अध्यागमन कार्यालयको मिलेमतोमा संगठित रूपमा भएको भिजिट भिसासम्बन्धी ‘सेटिङ’को प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुझाएको छ । नौ अध्यागमन कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । १० जनालाई पक्राउ गरेकोमा यसमा संलग्न देखिएका थप १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
फरारमध्ये आठजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कार्यालयका अध्यागमन अधिकृत छन् । प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्का र अन्य नौ बिचौलियालाई पक्राउ गरिसकेको छ । बिचौलियाको काम गर्ने दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव, पदम लामा, मनोज लामा, रामप्रसाद भण्डारी पनि प्रहरी थुनामा छन् ।अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार छन् । ९ माघमा अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेकाउपर अनुसन्धान पूरा गरी लिखत किर्ते तथा संगठित अपराधको कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको परिसरका प्रहरी नायब उपरीक्षक९डिएसपी० अंगुर जिसीले बताए ।
त्यस्तै, सिनामंगलको बाल्टिन इन होटेलका सञ्चालक केदारबहादुर खड्का पनि गिरोहमा संलग्न रहेको खुलेको छ । बाराकी कौशिला मगर, सोलुखुम्बुकी लक्ष्मी राई, सिन्धुलीकी रीता दमाईँविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेकोमा उनीहरू फरार छन् ।
उनीहरू फरार छन् ।थुनामा रहेका अधिकृत खड्काको बयान र उनको मोबाइल परीक्षणबाट थप व्यक्तिको संलग्नता खुलेको हो । सुरुमा आफूलाई अधिकृत ताराबहादुर कुँवरले सेटिङ गिरोहसँग आबद्ध गराइदिएको र सबै कर्मचारी मिलेरै सेटिङ चल्दै आएको उनले बयान दिएको प्रहरी स्रोत बताउँछ । प्रहरीले खड्कालाई दुई लाख नगदसहित पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धानको क्रममा अध्यागमन डेस्कमा जोसुकै भए पनि सेटिङ चल्ने पुष्टि भएको प्रहरीले जनाएको छ । जसले अध्यागमनमा संगठित रूपमै सेटिङ चल्दै आएको प्रहरी निष्कर्ष छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा दुई महिनाअघि प्रारम्भिक छानबिन गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । अनुसन्धानको क्रममा कर्मचारीलाई प्रतिवादी नबनाउन प्रहरीमाथि दबाब र प्रभाव थियो । गृह मन्त्रालयमा अध्यागमनका अधिकारीलाई नै राखेर प्रहरीले ब्रिफिङ गरेपछि अनुसन्धान अघि बढेको हो । त्यसविरुद्ध कर्मचारीले भने कामसमेत रोकेर विरोध गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनयता बढेको प्रहरी र अध्यागमन टकरावको एउटा कारण पनि यही भएको स्रोत बताउँछ । प्रहरीले प्रतिवादी बनाउन सिफारिस गरे पनि सरकारी वकिलमार्फत कर्मचारीलाई जोगाउन अझै प्रयास जारी छ । नयाँ पत्रिकामा खबर छ ।