काठमाडौँ,बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका तर, प्रहरीले सोही प्रकरणमा पक्राउ परेका आम्रपाली कन्ट्रक्सनका मालिक समेत रहेका कारखानाका तत्कालीन अध्यक्ष सञ्जय ठाकुरलाई भने अदालतमा उपस्थित गराइसकेको छैन । प्रहरीले चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो । यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई बत्तीस पुतलीबाट पक्राउ गरेको जनाएको छ ।
थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए । यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिइएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयको उजुरीको आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको बताइएको छ ।
वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको आरोप छ । उक्त जग्गामा हाल चौधरी समूहले चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ । तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । उक्त जग्गा अहिले अरुण चौधरी र उनकी श्रीमती शिलाको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ । पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित सीआईबीको हिरासतमा राखिएको छ ।