई पनि जनकपुरकै डेरामा लगेका थिए । १०८ वर्षीया हजुरआमा रेविया गाउँमै कान्छो छोरा सगम कामतीसँग बस्थिन् ।

गत ९ पुसमा हजुरआमाको निधन भएपछि दाहसंस्कार र काजकिरियाका लागि कामती बुबाआमासहित परिवारका सबै गाउँ आए । काजकिरियाको काम सकिएपछि २१ पुसमा साहुकारले षड्यन्त्रपूर्वक हडपेको जग्गाबारे गाउँलेसहित बसेर छलफल गरे । जहाँ साहुकार पञ्जियार र उनीबाट जग्गा खरिद गर्ने सिंहसमेत उपस्थित थिए । ‘काकाकै आँगनमा सबै बसेर साहुकार सुरेश पञ्जियारले हत्याएर पछि रामनारायण सिंहले किनेको भनिएको घरजग्गाबारे छलफल भयो । गाउँलेले अदालतको डाक लिलाममार्फत लिएको घरजग्गा चलनचल्तीको मूल्यमै भए पनि मलाई फिर्ता गर्न आग्रह गरेँ, तर पञ्जियारले ‘मैले बेचिसकेको छु, फिर्ता गर्न सक्दिनँ’ भने । सिंहले पनि घरजग्गा किनेको हुँ भन्दै छाड्न मानेनन्,’ पीडित कामतीले भने ।

कामतीले जिल्ला प्रशासनमा दिएको उजुरीमा छानबिनकै क्रममा रहेका वेला पञ्जियारले जग्गा बेचेका थिए । त्यसको जानकारी आफूले पाँच–सात महिनाअघि मात्रै थाहा पाएको कामतीले बताए । ‘सोमबार दिउँसो करिब ३ बजेतिर ठूलो परिवारसहित डेरामा बस्न गाह्रो भयो । उजुरीबारे जे निर्णय हुन्छ, त्यहीअनुसार गर्छु । त्यतिञ्जेल म आफ्नो घरमा बस्छु भनेर म र मेरो भाइ राजकिशोर गयौँ । आँगनमा बार लगाइएको बाँसको टाट हटाउन खोज्दा दक्षिणपट्टि टाँसिएकै घरमा बस्ने रामनारायण सिंह गालीगलौजसँगै खुकुरी उज्याउँदै यहीँ ढालिदिन्छु भन्दै आए,’ कामतीले भने, ‘पछिपछि उनका छोरा शैलेन्द्र र भतिज नितेशसमेत आएर गालीगलौज र कुटपिट गरे ।’

कामतीको कठालो समात्दै खुकुरी ठड्याएको देखेर बाटोमा हिँड्ने बटुवासमेत उभिएर हेर्न थाले । ‘जालझेल गर्दै जायजेथा खोसेर सुकुमवासी बनाउन खोजेको मलाई मार्छौ भने मार भन्दै मैले पनि प्रतिवाद गरेँ । गालीगलौज, कुटपिटसँगै पटक–पटक खुकुरी उज्याउँदै प्रहार गर्न खोजियो,’ कामतीले भने, ‘उजुरीको फैसला नहुञ्जेल बस्न दिनुस् भन्दै गएको थिएँ, ज्यान नै लिन खोजियो ।’ निकैबेर वादविवाद चल्यो । मान्छेहरू धेरै जम्मा हुन थालेपछि सिंहको हातबाट उनकी बुहारीले खुकुरी खोसेर लिएर भित्र लगिन् ।

खुकुरी उज्याएर ज्यान मार्ने धम्की दिने सिंह पक्राउ
सञ्जयकुमार कामतीलाई खुकुरी प्रहारको प्रयास गर्ने रामनारायण सिंहलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोहरूमा खुकुरी उज्याएको देखिएपछि सिंहलाई अरङस्थित घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए । पीडितबाट उजुरी नआए पनि खुकुरी उज्याएको फोटो र भिडियोको आधारमा नियन्त्रणमा लिएको र पीडितले उजुरी दिएपछि थप कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img