काठमाडौँ — प्रधानमन्त्री पुष्मकमल दाहालले भारतीय अधिकारीहरूसँग भएका पछिल्ला बैठकहरूमा नेपालको पक्षबाट सन् १९५० को सन्धि र सीमा विवादका विषयमा आफ्ना पक्ष दह्रोसँग राखिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा प्रधानमन्त्री दाहालले मुलुकको हितलाई अगाडि राखेर नै कुरा राखिएको र मुलुकको आर्थिक हितलाई प्राथमकिता दिइएको बताए ।
नेपालको राष्ट्रिय हित, जनताको बृहत्तर हित र आर्थिक समृद्धिलाई ध्यानमा राखेर भारतीय पक्षसँग नेपालले कुरा राखेको प्रधानमन्त्रीको भनाइ थियो । उनले कतिपय विषयमा भने भारतसँग नेपाली पक्षले आफ्ना कुरा दह्रोसँग राखेको बताए । ती विषयमा सीमा समस्या पनि रहेको उनको भनाइ थियो । ’भारतसँग कतिवपय विषयमा अलि टफ डिस्कसन नभएको होइन । सन् १९५० को सन्धि, सीमा विवाद सँग सम्बन्धित विषयमा हामीले विगतदेखिको पोजिसनलाई दह्रोसँग राखिएको छ,’ उनले भने ।
त्यस्तै, प्रधानमन्त्री दाहालले पञ्चेश्वर जलविद्युत् परियोजनाको कार्य प्रारम्भको तयारी अन्तिम चरणमा पु¥याइएको पनि जानकारी दिए । उनले पञ्चेश्वरको डीपीआर स्वीकृत गर्न चरणमा पुगेको पनि बताए । उनले भने, ’पञ्चेश्वर अन्तिम चरणमा पुगेको छ, डीपीआर फाइनल गर्ने कुरा । आउने केही दिनभित्र ब्रेकथ्रू हुन्छ,’ उनले भने ।