काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कति कति रकम लिएर कसरी कसरी मानिसको अवैध ओसारपसार हुन्छ भन्ने तथ्य खुलेको छ । विमानस्थलमा सुरक्षा मापदण्ड पालनाको विषयलाई लिएर गत शुक्रबार अध्यागमन अधिकृत र प्रहरीबीच कुटाकुट नै भयो । अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको यो कुटाकुटको पृष्ठभूमिमा प्रहरीले गरिरहेको एक अनुसन्धान जोडिएको छ ।
भिजिट भिसाका नाममा विमानस्थलबाट नक्कली कागजातको भरमा नेपालीलाई विदेश पठाउने धन्दामा अध्यागमन अधिकृतहरु नै संलग्न रहेको तथ्य प्रहरीले सार्वजनिक गरेको थियो । यो विषयसँग जोडिएका आठजना अध्यागमन अधिकृत अहिले पनि फरार छन् । अध्यागमनबाट कसरी पठाइन्थे नक्कली कागजात बोक्नेलाई विदेश पक्राउ परेकाहरुको बयानबाटै यो अवैध धन्दाको खुलासा भएको छ ।
विमानस्थलबाट पुरुषको १५ हजार र महिलाको ५० हजार रुपैयाँसम्म लिएर लाखौ रुपैयाँको चलखेलमा मानव तस्करीको संगठित अपराध चलिरहेको तथ्य सार्वजनिक भएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले मंसिर अन्तिम सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली कागजातका भरमा विदेश पठाउने गिरोहमाथि अनुसन्धान गरिरहेको थियो । यही क्रममा नक्कली कागजातका आधारमा धेरै व्यक्ति दुबई पुगेका छन् । तिनै व्यक्ति दुबईकै रुटबाट रुसी सेनामा भर्ना हुन लगिएका थिए । भिजिट भिसामा दुबईसम्म पठाउने गिरोहमा अध्यागमन अधिकृतको समेत संलग्नता देखियो ।
यसैक्रममा प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कासहित १० जनालाई पक्राउ गर्यो । जिल्ला प्रहरी परिसर काठमाडौंले २२ जनालाई प्रतिवादी बनाएर संगठित अपराधमा मुद्दा दर्ता गर्न सिफारिस गरेको छ । नियमन गर्न राज्यले खटाएका अधिकृतहरुले नै गिरोहसँगको साँठगाँठमा कसरी नेपालीलाई विदेश पठाउने धन्दा चलाए रु पक्राउ परेका अधिकृत नरवीरको बयानले प्रस्ट पारेको छ । नरवीर २०७९ माघदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।
उनले दिएको बयानअनुसार भिजिट भिसामा नेपाली पठाउन एजेन्टको काम होलिडे एन्ड ट्राभलका सञ्चालकहरु सरोज यादव, लालबहादुर भगत, मनोज लामा, पदम लामा र प्रकाश चौधरीले गरेका थिए । त्यति मात्र नभएर २०८० असारदेखि नक्कली कागजात भएकालाई भिजिट भिसामा विदेश पठाउन अध्यागमनबाट पास गराउने काम नरवीरले नै गरेका थिए । त्यसबापत पुरुषको १५ हजार र महिलाको ५० हजार रुपैयाँसम्म लिने गरेको उनैको बयानमा छ ।
अनुसन्धानका क्रममा एकपटकमा एक सयदेखि १५० जनासम्मलाई अनधिकृत काजजातका आधारमा पठाउने गरेको खुलेको छ । आफू काममा नभएका बेला विमानस्थलबाट मान्छे पास गराउन सातजना अधिकृतको समिति नै बनेको नरवीरले दिएको बयानबाट खुलेको छ । समितिमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फावो थिए । यी सबै कर्मचारीको भागमा ४० देखि ५० हजार पर्ने गरेको नरवीरको बयानमा भनिएको छ । विमानस्थलमा कर्मचारीको सेटिङ मिलाउने जिम्मा भने एजेन्ट पदम लामाले लिएका थिए ।
त्यसो त विदेश पठाउनेहरुलाई रोकतोक नहुने गरी विमानस्थलमा कर्मचारीको सेटिङ मिलाउने पदम लामाले पनि सिनामंगलमा सञ्चालित छिरिङ ट्राभलमा काम गर्दा नरवीर खड्कालाई पुरुषको प्रतिव्यक्ति १७ हजार र महिलाको ५० हजार दिने गरेको बयान गरेका छन् । मंसिर २६ गते पनि उनैले खड्कालाई होटेल वाल्टनमा दुई लाख रुपैयाँ दिएका थिए । यसअघि मंसिर ४ गते मात्रै खड्काले छिरिङ ट्राभलबाट तीन लाख ५० हजार लिएर गएको र त्यसबाट १६ जनालाई अध्यागमन पास गराइदिएका थिए । छिरिङ ट्राभलबाट मात्रै ६६ जना पठाएबापत २६ लाख ४० हजार दिएको पदम लामाले स्पष्ट पारेका छन् । विमानस्थलमा सबै मिलाउने जिम्मा पाएका नरवीरमार्फत मात्रै तीन सयजना पठाएका छन् ।
विमानस्थलमा अध्यागमन अधिकृतका रुपमा काम गरेर अवैध बाटोबाट नेपाली पठाउने धन्दामा साथ दिने अर्का व्यक्ति हुन्छ। ताराबहादुर कुँवर । कुँवरलाई पटक-पटक गरेर १५ देखि २० लाख रुपैयाँ बुझाएको पक्राउ परेका अर्का आरोपी मनोज तामाङले बयानमा उल्लेख गरेका छन् । कुँवरबाट करिब १२० जना विमानस्थलबाट पास भएको बताएका छन् । आफ्नो सरुवा भएपछि कुँवरले नै विदेश पठाउनेको सञ्जालमा नरवीरलाई सामेल गराइदिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले विमानस्थलजस्तो संवेदनशील स्थानमा बसेका अध्यागमन अधिकृत नै मानव तस्करीको सञ्जालमा देखिएको भन्दै संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरेको हो । आठजना अधिकृत अझै फरार छन् ।
गत शुक्रबार विमानस्थलमा खटिएका प्रहरी जवानसँग अध्यागमन कर्मचारीको कुटाकुटको स्थिति आउनुमा प्रहरीले गरेको यो अनुसन्धानको प्रतिशोध जोडिएको छ कि छैन गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनले नै देखाउनेछ । कान्तिपुर टिभिमा खबर छ।