मुलुकमा बेराेजगारीकाे असरःरुस–युक्रेन युद्धमा ११ नेपालीको मृत्यु,संख्या बढ्न सक्ने
काठमाडौँ — सरकारले औपचारिक रूपमा जानकारी नगराए पनि रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ११ पुगिसकेको छ । थप अरू पनि मारिएको अनौपचारिक सूचना छ, तर पुष्टि हुने विवरण आइसकेका छैनन् । एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका मृत्युका घटनाबाट सजिलै अनुमान गर्न सकिन्छ– यो शृंखला यत्तिमै रोकिने देखिँदैन ।
रुसी सेनामा भर्ना भएका प्यूठानका एक युवकको मृत्यु भएको छ। रुसी सेनामा आबद्ध प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनारको ज्यान गएको प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माले जानकारी दिए । रोजगारीका क्रममा दुई वर्षअघि कतार पुगेका सुनार केही महिनाअघि रुस पुगेर सेनामा भर्ना भएका थिए। रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या ११ पुगेको छ ।
यसअघि ज्यान गुमाउनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।
रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा मारिएका नेपालीमध्ये सबैजसो निम्न मध्यम वर्गीय परिवारका सदस्य छन् । धेरैजसोको विगत प्रहरी वा नेपाली सेनामा भर्ती भएको देखिन्छ । कतिपय बीचमै जागिर छोडेर र कतिपय अवकाशपछि रुसी सेनामा भर्ती हुन पुगेका हुन् । मारिएकामध्ये धेरैजसो संगठित मानव तस्करका सदस्यलाई रकम बुझाएर भिजिट भिसामा दुबई हुँदै त्यहाँबाट रुस पुगेको देखिन्छ । केही भने कतार वा दुबईमा काम गर्दागर्दै आकर्षक कमाइको प्रलोभनमा परेर रुस पुगेका छन् ।
मृत्यु भएका ११ मध्ये कुन्दनसिंह नागलबाहेक १० को पृष्ठभूमि, उनीहरूको बाध्यता र परिवारमा परेको शोकको विवरण हामीले संकलन गरेका छौं । अन्तिमपल्ट अनुहार हेर्ने धोकोलाई मनमै अँठ्याएर कुशको शव बनाएर दाहसंस्कार गर्नुपर्नर् ेबाध्यतादेखि शव ल्याउन सकिन्छ कि भनेर परिवारजनले गरिरहेको हारगुहारको कथा सुन्दा मृत्युको यो भयावह शृंखला कति गहिरो छ भनेर थाहा हुन्छ ।
प्यूठान नगरपालिका–४ काठेबरका कालबहादुर सुनार एक सातायता छोराको शव पर्खेर शोकपूर्ण समय कटाइरहेका छन् । दुई वर्षअघि रोजगारीको खोजीमा कतार पुगेका ३० वर्षीय सोनु (सोमेस) दुई महिनाअघि रुस पुगेका थिए । रुसी सेनामा भर्ती भएका सोमेसको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको खबर पाएपछि परिवारमा शोक छाएको छ । बाबु कालबहादुरले स्वदेशभित्र रोजगारीको अभावमा आफूले छोरा गुमाएको बताए । ‘देशमै रोजगारी भइदिएको भए ऊ रुस पुग्ने थिएन,’ उनले भने, ‘आफू विदेश जाँदाको ऋण त ति¥यो तर छोरा फर्किएन ।’
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -