सुत्केरी भएको ११ दिनमा स्वासप्रश्वासमा समस्या भएपछि हुम्ला ताजाकोट गाउँपालिका–५ की २३ वर्षीया अंशु बुढालाई परिवारका सदस्यले थप उपचारका लागि नेपालगन्ज लैजाने तयारी गरे । यातायातको सुविधा नभएको ताजाकोटमा त्यसका लागि विकल्प थियो– हवाई उद्धार । सदरमुकाम सिमकोट एक त टाढा, त्यसमा पनि जहाज भनेको बेला नपाइने भएपछि झण्डै ७ घण्टा लगाएर बाजुराको कोल्टी पु¥याइयो ।
गत असोज दोस्रो साता हुम्लाको अदानचुली गाउँपालिकाकी एक गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्दार गरिदै । सोमबार दिउँसो कोल्टीमा जहाज पर्खंदै उनीहरूले त्यहीं उपचार सुरु गरे । कोल्टीका स्वास्थ्यकर्मीले पनि उपचार हुन नसक्ने भन्दै सुविधायुक्त अस्पतालमा रिफर गरे । तर, सोमबार कोल्टीमा जहाज नआएर सुविधायुक्त ठाउँ (नेपालगन्ज) लैजान नपाउँदा त्यहीं उनको मृत्यु भयो ।
‘गाउँकै मदाना स्वास्थ्यचौकीमा बुहारी नर्मल सुत्केरी भएकी हुन् तर ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने भएपछि आइतबार नेपालगन्ज लैजान कोल्टी पु¥यायौं,’ मृतकका ससुरा जीतबहादुर बुढाले भने, ‘जहाज नआएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेका थियौं, तर उपचार नपाएरै त्यही उनले ज्यान गुमाउनु प¥यो ।’ समयमा जहाज नआएपछि हेलिकप्टरको खोजी गर्दागर्दै राति भइसकेको र बाहिर लैजान नपाउँदा अंशुको उपचारका क्रममै सोमबार राति १० बजे मृत्यु भएको हो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा. रन्जीत साहले अक्सिजनको मात्रा कम हुँदा बुढाको मृत्यु भएको बताए ।
उनका अनुसार अक्सिजनको मात्रा ४९ प्रतिशत मात्रै रहेको थियो । सुत्केरी भएको ६ सातासम्म स्याहार गर्नुपर्ने भए पनि स्याहार अभावमा उनलाई स्वास्थ्य समस्या भएको डा.साहको भनाइ छ । मृतक बुढाकी छोरीलाई उपचार तथा स्याहारका लागि सुर्खेत लगिएको काका गोपालले बताए । गत मंसिर ११ गते जाजरकोटको नलगाड नगरपालिका—८ तल्लोसीमाकी २५ वर्षीया शर्मिला चँदाराले सुत्केरी भएको एक महिनामै ज्यान गुमाइन् । आफ्नो घर भूकम्पले क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी चँदारामा चिसोका कारण रुघाखोकी र ज्वरोको समस्या देखिएको थियो । उनको समयमै उपचार नपाउँदा ज्यान गएको नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले बताए ।
‘घरबाहिर त्रिपालमुनि बस्दै आएकी उनी बिरामी रहिछन्,’ उनले भने, ‘तर हामीले त मृत्यु भएपछि मात्रै थाहा पायौं ।’ उनका अनुसार आमाको मृत्युपछि एक महिनाकी छोरीको बिचल्ली भएको छ । त्यस्तै २ महिनाअघि मुगुको सोरु गाउँपालिका–५ नेरगाउँमा समयै उद्धार नहुँदा २३ वर्षीया सुत्केरी धनलक्ष्मी शाहीको साल अड्किएर मृत्यु भएको थियो ।
संघीय सरकारले दुर्गम हिमाली तथा पहाडी जिल्लामा जटिल अवस्थाका सुत्केरी र गर्भवतीका लागि आर्थिक वर्ष २०७५÷७६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू गरेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारले पनि २०७६ सालदेखि नै गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरेको छ । तर, दुवै कार्यक्रमसम्म पुग्ने पहुँच नहुँदा सुत्केरी र गर्भवती महिला तथा नवजात शिशुले ज्यान गुमाउनु परिरहेको वरिष्ठ बालरोग विशेषज्ञ डा.नवराज केसीले बताए । ‘सुत्केरी र गर्भवती अवस्थामा केही जटिल समस्या भए हेलिकोप्टर चार्टरको विकल्पै छैन,’ उनले भने, ‘यदि हवाई चार्टर गर्न नसके ज्यानै गुमाउनुपर्ने कर्णालीको नियति नै बन्यो ।’
कर्णालीमा वर्षमा झण्डै ५४ देखि ७० हजार महिला गर्भवती हुने गरेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक छ । निर्देशनालयका अनुसार यो वर्ष समयमै उपचार नपाउँदा ७ जना महिलाले ज्यान गुमाएका छन् । कर्णालीमा समयमै उपचार नपाएर पछिल्लो ९ वर्षमा १ सय ७२ जना सुत्केरीको अकालमै मृत्यु भएको छ ।
कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सबैभन्दा बढी आर्थिक वर्ष २०७०÷७१ मा ३३ जना सुत्केरीको मृत्यु भयो । आर्थिक वर्ष २०७८÷७९ मा १७ जना सुत्केरीले ज्यान गुमाए । निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीका अनुसार कर्णालीमा मृत्यु हुने सुत्केरीमा १५ देखि २५ वर्ष उमेर समूहका झन्डै ८० प्रतिशत रहेको तथ्यांक छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत वर्ष गरेको अध्ययनअनुसार कर्णालीमा २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टामा स्वास्थ्य संस्था पुग्न सक्छन् । अन्य जनसंख्या घण्टौं लगाएर अस्पताल पुग्नुपर्ने बाध्यता छ । कर्णाली प्रदेशभरि ३ सय ५९ वटा वर्थिङ सेन्टर छन् । ‘कतिपय घटना त हामीसम्म पुग्दैनन्,’ स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले भने, ‘यो अवस्था रोक्न सबै क्षेत्रको सक्रियता जरुरी छ ।’कान्तिपुरमा खवर छ।