काठमाडौँ, १९ पदका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी कार्कीले चम्पा कार्कीले ४९९२ मतभार प्राप्त गरिन् । यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला ५२९२ मतभारसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४५६२ मतभर मात्र पाए । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित बनेकी हुन् ।
मधेस प्रदेश
मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपपाका पूजा चौधरी निर्वाचित भए । ढुंगाना ७ हजार ३७० मतभार पाएर निर्वाचित भएका हुन् । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् ।
बागमती
बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन् । यो प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी ६ हजार ६२२ मतभार सहित विजयी बन्दा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित बनिन् ।दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी बने । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभारमात्र पाए ।
अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेते ६ हजार ५३१ मतभारसहित निर्वाचित बन्दा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारमा सीमित बने । अल्पसङ्ख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका देवकोटाले दुई हजार ७३४ मत ल्याए ।