गठबन्धन सरकारकै कारण शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर
एमाले अध्यक्ष केपी ओलीले सरकारको गलत नीतिका कारण मुलुक कमजोर बनेको आरोप लगाएका छन् । शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा उनले रेमिट्यान्सको भरमा मुलुक चल्नुपरेको, युवा उद्यमीलाई सरकारले प्रोत्साहण नगरेको, शिक्षा र स्वास्थ्यमा अवसर समाप्त पार्न सरकार उद्धत रहेको आरोप लगाए । युवाहरू विदेश जाने लहर चल्दासमेत सरकारको ध्यान जान नसकेको उनको भनाइ छ ।
गठबन्धन सरकारका कारण शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर रहेको उनले आरोप लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाल शिक्षा र स्वास्थ्यको हब हुनुपर्ने बताए । शिक्षाको हब बन्नुपर्ने देशबाट शिक्षाकै लागि विदेशिनुपर्ने अवस्था आएकोभन्दै उनले चिन्ता व्यक्त गरे ।
‘नेपाललाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने हो । तर, शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ । यसलाई प्राविधिक शिक्षाको हब बनाउनुपर्ने, यस्तो ठाउँमा आज शिक्षाका लागि बाहिर जाने अवस्था छ । जसको पाँच हजारभन्दा पुरानो शिक्षाको अनुभव छ, त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ । युवाहरू सहज ढंगले रोजगारी खोज्ने, उद्यमशीलतामा लाग्न प्रेरित गर्न सकेका छैनौँ,’ उनले भने ।
मुलुक हरेक क्षेत्रमा कमजोर हुँदै जाँदासमेत सरकार आनन्द मानेर बसेको उनको आरोप छ । युवा शक्ति नलागी देश विकास हुन नसक्ने उनले जिकिर गरे । युवाका सरोकार सम्बोधन गर्न सरकार असफल भएको उनको आरोप छ ।