काठमाडौँ,भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३ वर्ष कैद सजाय सुनाएको छ । यस्तै साढे १६ लाखभन्दा बढी जरिवानाको पनि फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।१६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएकोमा सोही अनुसार जरिवाना र बिगो असुल गर्ने फैसला भएको उनको भनाइ छ ।
गत पुस ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले शाहसहित २ जनालाई दोषी ठहर गरेको थियो । जसअनुसार आज सजाय निर्धारण भएको हो । शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो ।
पूर्व प्रहरी नायव महानिरीक्षक शाह अछामको साँफेबगर निवासी हुन् । उनको घर कैलाली र काठमाडौँको महाराजगञ्जमा समेत रहेको छ भने उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् । उनले यसका लागि वि.सं. २०६३ को मदन पुरस्कार पाएका थिए ।