काठमाडौँ — अरुणकुमार चौधरीलगायतको पक्राउपछि सांसद तथा उद्योगी विनोद चौधरीले कांग्रेस संसदीय दलको बैठकमा विशेष समय लिएर बोल्दै उद्योगी व्यवसायीमाथि नियोजित आक्रमण भएको आरोप लगाएका छन् । यस्तो गतिविधिले आगामी लगानी सम्मेलनसमेत बिथोलिन सक्ने उनको भनाइ छ ।
‘चौधरी समूहमाथि आक्रमण भयो । हामी र उद्योग व्यवसायी माथिको आक्रमण हो । अर्थव्यवस्थामाथिको आक्रमण हो’, चौधरीले थपे, ‘वैशाखमा अर्थ मन्त्रालयले लगानी सम्मेलन गर्दैछ । त्यसलाई अवरोध गर्न खोजिएको हो । असफल बनाउन खोजिएको हो ।’ उनले २०४२ सालतिरको पुरानो कुरा उप्काएर उद्योग, व्यवसायीको मनोबल गिराउन खोजिएको आरोप लगाए ।
यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि मात्रै बाँसबारी छाला कारखाना प्रकरणमा उद्यमी चौधरीसहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ । च्याम्पियन फुटवेयरमा रहेको बाँसबारी कारखानाको २५ प्रतिशत सेयर चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको सीआईबीले बताएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले २०५२ साउन ११ मा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको जानकारी दिए । उनले च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर चौधरीको नाममा आएपछि तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडलाई ०५४ पुस ४ मा प्राइभेट कम्पनीमा लगिएको देखिएको बताए ।
बाँसबारी छालाजुत्ता कारखाना निजीकरणका क्रममा च्याम्पियन फुटवेयरमा रहेको २५ प्रतिशत सेयर पनि बेच्न महालेखाले बोलपत्र आह्वान गरेको थियो । महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत सेयरको लिलामी निकाल्ने भए पनि लिलामी सेयरलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले खरिद गरेको देखिएको उनले बताए । चौधरीले ०५४ पुस ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालीन सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको उनले बताए ।
बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत सेयर सर्वसाधारणको रहने भनिए पनि त्यस्तो नभएको पाइएको सीआइवीको भनाइ छ । १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारका दर मूल्यांकनका आधारमा बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको आचार्यले बताए । च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिन्छ ।
उनले २५ प्रतिशत सेयरको मूल्य साढे १२ लाख रुपैयाँमात्र पर्ने भए पनि बाँसबारीले २६ लाख मूल्य बराबरको १० रोपनी जग्गा दिएको बताए । उनका अनुसार कम्पनीको चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पु¥याइएपछि बाँकी अरू पक्षबाट ७४ लाख रुपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाख मात्र लगानी भएको पाएको छ । चौधरीसँगै उद्योगका तत्कालीन अध्यक्ष अजित नारायण सिंह र फुटवेयर प्रालिका सञ्चालक सञ्जय ठाकुर पनि पक्राउ परेका थिए । कान्तिपुरमा खवर छ।